
जनै पूर्णिमा : काग, भ्यागुतो र क्वाँटीको सांस्कृतिक संगम

काठमाडौँ — आज साउन शुक्ल पूर्णिमा । काठमाडौं उपत्यकामा जनविश्वास के छ भने आज कागले पहिलोपल्ट आफ्नो बच्चालाई गुँडबाट बाहिर निकाल्छ । काग चलाख छ, त्यसैले उसलाई राम्रोसँग थाहा छ– यो समय आफ्नो बच्चालाई गुँडबाट बाहिर ल्याउनु सबैभन्दा उपयुक्त समय हो । अनि भर्खर–भर्खर काठमाडौंमा कृषिको काम सकिएको छ, यहाँका किसानले भ्यागुतोको गुनलाई कसरी बिर्सन सक्छन् । आखिरमा भ्यागुतोले खेतका विनाशकारी कीराफट्यांग्रा खाएर मद्दत धेरै गरेको छ ।
आजकै दिन क्वाँटी खाइन्छ । क्वाँटी पाकेपछि सबैभन्दा पहिला देवीदेवतालाई मात्र चढाइन्न, यिनै काग र भ्यागुतोलाई पनि चढाइन्छ । साउन शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकामा गुंपुन्हिका रूपमा मान्ने चलन छ । नामले भने जस्तै, ‘गुंपुन्हि’ नौ दिनसम्म मनाइन्छ । यसको सुरुआत पूर्णिमाकै दिनबाट हुन्छ । काठमाडौंमा मनाइने चाडपर्वमध्ये यो विशेष छ किनभने यसमा धार्मिक पक्ष त लुकेकै छ, यसलाई व्यंग्यात्मक तरिकाले पनि मनाइन्छ ।
यसलाई जनै पूर्णिमा पनि भनिन्छ । जनै लगाउनुपर्नेले आजकै दिन जनै फेर्छन् । डोरो बान्छन् । ‘गुंपुन्हि’ नेपाल भाषाको शब्द हो । यसमा ‘गुं’ को अर्थ ९ हो । फेरि अहिले नेपाल संवत्अनुसार नवौं महिना चलिरहेको छ, त्यो भनेका गुँला भयो । संस्कृतिविद् सुजनविलास वज्राचार्य भन्छन्, ‘खासमा काठमाडौं उपत्यकामा नौ अंकलाई विशेष महत्त्व दिइन्छ, धार्मिक र सांस्कृतिक दुवै अर्थमा ।’
यसका धेरै उदाहरण छन् । जस्तो– नवग्रन्थ, नवग्रह, नवरत्न आदि । नौ दिन मनाइने भएकाले यसको नाम नै ‘गुंपुन्हि’ रहेको हो । यही बेला नौ किसिमका गेडागुडी खाने चलन पनि छ । यसलाई ‘क्वाँटी’ भनिन्छ । विशेष किसिमका नौ गेडागुडी पकाएर सबैभन्दा पहिले देवदेवीलाई चढाइन्छ । सँगै काग र भ्यागुतोलाई पनि । अनि परिवारमा मिलेर खाने चलन हुन्छ । यी ९ गेडागुडी कुन–कुन हुन् त ? खासमा यही गेडागुडी हुनुपर्छ भन्ने पनि छैन् तर पनि मास, भटमास, ठूलो केराउ, सानो केराउ, चना, मुगी, बोडी, हरियो दाल र सिम्पु मिसाउने गरिन्छ । अथवा यसमा मस्याम, बकुला र सिमी मिसाउन सकिन्छ । यी ९ थरीका गेडागुडीलाई केही दिनअगाडि नै राम्रोसँग पानीमा भिजाउने गरिन्छ । राम्रोसँग भिजेपछि पानीबाट झिकेर पारम्परिक ढकीमा राखिन्छ ।
यति बेलासम्म ती गेडागडीबाट टुसा निस्किसकेको हुन्छ । यसलाई पकाएर ‘गुंपुन्हि’ मा खाइन्छ । ‘क्वाँटी’ पनि नेपाल भाषाकै शब्द हो । यो ‘क्वा’ र ‘ति’ मिलेर बनेको छ । ‘क्वा’ को अर्थ तातो र ‘ति’ झोल भन्ने हुन्छ । झोल भन्दा पनि सुपको अर्थमा यसको प्रयोग भएको पाइन्छ । यही दिन गहुँको रोटी खाने चलन पनि छ । क्वाँटीमा पिठोको कुनै परिकार मिसाइयो भने त्यो ‘ग्वारचा’ नामले अर्कै परिकार बन्छ । विशेषत: क्वाँटीमा पिठो मुछी साना टुक्रा बनाएर मिसाइन्छ । अथवा यसमा ममसमेत मिसाउने गरिन्छ । यसबाट मीठो र विशेष ‘ग्वारचा’ परिकार बन्छ । यो पर्व ९ परिकारका गेडागुडी खानेमै मात्र सीमित छैन्, दिनभरिमा नौ जोर लुगा लगाउने, नौपटक घर बाहिर जाने, नौ स्थानमा बहिद्य:का रूपमा देवीदेवताको दर्शन गर्ने, नौपटक खानेजस्ता चलन पनि छन् । ‘क्वाँटी’ खाँदा के–कस्तो फाइदा हुन्छ त ? यसका धेरै फाइदा छन् । यसको विस्तारले पुराना पुराना ग्रन्थमा व्याख्या गरिएको छ ।
क्वाँटीमा सबै प्रकारका भिटामिन पाइन्छ– ए, बी, सी र ई तथा अन्य खनिज पदार्थ । अघिल्लो पुस्तासम्म पनि काठमाडौं उपत्यकाबासीको प्रमुख पेसा भनेको कृषि नै थियो । अहिलेको समय भनेको कृषिका लगभग सबै काम सकेर आराम लिने अवसर पनि हो । यही बेला काठमाडौंबासी लगातार कामले थाकेका हुन्छन् । यसलाई हटाउन शरीरमा ऊर्जा चाहिन्छ । क्वाँटी त्यही हो जसले थकित शरीरलाई ऊर्जा दिन्छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया