

व्यापक ओपनिङ गरेको ‘अञ्जिला’ को पहिलो तीन दिनको कलेक्सन कति भयो ?



गत बिहीवार रिलिज भएको नेपाली फिल्म ‘अञ्जिला’ को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ । निर्माताले आइतवार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले बिहीवार शुक्रवार तथा शनिवार गरी २ करोड ७ लाख रुपैयाँ व्यापार गरेको हो ।
फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । रिलिजको पहिलो दिनदेखि नै यो फिल्मले उल्लेख्य रूपमा दर्शकको साथ पाउँदै आएको छ ।
रिलिजको दिन फागु पूर्णिमा भएको कारण मध्य दिनदेखि शो प्रारम्भ भएता पनि दिउँसोदेखि प्राप्त सम्पूर्ण शोहरू हाउसफुल भएका थिए भने शुक्रवार पनि फिल्मलाई दर्शकको राम्रो साथ प्राप्त भएको थियो । पहिलो शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरूसमेत थपिएको थियो र थपिएका शोहरु समेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताएका थिए ।
‘अञ्जिला’ ले आइतवार पनि राम्रो व्यापार गर्न सफल भएको वितरक करण श्रेष्ठले बताए । बिहानीका शोहरुमा केही कम दर्शक देखिएता पनि दिउँसो र साँझपखका प्रायः शोहरू हाउसफुल रहेको श्रेष्ठले बताए । आइतवार पनि फिल्म यूनिट दर्शकलाई भेट्न हल(हलमा पुगिरहेको छ ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छिन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यो फिल्ममा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’ सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् ।
टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन्, जसले फिल्मको लोकप्रियतालाई अझ बढाइरहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन् ।


प्रतिक्रिया