

नेपाल समुह र भालुको कम्पारो !



नरायण खनाल
स्मरण/ व्यङ्ग्य
वि.सं. २०३७/०३८ सालतिरको कुरा हो । त्यो ताका हामी अर्घाखाँची जिल्लाको साविकको ढाकावाङ गाबिस हाल भुमिकास्थान गाउँपालिकामा बसोबास गर्दंथ्यौँ । मैले प्रारम्भिक शिक्षा श्री विश्व मावि पिपलनेटामा गरेँ । त्यो ताका विद्यार्थीहरु प्राय बिहानको समयमा घरको काम गर्ने र बेलुका आफुसँग मिल्ने साथिसँग दिउसो पढिएका कुरा लेख्ने र घोकेर कण्ठ पार्ने पर्चलन थियो । हाम्रो घर अर्जुन देखि करिब १ किलोमिटरको यात्रा गरेर बेलुकी डाँडापोखरी स्थित कमल खनालको घरम पुग्दथेँ । हामी उमेरका हिसाबले १७ दिनको जेठो कान्छो थियौँ तर नाताको हिसाबले बाबु छोरा पर्दथ्यौँ । समग्रमा हामी साथिहरु नै थियौँ ।
हामी दुबैका बुवाहरुका बिचमा पनि अत्यन्तै घनिष्ट, सुमधुर र लोभलाग्दो दोस्ति थियो । बुवाहरुको त्यही सम्बन्धहरुको जगमा हामीहरुको पनि दोस्ति दिन प्रतिदिन प्रगाढ बन्दै गएको थियो । त्यो ताका हाम्रा कापि कलम अलग अलग भए पनि किताब भने सामुहिक किन्दथ्यौँ र सामुहिक नै अध्ययन गर्दथ्यौँ । त्यो ताका गाउँमा बिजुली बत्ति थिएन , मट्टीतेलको सहाराले हामी रात्रिकालिन अध्ययन गर्दथ्यौँ । कमल खनालको बुवा कृष्णप्रसाद खनालले कहीले काँही मट्टीतेल जुटाउन सक्नुहुने थिएन त्यो कारण हाम्रो अध्ययन अबरुद्ध हुन्थ्यो, त्यो कारण हामीलाई खिन्न देखेर उहाँ पनि चिन्तित हुनुहुन्थ्यो । हामी दुवैको मनोविज्ञान र मनोदशा बुझ्ना धेरै माहिर भएकाले त्यो अवस्थामा विभिन्न प्रकृतिका दन्त्य कथाहरु सुनाएर उत्साहित बनाउने गर्नुहुन्थ्यो । ती थुप्रै दन्त्य कथाहरु मध्ये एउटा कथा यस्तो थियो :
एकादेशमा एउटा मूर्ख र दुष्ट मानिस बस्दथ्यो । त्यो मानिसले गाउँमा कसैलाई पनि इज्जत र सम्मान गर्दैनथ्यो । आफूले आर्जन गरेको छिपछिपे ज्ञानको आधारमा सर्वसाधारमाथि शोषण, दमन, अन्याय र अत्याचार गर्दथ्यो । एक दिन उसको अत्याचारबाट वाक्क दिक्क भएर गाउँलेहरुले उसलाई घेराबन्दी गरी गाउँबाट नै लखेट्ने निर्णय गरे । त्यो निर्णयको अग्रीम चाल पाएको उक्त फटाह मानिसले तत्काल गाउँ छोड्ने र मुग्लान तिर पस्ने निर्णय गरेछ । सोही दिन नै विभिन्न भिरपाखा, डाँडाकाडाँ, खोलाकुन्दरा हुँदैँ अनकन्टार झाडीको बाटो हुदैँ मुग्लानतिर पसेछ । हिड्दै गर्दा झाडिको बिचमा सिकारमा खोजीमा रहेको भोकै प्यासै एउटा भालु लुकेर बसेको थियो । उक्ता मानिस देख्दा वित्तिकै सो भालु झम्टिहाल्यो । भालुको लगातारको आक्रमणबाट रगताम्य र लहुलुहान भएपछि उसका सबै कपडा च्यातिए । रेल र बसको टिकट तथा बाटोमा खाजा खर्च भनेर ऋण खोजेर गाउँबाट ल्याएको सबै रुपियाँ/ पैसा सडकमा छरपस्ट पोखियो । भालुको लटा छोडौँ भालुले एकै गास बनाइहाल्छ, नछोडौँ भालुसँगको भिडन्तमा थिलोथिलो भएर लखतरान परिसक्यो । उ यतिबेला के गरौँ के नगरौँ विलखबन्धमा परिसकेको थियो ।
यस्तैमा एकजना मुग्लान जान हिडेका अर्काे मानिस टुप्लुक्क त्यही ठाउँमा आईपुगेछन् । भालुको लटा समातेको मानिस, दोहोरो भिडन्त, रगताम्य र लहुलुहान भएको विभत्स दृश्य, सडकमा छरपत्र यत्रतत्र छरिएको रुपियाँ र पैसा, च्यातिएका कपडा यो सबै देखेपछि भर्खरै मात्र पुगेको मानिसले पहिलोलाई भनेछन,– भाईसाहेब यो के गरेको ? पहिलोले अण्डरस्पोर्ट नयाँ जुक्ति निकाल्यो र भन्यो –देखिरहेको छैनस् मैले भालुबाट रुपियाँ र पैसा छेराईरहेको छुँ । दोस्रो मानिसले मनमनै सोच्यो, मुग्लान गएर साहु महाजनको भाँडा माझेर, मालिक्निका साडी धोएर, वर्षाै दुख पाएर केही रुपियाँ लिएर फर्किनु भन्दा किन एक्छिन भालु नछेराउँनु ! उसले पहिलोे मानिसलाई भनेछ– हजुरले एकछिन आफ्ठेरो मान्नुहुन्न भने मलाई पनि एकछिन भालु छेराउने अवसर दिनुस न । पहिलो ले भन्यो– त्यो कुरा ठिकै छ । तिमीले भालु छेराउन चाहान्छौ भने शरिरका सबै कपडा खोल, झोला र पैसा सबै एकठाउँमा पोको पारेर राखेर यहाँ आउ र भालुका लटा राम्रो सँग समात तर एउटा कुरा भने ख्याल गर, तिमीले जति बलियो गरि भालुका लटा र कम्पारो समाउँछौँ, यसले त्यति धेरै रुपियाँ छेर्छ । यति भनेपछि दोस्रोले फटाफट कपडा खोलेर फटाफट भालुको लटा र कम्पारो समात्न आईपुग्यो ।
मुक्ति र मृत्युको दोसाँधमा रहेको पहिलो फटाहले भुँईमा खसेको सबै पैसा उठायो । दोस्रो मानिसका लुगा, झोला र पकेटमा भएको सबै रुपियाँ गन्यो र हेर्दा हेर्दै रफुचक्कर भयो ।
भालुले छेर्ने कुरै थिएन । नरभक्षिं भालुसँग लड्दा लड्दै लालची मानिसले मृत्युवरण ग¥यो ।
त्यो बेलाको दन्त्य कथा नेपालको राजनितिक परिस्थितिसँग मेल खाँदै गईरहेको देखिएको छ । हाम्रो मुलुकका प्रधानमन्त्री खड्ग प्रसाद ओली यतिबेला शक्ति, पद र पैसाको लालचमा परेर वैदेशिक नरभक्षिं भालुको चंगुलमा फँसेर रगताम्य, लहुलुहान र एक्लै भएका छन । उनीमाथि आईपरेको संकटबाट छुटकारा पाउन ठाकुर र महातोले साथ दिए पनि त्यसले नपुगेर उनले अस्ति मध्येरातमा नेपाल समुहलाई समेत ताकेर ६ फायर खोलेछन र भनेछन् – देउबालाई लगाईदिएका र आफुले लगाएका सबै कपडा फुकालेर नाङ्गै भएर आउ ! सबै मिलेर भालु छेराम् । नेपाल समुहले पनि भालु छेराउने की ?


प्रतिक्रिया