

समृद्धिको दिशामा उन्मुख : ‘भलवाड’




नारायण खनाल : लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला अन्तरगत बाणगङ्गा नगरपालिका बडा नम्बर – ९ भलवाड समृद्धिको दिशामा उन्मुख रहेको छ । प्रस्तुत आलेखमा आज म, यहाँको भुगोल ,राजनीति ,अर्थतन्त्र ,समाज ,सांस्कृति र यस वडाको बाह्य समन्धका अलावा निकट भविष्यमा विकासका संभावनाहरु माथि आधारित रहेर विमर्श गर्ने उद्धेश्यले सहभागी भएको छु ।
भनिन्छ, घोडाको लगाम जसको हातमा हुन्छ, घोडालाई कहाँ पु¥याउने मुख्य शक्ति पनि उही हुन्छ । तर यहाँ म प्रस्तुत आलेखमा सकेसम्म निश्पक्ष ढंगले राजनितिक विवेचना गर्ने कुरामा आफूलाई केन्द्रित गर्ने छु ।
कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका,जिल्लाका उत्तरी भेगका ११ ओटा वडाहारु मिलेर बनेको छ र यस नगरपालिकालाई जिल्लाको उत्तरी अमेरिका पनि भनिन्छ । त्यसका पछाडि यस नगरपालिकाको भौगौलिक सुगमता, राजनैतिक ,आर्थिक ,सामाजिक, सांस्कृति र बाह्य समबन्धका दृष्टिकोणले समृद्ध बन्न सक्नु हो ।
त्यसै मध्य एक हो : भलवाड । भलवाड वि.सं. २०३८ सम्म तत्कालीन मोतिपुर गा.वि.स.को सिर्फ: एउटा टोल तर सबै दृष्टिकोणले (भौगोलिक ,राजनैतिक ,आर्थिक ,सामाजिक ,सांस्कृति र बाह्य सम्बन्ध विकासका दृष्टिकोणले) अत्यन्तै रुग्ण ,ज्यादै दुर्गम र पिछडिएको खोला–नाला र वनजङ्गलले चौतर्फि घेरिएको अशिक्षित र असभ्य मानिने मानव रिहायसी बस्ती भएको खेतीपाती र पसुपालन योग्य गाउँ रहेको थियो ।
पूर्व–पश्चिम लोकमार्गदेखि ३ किलोमिटरको दुरिमा रहेको यो गाउँ २०३८ सालमा साबिकको मोतिपुर गा.बि.स.बाट पाँच हजार रुपैया लिएर अलग भए पछि यस गाउँले स्वतन्त्र अस्तित्व कायम गर्याे र आफ्नो नयाँ पहिचान बनायो र त्यो हो : आजको भलवाड । यहाँको विकास र समृद्धिको इतिहासको रचनामा मुख्यतया यहाँका बहुसंख्यक आम नागरिकहरुको नै प्रमुख भुमिका रहेको छ । तर ,इतिहासको यस बितेको झन्डै आधा शताब्दी ( ४४ बर्षको ) बर्षको इतिहासमा, धेरै मानिसहरुले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेतृत्वदायी भुमिका निर्वाहा गरेकै कारण भलबाड समृद्ध उन्मुख हुन सकेको हो भन्ने कुरामा कसैको दुई मत हुन सक्दैन । यहाँको विकास र समृद्धिको ऐतिहासिक कार्यभार मुख्यतया : चार ऐतिहासिक ज्यादै कष्टकर कालखण्डहरुबाट गुज्रिएर नै यहाँ सम्म आइपुगेको हो । त्यस प्रकारका कालखण्डहरु १) पंचायतकालिन चरण । २) बहुदलकालिन चरण । ३) जनयुद्धकालिन चरण । ४) गणतन्त्रकालिन चरण हुन ।
यस वडाको उत्तरमा अर्घाखाँची जिल्लाको सिमलपानी, पश्चिममा कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाको महेन्द्रकोट, दक्षिणमा बाणगङ्गा नगरपालिकाको वडा नं.– ७ मोतिपुर, पूर्वमा यसै नगरपालिका को वडा नम्बर – ८ मुर्मि जस्ता गाउँहरु छिमेकी रहेका छन । यस गाउँका पुराना बासिन्दाहरु स्थानीय थारु जातिको बाहुल्यता रहेको छ भने २० को दशक पछि मात्रै अर्घाखाँची ,गुल्मी ,प्युठान र बागलुङ बाट बसाइँसराइ गरी आएका पहाडी समुदायको बसोबास रहेको पाइन्छ । हाल यस वडामा १६ सय १९ घरधुरी रहेका छन भने जनसंख्या ६ हजार ७ सय ६२ रहेको छ । त्यस मध्ये पुरुष २१०१ र महिला ३ हजार ६१ रहेको देखिन्छ ।
१) पंचायतकालिन चरण :
देशमा तीस बर्षे राजाको निरंकुश पंचायती तानाशाही व्यवस्थाको चरण भनेको यस गाउँका निम्ति ’ अन्धकारको’ चरण थियो । त्यो बेला यस गाउँमा शिक्षा ,स्वास्थ्य, बिजुली बत्ती, खानेपानी ,सडक , सार्वजनिक यातायात ,रोजगार भन्ने कुरा केही थिएन । लोकतन्त्र र सामाजिक न्याय भनेको धेरै परको कुरा भयो । राजा र राजावादीहरुको गाउँमा ठुलो दबदबा थियो । उनीहरुकै स्वेच्छारी ,निरंकुश र हुकुमी शासन कायम थियो । भारतको वनारसको संस्कृत विश्वविद्यालयबाट शास्त्रीको पढाइ सकि नेपाल फर्कनुभएका यसै वडाका सामाजिक व्यक्ति हरिराज घिमिरेले शिक्षाको क्षेत्रमा सर्वप्रथम बौद्धिक व्यक्तित्व नरेन्द्र बेल्बासे र सम्भु थारुसँग समन्वय गरी श्री शुद्धोधन जनजीवन प्रा.वि (हाल मावि), गौतमबुद्ध प्रा.वि, भर्तापुर आधारभूत विद्यालय, बाल कल्याण आधारभूत विद्यालय, श्री राम आधारभूत विद्यालयको नीवं राख्नुभयो । स्वास्थ्य, खानेपानी, यातायात, सिँचाई, तटबन्ध, रेडक्रस, वन संरक्षण, हुलाकका अलावा गाउँमा रहेका सुकुमबासीहरुका निम्ति २१ घर रेडक्रसको लगानीमा आवासको प्रबन्ध भएको देखिन्छ । जनसरोकारका सरकारी कार्यालयहरुको लागि पहल लिनुका साथै २०३९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यस गाउँको प्रधानमा खिम बहादुर खड्का र उपप्रधानमा बीर बहादुर थापा बिजय भए ।
२०४३ मा भएको स्थानीय तहको निर्वाचनमा प्रधानपंचमा हरीराज घिमिरे र संभु थारु उपप्रधानमा निर्बाचित भए । उहाँहरु दुबैको शासन कालमा मुख्यतया माथि उल्लेखित प्रमुख कामहरु भएको देखिन्छ र त्यस मध्य पहिलो हो, स्थानीय किसानहरुका निम्ति भुमिगत सिंचाइको प्रबन्ध । त्यसका निम्ति बिश्व बैंकको सहयोगमा कपिलवस्तु नल्कुप कार्यालयको नेतृत्वमा स्थानीय किसानहरुले जिल्ला कृषि विकास बैंकमा जग्गा धितोपत्र राखी त्यही दौरानमा ठुला साना गरी २२ बटा डिप बोरिङ्गहरु निर्माणकार्य संपन्न भए संङ्गै यस परिघटनाले गाउँमा कृषि क्षेत्रमा एउटा क्रान्ति नै ल्याइ दियो । दोश्रो – हो ः कोइली खोला बाधँ तटबन्ध । यस गाउँको सबैभन्दा ठुलो र पहिलो समस्या तटबन्धको रहेको थियो । यस खोलाको मुहानमा तटबन्ध गर्न नसकेकै कारण यो गाउँ उच्च प्रकारको जोखिममा रहेको थियो र बर्षेनी मानवीय र भौतिक क्षतिको सामना गर्नु पर्दथ्यो । विश्व बैंक कै आर्थिक सहयोग र स्थानीय नागरिकको जन श्रर्मदानमा भब्य तटबन्ध निर्माणकार्यले पुर्णता प्राप्त गरे संङ्गै यो गाउँ रिहायसी बस्ती बिकाश ,पसुपालन र खेतीपाती योग्य हुन पुगेको देखिन्छ ।
तेस्रो हो, राष्ट्रिय बन क्षेत्रको सुरक्षाको पूर्र्व सर्तको रुपमा रहेको स्थानीय किसानहरुका निम्ति सहज घाँस दाउरा तथा घर गोठ निर्माणका निम्ति नयाँ परियोजना अन्तरगत करिब २६ विगाह भन्दा बढी जमिनमा बेबस्थित ’ नर्सरी ’ निर्माणकार्य । जसले गर्दा पसुपालन र खेतीपाती एवं घर गोठ निर्माणकार्य व्यवस्थित र सहज बन्न गएको देखिन्छ ।
तीस वर्षे राजाको स्वेच्छाचारी र हुकुमी पंचायती राजका ÷ बेबस्थाको बिरुद्धमा यस गाउँ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट हरिराज घिमिरे र सालिकराम बेल्बासेले संघर्षको नेतृत्व गर्नु भएको देखिन्छ भने पुराना वामपंथी नेता कुमार मधु बेल्बासेले कम्युनिस्ट पार्टीको तर्फबाट संघर्षको नेतृत्व गर्नु भएको देखिन्छ । त्यो दौरानमा सालिकराम बेल्बासे, उहाँका छोरा हरी दर्शन बेल्बासे ,कुमार मधु बेल्बासे ,नरहरि काफ्ले ( जनकपुर ) लगाएतका मानिसहरुले जिल्लाको सदरमुकाम तौलिहवामा ४६ दिन कारागारमा राजनैतिक बन्दी जीवन बिताउनु परेको थियो । २०४६ सालको जनआन्दोलनको परिणामस्वरूप देशमा सिमित प्रकारको राजनैतिक परिवर्तन संङ्गै राजनैतिक स्वतन्त्रता ,प्रेस स्वतन्त्रता ,मानव अधिकारको प्रत्याभूति ,आवधिक निर्वाचन ,बालिग मताधिकार ,कानुनी राज्य ,विधिको शासन जस्ता अधिकारहरु शुनिश्चित हुन सकेका थिए । त्यसको परिणामस्वरूप : गाउँमा सामाजिक न्याय र लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण योगदान गरेको मानिन्छ ।
२) बहुदलकालिन चरण :
२०४६ सालको राजनैतिक परिवर्तन पछि राजनैतिक दलहरु माथिको प्रतिबन्ध फुकुवा भयो । देशमा आन्दोलनको अबधि धेरै लामो भयो तर उपलब्धि थोरै भयो । देशका प्रमुख राजनैतिक दलहरुले राजनैतिक दलहरु माथिको प्रतिबन्ध हटनु ,राजनैतिक दलका नेता कार्यकर्ता माथिको झुट्टा मुद्दा खारेज हुनु र राजबन्दीहरु रिहा हुनुलाई ज्यादै ठुलो उपलब्धिको रुपमा लिए ।
सिमित प्रकारको बहुदलीय बेबस्थाको आगमन पश्चात २०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्गेसको प्रतिनिधित्व गर्दै पुन: अध्यक्षमा हरिराज घिमिरे र उपाध्यक्षमा दुर्गा खनाल निर्बाचित हुनु भयो । उहाँहरु दुबैले पंचायतले खडा गरेका बिकाशका भौतिक पुर्बाधारहरु लाइ थप समृद्ध बनाउने तर्फ नै अग्रसर रहनु भएको देखिन्छ । पंचायतले स्थानीय वडालाई वार्षिक दश हजार बजेट छुट्याउने गरेको थियो भने राजनैतिक परिवर्तन पछि त्यो रकम बढेर तीन लाख सम्म पुग्यो । वि.सं. २०५३ सालमा गाउँमा सानाकिसान कृषि सहकारी संस्था लि., नवप्रभात बचत तथा ऋण सहकारी संस्था लि. जस्ता बित्तिय संस्थाहरुको उदय भयो । जस्ले स्थानीय किसानहरु लाइ सस्तो ब्याज दरमा ऋण उपलब्ध हुन थाल्यो । २०५३ सालमा स्थानीय सामुदायिक बन उपभोक्ता समितिको अबधारणा आए पछि यस गाउँका किसानले स्थानीय बन संरक्षण ,बिकास र उपभोग गर्न संभब हुने बन क्षेत्रलाइ समेटेर १० बटा समुदायिक बन जसमा ‘कोइली चौर सानाकिसान सामुदायिक वन उपभोक्ता समुह, अमृते सामुदायिक वन उपभोक्ता समुह, खुतखुते सामुदायिक वन उपभोक्ता समुह, खोजिपुर सामुदायिक वन उपभोक्ता समुह, सरेपानी सामुदायिक वन उपभोक्ता समुह, कोटिहवा सामुदायिक वन उपभोक्ता समुह, साहरा सामुदायिक वन उपभोक्ता समुह, नमुना सामुदायिक वन उपभोक्ता समुह, जनजागरण समुदायिक वन उपभोक्ता समुह, कालिका सामुदायिक वन उपभोक्ता समुह, क्रमशः अस्थित्वमा आए ।’ यसले एकातिर स्थानीय जनताको घाँस ,दाउरा ,घर गोठ निर्माणकार्यका लागि काठ सहज ढङ्गले उपलब्ध हुने वातावरण बन्यो भने अर्काेतिर स्थानीय स्तरमा रहेको वन पैदावर जस्ता प्राकृतिक साधन र श्रोतको परिचालन गरी समृद्ध गाउँ निर्माणको महत्त्वपूर्ण आधारशीला खडा भयो ।
२०५४ सालको स्थानीय निर्वाचनको दौरानमा पुनः नेकपा (एमाले) को नेतृत्व गर्दै कुमार मधु बेल्बासे अध्यक्ष र बिन्द्र बहादुर गुरुङ्ग उपाध्यक्षमा निर्बाचित हुनु भयो । उहाँहरु दुबैले मिलेर यस गाउँको बिकाशको दश बर्षे गुरु योजना तयार गर्नु भयो । तर देशमा तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा संचालित जनताको जनयुद्धका कारण यस अबधिमा पुरानो शत्ताले दैनिक प्रशासन हेर्ने र भैपरी आउने कामका अलावा बिकाशका नयाँ परियोजनाहरु ल्याउने र कार्यान्वयन गर्ने गराउने कामका अलावा सोही अवधिमा डोहोटे सडकखण्डको रेखाङ्कन, बोडगाउँ–बर्दहवा सडकको रेखाङ्कन भएको देखिन्छ ।
३) जनयुद्धकालिन र त्यस पछिको संक्रमणकालीन चरण :
तत्कालीन नेकपा ( माओवादी ) नेतृत्वमा २०५२ साल फागुन १ गते बाट सुरु भएको जनयुद्ध २०६३ मङ्गसिर ४ गते सम्म चल्यो । २०६३ मङ्गसिर ५ गते तत्कालीन सात राजनैतिक दल र बिद्रोही नेकपा ( माओवादी ) बीचमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको बृहत शान्ति सम्झौता भएको भए पनि देशमा राजनैतिक संक्रमणकाल १८ बर्ष सम्म जारी रह्यो । जनयुद्धको अबधि र त्यस पछि लामो राजनैतिक संक्रमणकालीन समयमा हामीले चाहेर पनि स्थानीय बिकाशलाइ गति दिने स्थिती बनेन तैपनि जनयुद्धको दौरानमा यस गाउँका बहुसंख्यक जनसमुदायको तर्फबाट जनयुद्ध लाई आर्थिक ,भौतिक र नैतिक सहयोग मात्रै प्राप्त भएन यहाँका श्रमजीवी मेहनत र गरिब जनसमुदाय स्वंयम सकृयता पुर्बक युद्धमा उत्शाहका साथ भाग लिएका थिए । त्यसरी भाग लिने साथीहरु सयौं हुनुहुन्थ्यो । त्यसको नेतृत्व स्थानीय स्तरमा माधब अधिकारी, भबिश्वर भुसाल, कृष्ण बेल्बासे, भोजबहादुर थापा, नोखई थारु , राधा खनाल, शान्ता अधिकारी लगाएतले यस वडाको कुुसलता पुर्बक नेतृत्व गर्नु भयो । त्यही दौरानमा कृष्ण बेल्बासे, भविश्वर भुसाल, भोजबहदुर थापा, नोखई थारु गिरफ्तार भई जेल पर्नुभएपछि यहाँको पार्टी कमजोर हुन पुग्यो । पुरानो शत्ता जिल्लाको सदरमुकाम तौलिहवामा कैद भएको थियो । त्यो अवस्थामा “ आधार इलाकामा बिकाश स्वायत्त इलाकामा ध्बंस “ को निति अन्तर्गत तत्कालीन नेकपा ( माओवादी ) को पहल र सकृयतामा कपिलवस्तु जिल्लाको उत्तरी भेगका १३ बटा गाबिसहरुमा पुरानो शत्ता र नयाँ शत्ताको संयुक्त लगानीमा बिधुतीकरण गर्ने निर्णय भए अनुसार यस गाउँमा भुमिगत समयमै यस पंङ्तिकारको सक्रियता र पहलमा यस गाउँमा बिधुतिकरणको प्रक्रिया सुरु गरी छोटो समयमै युद्ध स्तरमै पुरा गरियो । हाल यहाँका सय प्रतिशत मानिसहरुले त्यसको उपभोग गरिरहेका छन । त्यसको प्रत्यक्ष नेतृत्व हालका वडा अध्यक्ष कमल पौडेलले गर्नु भयो भने अप्रत्यक्ष नेतृत्व माधब अधिकारीले गर्नु भएको थियो । गाउँमा प्रत्येक घरमा उर्जा भित्रिय पछि यस गाँउको घिसेपिटे, चल्तेचलाते र परम्परागत जीवनमा गुणात्मक परिवर्तन आयो ।
जनयुद्धको अवधिभर यस गाउँमा हामीले द्धोद्ध शत्ताको अभ्यास गर्याै तर त्यसो गर्दा सके सम्म पुरानो शत्ता र नयाँ शत्ताको बीचमा स्थानीय जनताको बिकाशको प्रश्नमा अधिकतम सहमति कायम गरेर संयुक्त काम गर्ने लोकतान्त्रिक सांस्कृतिको संस्थागत बिकास पनि गर्याै । त्यो बेलाको एउटा रमाइलो घटना केछ भने केही स्थानीय बौद्धिक युवा हरुले मिलेर शन फलाबर इङलिस बोडिङ्ग स्कुलको बिकल्पमा एउटा थप श्री सगरमाथा नयाँ इङलिस बोडिङ्ग स्कुल खोल्नका लागि पुरानो शत्ताको जिल्ला शिक्षा बिभागमा जानु भयो । पुरानो शत्ताले मान्यता दिन आनाकानी गरे पछि तत्कालीन जिल्ला जनसरकारको शिक्षा बिभागले तुरुन्तै उहाँहरुको निबेदन लाइ स्विकार गरी बिद्यालय खोल्ने अनुमतिपत्र दियो ।
जनयुद्धको शान्तिपूर्ण अवतरणपछि स्थानीय स्तरमा सचिवको नेतृत्वमा संक्रमणकालिन अवस्थाको विशेषता, चरित्र तथा गुण बोकेको सर्बदलिय राजनैतिक समितिको अबधारणा आए पछि हामीले यहाँको भौतिक पुर्बाधार ,शिक्षा ,स्बास्थ ,खानेपानी ,सार्वजनिक यातायातका अलावा जनसरोकारका सबालमा कैयौं दुरगामी महत्त्वका बिकाशका निर्णयहरु गर्याै र त्यसको सफलता पुर्बक कार्यान्वयन गर्याै ।
४) संघीय लोकतान्त्रिक गणतन्त्रकालिन चरण :
देशमा २०७२ असौज ३ गते संबिधान सभा बाट नयाँ संबिधान जारी भए यता दुईवटा स्थानीय ,दुईवटा प्रादेशिक र दुईवटा संघीय संसदको निर्वाचन भइ संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत कार्यान्वयन गर्ने गराउने प्रक्रिया जारी छ र यसै सन्दर्भमा २०७४ सालको निर्वाचनमा यस वडामा नेकपा ( एमाले ) को तर्फबाट धुर्ब बेल्बासे अध्यक्ष भए पछिको कार्यकालमा कोभिड १९ नामक महाव्याधि सुरु भयो र यस स्थितीमा जनताको स्वास्थ्यको सुरक्षा गर्नु नै मुख्य विषय बन्न गएको देखिन्छ । २०७९ को निर्वाचनमा नेकपा ( एमाले ) कै तर्फबाट प्रतिनिधित्व गर्दै कमल पौडेल अध्यक्षमा निर्बाचित भए । तर वडा अध्यक्ष कमल पौडेलको कार्याकालमा भए गरेका कामको अहिले नै समिक्षा गरिहाल्नु धेरै हतार हुन जान्छ । इतिहासमा भए गरेका कामहरुको समिक्षा भइपनि रहेका छन र निकट भबिश्यमा थप हुदै पनि जानेछन् । वडामा नगरपालिकाको तर्फबाट दामाशाही भएर आउने बार्षिक एक डेढ करोड बिकाश बजेट बापतको रकम भनेको आजको युग र समाजमा धेरै ठुलो बजेट बिल्कुलै होइन यस लाइ वडा भित्रका टोलहरुमा दामाशाही गरेर विनियोजित गर्दा आउने भनेको बढीमा पाँच सात लाख मात्रै हो । आम नागरिकहरु लाइ चाहिने भनेको जनमुखी र पारदर्शी प्रशासन हो । गाउँको आम नागरिकहरु संङ्ग सबैभन्दा बढी र प्रत्यक्ष सरोकार राख्ने सरकारी अंङ्ग भएकोले स्थानीय प्रशासन असाध्यै जनमैत्री ,सहज र पारदर्शी हुनुपर्छ भन्ने नागरिक प्रश्न रहेको पाइन्छ ।
आर्थिक अवस्था :
यस अवधिमा यस गाउँका सडक हरु ७५% कालोपत्रे भएका छन । किसानहरुको खेतको मुहान सम्म पुग्ने गरी ६०% कुलो पक्की भएका छन । सबैको घरमा बिजुली बत्ती पुगेको छ । स्थानीय सबै सामुदायिक बनका सुबिधाजन्य सभा हल तथा कार्यकक्ष बनेका छन । युवा क्लवहरुले युवाहरुको शारीरिक ,मानसिक र बौद्धिक बिकासका निम्ति कुनै न कुनै रचनात्मक कार्यक्रम संचालन गरिरहेका छन । टोल बिकाश समितिले बिकाशका योजना तर्जुमा कार्यान्वयन र न्याय निरुपणमा योगदान गरिरहेका छन । स्बास्थकर्मीहरुले आफ्नो क्षेत्राधिकार भित्र रहेर स्वास्थ सेवा प्रवाह गरिरहेका छन र हाल सम्म नेपाल सरकारको स्वास्थ्य विमा सुविधा लिनेको संख्या यस वडामा बाह्रसय बढी रहेको छ । स्थानीय सामुदायिक बन र धार्मिक संघ÷ संस्थाहरुले समेत सांस्कृति र पर्यटनमा योगदान गरिरहेका देखिन्छन् । जेष्ठ नागरिक ,दलित,एकल महिला , अपाङ्ग गरी बाह्र सय बढी नागरिकहरुले सामाजिक सुरक्षा भत्ता नियमित पाउने गरेका छन । यस गाउँमा पाँच वर्ष मुनिका बालबालिकाहरुको पोषण भत्ता लिने गरेका छन् । गाउँ पुर्ण साक्षर ,पुर्ण सरसफाइ घोषणा भएकोे छ । गाउँको प्रत्येक अभिभावकले आफ्नो बालबालिकाहरुको उच्चस्तरीय शिक्षामा योगदान पु¥याउने कोशिस गरिरहेकै छन् । हाल स्थानीय सामुदायिक दश ओटा वनहरुले वार्षिक करिब २५ करोड बढिको कारोवार गरिरहेका छन् । नव प्रभात बचत तथा ऋण सहकारी संस्था लि. ले वार्षिक ५० करोडको आर्थिक कारोवार गरिरहेको छ । त्यस्तै गरी साना किसान कृषि सहकारी संस्था लि. ले वार्षिक ३० करोड बढीको आर्थिक गतिविधि संचालन गरेको छ । यसबाहेक यस वडामा आधादर्जन भन्दा बढी वित्तीय संस्थाहरुले नागरिकहरुलाई ऋण प्रवाह गरिरहेका छन् । यसका अलावा संघ, प्रदेश, नगर र वडा कार्यालयले विनियोजित गर्ने विकास बजेट पनि करोडौँको तादातमा रहेको छ । माथि उल्लेखित आर्थिक गतिविधिले पनि देखाउँछ, भलवाड विकास र समृद्धि उन्मुख रहेको छ । कुनै कालखण्डमा खोला – नाला बन जङ्गल त्यस बाट बगेर आउने भल वा बाढी हाम्रो बीचमा समस्याको रुपमा रहेको र गाउँको नाम भलबाड समेत भएकोमा मानिसहरुमा एक प्रकारको हीनताबोध रहेको भए पनि आजको मितिमा यस गाउँको पुर्ब पश्चिम रहेका दुई खोला कोइली र धिरी बाट बर्षेनी बगेर आउने ढुङ्गा ,गिट्टी ,बालुवा , मिस्कट र माटो जस्ता प्राकृतिक साधन र श्रोतहरु यहाँको समृद्धिका प्रमुख आधारको रुपमा रहेका छन । यसको ठिक ठिक ढङ्गले सदुपयोग गर्न सक्दा यहाँका नागरिकहरुको जीवन पद्धति नै बदल्न सकिन्छ भने आर्थिक दृष्टिकोणले प्रत्येक नागरिकलाई आत्मनिर्भर बनाउन सकिन्छ । यस गाउँको नाम भलवाडको सट्टा निकट भविष्यमा’ समृद्धिको मुहान’ राख्नु सबैभन्दा उपयुक्त हुनेछ ।
आजको भलवाड भौगौलिक दृष्टिकोणले सुगम ,आर्थिक दृष्टिकोणले आत्म निर्भर , सहरीकरणको दिशामा उन्मुख ,सुचना र संचारको पहुँचमा रहेको आधुनिक र समृद्ध भलवाडको रुपमा आफ्नो परिचय बनाइ रहेको देखिन्छ । तर यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने आजको बिश्व मानब निर्मित कृर्तिम बौद्धिकता चौथो ओधोगिक क्रान्तिको युग र समाजमा (ए.आइ) को युगमा बाँचिरहेको छ र यस बाट हाम्रो गाउँ पनि अछुतो र टाढा रहेको छैन र रहन पनि सक्दैन । यसो भन्नुको तात्पर्य हो, बाह्य दुनियाँका मानिसहरु यहाँको राजनीति ,अर्थतन्त्र ,समाज र यहाँको सांस्कृति कसरी आफ्नो अनुकूल बनाउने भन्ने बिषय लाइ लिएर लडिया ,गाडी र प्लेन चढेर , अहोरात्र यात्रा गरेर गाउँमा छिर्ने कष्ट उठाउनु पर्दैन र त्यस्तो कष्ट उठाउनु पर्ने आबस्यकता पनि अब रहेको छैन । किनकि उनिहरु अब सिधै हामीले अहिले प्रयोग गरिरहेका सुचना र संचारका माध्यम हरु मार्फत नै हाम्रो घरको बेडरुम र किँचनमा प्रबेश गरिरहेका छन भन्ने कुरा कसैले पनि बिर्सनु हुदैन । यसर्थ त्यस प्रकारका सुचना र संचारका माध्यम हरुको प्रयोग हामीले कसरी गर्ने भन्ने बिषयमा समयमै बिचार पुर्याउनु पर्ने आबस्यकता रहेको छ । कुनै पनि गाउँको समृद्धिको प्रमुख आधार त्यो गाउँको बहुसंख्यक नागरिकहरु नै हुने गर्दछन । तर , समृद्धिका लागि कुनै पनि गाउँमा बहुसंख्यक नागरिक भएर मात्रै पुग्दैन । त्यसका लागि सर्ब प्रथम त्यो गाउँका नागरिक हरुको मुख्य क्षमता कहाँ नेर हो ? त्यसको ठिक ढङ्गले पहिचान गर्नुको साथै उनि हरुको भुमिका शुनिश्चित गरेर मात्रै समृद्धिको लक्ष र उदेश्य हाशिल गर्न सकिन्छ । यस प्रश्नमा यस अवधिमा बनेका हाम्रा स्थानीय सरकारहरुले स्थानीय किसानहरुका निम्ति पुँजी, प्रविधि र सिप उपलब्ध गराउँदै आएका छन् र किसानहरु पनि निर्वाहमुखि जीवन पद्धतीबाट व्यवसायिक कृषि तथा पशुपालनमा अग्रसर भएको पाइन्छ । निकट भविष्यमा कृषिलाई उद्योगको अंग कसरी बनाउने भन्ने बारे सोच्नुपर्ने आवश्यकता भएको छ । कुनै बेला यो पंक्तिकारले संघिय सरकारमा डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्री मण्डलामा रहनु भएकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले उपलब्ध गराउनु भएको एक थान कम्पुटर लिएर यस गाउँ लाइ सहयोग गरेको थियो । तर ,आज भने यस गाउँको वडा कार्यालय देखि प्रायः सबै जसो विद्यालयहरुमा हजारौंको तादातमा कम्पुटरको दैनिक प्रयोग र पढाइ भइरहेको छ भने सरकारी तथा गैरसरकारी कार्यालयहरु डिजिटलाइजेशन बनेका छन ।
धार्मिक ,सांस्कृतिक र पर्यटकीय क्षेत्रको बिकासहरुले थपेको थप रोनक :
यस वडामा रहेको धार्मिक वन अन्तर्गत भव्य कपिलधाम, राम दतिवनधाम , भर्तापुर र भर्लाबासमा रहेका शिवालय मन्दिरहरु, पडरियामा रहेको रामजानकी मन्दिरले हाम्रा प्राचीन धर्म तथा सांस्कृतिक महत्बको प्रबद्र्धन गरिरहेका छन । स्थानीय स्तरमा रहेका आर्य–खस ,थारु ,मगर र गुरुङ्ग भाषा भाषीका समुदायहरुका सांस्कृतिकहरुले मिश्रित कम्युनिटीको प्रतिनिधित्व गरिरहेका छन भने यस वडाका प्रायः सबै टोलहरुमा रहेका शुन्दर,शान्त ताल ,तलैया ,पोखरी ,पार्क ,झर्ना र गाउँको चारै तिर रहेका प्राकृतिक बन जङ्गल र खोला नालाहरुको मनोरम दृश्य हरुले यहाँको सौन्दर्यता बढाइ रहेका छन । प्राकृतिक रुपमै शुन्दर रहेको यस गाउँको बिकाशमा हाम्रा युवाहरु थप बिकाशका लागि उत्शाहका साथ काम गरिरहेका छन । यो कुरा हाम्रो निम्ति ज्यादै खुसीको कुरा हो । तर , यसको गरिमा र महत्त्व लाइ हामीले थप प्रबद्र्धन गर्नुपर्ने आबस्यकता रहेको छ ।
नागरिकका अपेक्षा :
हामीले हाम्रो गाउँको शासन प्रशासनको गुणस्तरीयता र नागरिकको समृद्धिको कुरा गर्दा वरीपरीका गाउँ ,छिमेक र देश तथा बिदेशको समेत शासन प्रशासनको गुणस्तरीयता र नागरिकको समृद्धि संङ्ग पनि जोडेर हेर्न सक्नुपर्छ । नेपाली काङ्गेस र नेकपा ( एमाले ) जस्ता दुई ठुला राजनैतिक दलहरुले आलोपालो शत्ता संचालन गर्न थालेको साढे तीन दशक भन्दा बढी भएको छ । यहाँको शासन प्रशासनको गुणस्तरीयता र नागरिकको समृद्धि वास्तवमा तय ष्तितभि,तय बितभ को अबस्था हो भन्न बिल्कुलै हिच्किचाउनु हुदैन । सधैंको राजनैतिक कचिंगल , राजनैतिक अस्थिरताले शत्ताको चरित्रमा कुनै मौलिक परिवर्तन आउन सकेको छैन । अर्थतन्त्रको ढाँचामा गुणात्मक सुधार र लोकतान्त्रिक सांस्कृतिको स्थापनामा कुनै उल्लेखनीय परिवर्तन हुन सकेको छैन । निकट भविष्यमा यहाँका युवाहरुले अभियानात्मक ढङ्गले दुबै क्षेत्रमा गुणात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता छ । देशको शासकीय स्वरुपका कारणले गर्दा राजनैतिक अस्थिरता हुने गरेको छ भने ज्यादै महङ्गो निर्वाचन प्रणालीका कारणले गर्दा गैर राजनीतिक मानिसहरु शासन प्रशासनमा आउने स्थिति बनिरहेको छ । अब हामीले स्थानीय तहको निर्वाचनमा दलिय निर्वाचनको सट्टा ’ स्बतन्त्र ’ हुने प्रणाली अपनाउने र संघ र प्रदेशमा जनता बाट प्रत्यक्ष निर्वाचित क्रमशः राष्टपति र मुख्य मन्त्री प्रणालीमा जान ढिलो भइसकेको छ ।
यहाँ एउटा कुरा उल्लेखनीय के छ भने, स्थानीय सरकार र सामाजिक संघ संस्थाहरु नागरिक हित बिरुद्ध कुनै पनि काम नगरुन भन्नका निम्ति र नागरिकका पक्षमा चौथो अंगको रुपमा स्थानीय स्तरमै आफ्नो केन्द्रिय कार्यालय खोलेर ई साझाकुरा अनलाइन परिवारले खबरदारी गर्ने र सिंगो समाजलाई अनुशासनमा राख्न महत्वपूर्ण भुमिका खेलेको छ ।
निश्कर्ष :
मेरो बिचारमा, हामीले अहिलेसम्म निर्माण गरेका रिहायसी मानब बस्ती ,हाम्रा खेतीयोग्य जमिन ,बन जङ्गल, खोला वा नदि, मैदान, हाम्रा सडक , धार्मिक तथा सांस्कृतिक सम्पदा , पर्यटकीय सार्वजनिक स्थानहरु अन्तिम र अकाट्य संरचना हरु बिल्कुलै होइनन ।यहाँ सम्मकि राजनीतिक दल र बिचार समेत अन्तिम संरचना होइनन । हामीले इतिहासको अध्यन गर्याैं भने के कुरा सजिलोसँग थाहा पाउदछौ भने मानिस हरुले प्रकृति र बिचार को क्षेत्रमा अनेकौं पटक नक्सा परिवर्तन गर्दै आएको छ । भबिश्यमा पनि मानबिय आबस्यकता लाइ ध्यानमा राखेर कैयौं ठुला ठुला परिवर्तन हुन सक्दछन भन्ने कुरा कसैले बिर्सनु हुदैन । मानिसहरु धनि हुन ,सुखी हुन ,खुसी हुन र समग्रमा अहिले भन्दा बढी समृद्ध जीवन प्राप्तिका निम्ति निकट भबिश्यमा प्रकृति र बिचारको क्षेत्रमा समेत अझै ठुला परिवर्तन हुने अनुमान गर्न सकिन्छ । यसर्थ नागरिकहरुको परिवर्तनको धड्कन लाइ राम्रोसँग छामेर भावि नीति तथा कार्यक्रम तर्जुमा गर्ने सरोकारवाला निकायहरुको कर्तब्य हुन जान्छ ।
अन्त्यमा एउटा कुरा त उल्लेख गर्नै पर्छ, यस गाउँमा रहेका पुराना दुई राजनैतिक दलहरुले आफ्नो समयमा नागरिकहरुका तत्कालीन समस्याहरु हल गर्नका लागि राजनैतिक दलको गठन गरे र मानिस हरुका समस्याहरु लाइ हल गर्ने प्रयत्न गरे । अब भने हामीले नयाँ युग र समाजले पैदा गरेका नयाँ चुनौति हरु लाइ हल गर्ने नयाँ बिचार ,नयाँ नेतृत्व सहितको नयाँ राजनैतिक दल नै चाहिन्छ भन्ने कुरालाइ समयमै सबैले मनन गर्न अत्यन्तै जरुरी हुनेछ ।
आगामी योजनाका सन्दर्भमा छलफल गर्नुपर्ने विषयहरु :
१) श्री सुद्धोधन जनजीवन माबि जिनुबामा आइसिटी प्रबिधिको प्रयोग गरी दुर शिक्षा दिन सक्ने सेन्टर (भर्चुअल सिकाइ केन्द्र) को रुपमा बिकाश गर्ने र मुख्य बिषयहरुको शिक्षा वडा भित्रका सबै बिद्यालयहरुमा यही बाट दिने बारे आजै देखि सोच्न जरुरी छ ।
२) गर्भवती महिला, दश बर्ष मुनिका बालबालिका ,असाहय वा परिबार बाट उपेक्षित जेष्ठ नागरिक हरुका निम्ति बिरामी पर्दा एम्बुलेन्स र नगरपालिका भित्र यात्रा गर्दा भाडा तिर्न नपर्ने व्यवस्था कसरी गर्ने आजै देखि योजना बनाउनुपर्छ ।
३) वडा भित्र किसानहरुका निम्ति एउटा खाद्य डिपार्टमेन्टल स्टोर ,उत्पादन ,संकलन र बिक्री केन्द्र ,तथा एउटा कोल्ड स्टोर राख्ने बारे आजै देखि योजना बनाउनुपर्ने छ ।
४) भु–उपयोग योजना बिपरित र गुरुयोजना बिपरित कुनै पनि निर्माण कार्य अबिलम्ब रोकिनु पर्दछ ।
५) यस गाउँ भित्र सुबिधा सम्पन्न आधुनिक सपिङ्ग महल बनाउने बारे योजना बनाउनुपर्ने छ ।
६) बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तार जमिन मुनी बाट संचालनमा ल्याउने बारे योजना बन्न जरुरी छ ।
७) यस वडा भित्रका महिलाहरुको सशक्तीकरणका निम्ति महिनामा कम्तीमा एक हजार रुपैयाँ उनीहरुको खातामा दिने बारे योजना बनाउनुपर्ने छ ।
८) यस वडामा बसोबास गर्ने प्रत्येक घर धुरी लाइ ( इन्टरनेट ) फ्रि जोनको रुपमा बिकाश गर्नुपर्नेछ ।
९) गाउँको सौन्दर्यकरणका लागि सरोकारबाला निकाय बीचमा गहन संबाद गरी कम्तीमा पाँच बर्षको गुरु योजना तर्जुमा गर्नुपर्नेछ ।
१०) गाउँको सबैलाई पायक पर्ने स्थानमा एउटा पुस्तकालय राख्नुपर्ने बारे छलफल हुन जरुरी छ ।
११) वडा भित्र रहेका सबै सामुदायिक बन उपभोक्ता समितिहरुको बीचमा अबका दिन हरुमा एउटै उदेश्य र नारा हुनुपर्छ त्यो हो “ सबैको बन सबैको समृद्धि “ त्यो उदेश्य प्राप्तिको निम्ति शक्ति र श्रोतको केन्द्रिकरण र आबस्यकता अनुसारको बितरणको निति लिनुपर्छ ।
१२) गाउँका सार्वजनिक संघसंस्थाहरु लाइ दलीयकरण बाट मुक्त गर्न अत्यन्तै जरुरी छ ।
१३) गाउँको बिकाशको अल्पकालीन ,मध्यकालीन र दृर्घकालिन गुरुयोजना बनाउन जरुरी छ ।
१४) गाउँमा रहेका सुकुम्बासीहरुको भुमि समस्याको समाधान अबिलम्ब गर्न जरुरी छ ।
१५) गाउँमा गरिबीको रेखामुनि रहेका बेरोजगार युवा ÷ युबतीहरु लाइ मासिक कम्तीमा १५ हजार वा सो सरहको रोजगारको प्रबन्ध गर्ने बारे आजै देखि योजना बन्न जरुरी छ ।
१६) यहाँका जातजाती तथा भाषाभाषीहरुको पहिचान झल्किने गरी नागरिक र समग्र वडाको आर्थिक विकासका लागि थारु, मगर र गुरुङ समुदायको होमस्टे संचालन गर्नका लागि आजै देखि योजना बन्न जरुरी छ ।
१७) गाउँको दुर्त विकास र समृद्धिका लागि स्थानीय स्तरमा रहेका हाम्रा पर्यटकीय गन्तव्यहरुमा बाह्यि लगानीकर्ताहरुलाई कसरी आकर्षित गर्ने र ल्याउने भन्ने विषयमा योजना बन्न जरुरी छ ।
१८) भर्तापुर,पडरीया र जिनुवामा राष्ट्रिय स्तरकै सबैकुराले सुबिधा सम्पन्न खेलमैदान बनाउन सकिने सम्भाव्यता खोज्न जरुरी छ ।
१९) चौबाह–बर्दहवा हुदै भर्लावास–भर्तापुर– पडरिया हुँदै बक्सिस्पुर छोएर भलवाडको पश्चिम् क्षेत्र समेट्दै कपिलधामसम्म चक्रपथको सुन्दरीकरणको योजना बन्न जरुरी छ ।
२०) यहाँको उपयुक्त स्थानमा एउटा हेलिप्याड निर्माण हुन जरुरी छ ।
२१) भलवाडमा एउटा सुबिधा सम्पन्न कम्तिमा १५ शैयाको सुविधासम्पन्न अस्पताल हुन जरुरी छ ।
२२) भलवाड मै उत्पादन जन्य प्रोडक्ट कम्पनी जस्तैः स्थानीय स्रोत र कच्चापदार्थबाट उत्पादन गर्न सकिने सबैखाले उत्पादनका लागि योजना बन्न जरुरी छ ।
सबैको जय होस !
लेखक : नेपाल समाजबादी पार्टी ( नयाँ शक्ति ) को केन्द्रीय समिति सदस्य हुनुहुन्छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया