

लोप हुदैै थारू समुदायको बर्कीमार गीत



थारू समुदायमा पुस्तौँदेखि मौखिक परम्पराका रूपमा गाइँदै आएको महाभारत कथामा आधारित बर्कीमार गीत लोप हुने अवस्थामा पुगेको छ । विशेषगरी बडादसैँका बेला सामूहिकरूपमा गाइने यो लोकमहाकाव्य नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा थारू समुदायको मौलिक भाषा, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण सम्पदा हराउने जोखिम बढेको छ ।
डंगौरा र डिउखर्या थारू समुदायमा प्रचलित बर्कीमार गीत महाभारतको कथालाई गीतका माध्यमबाट प्रस्तुत गर्ने मौलिक परम्परा हो । थारू भाषामा ‘बर्की’ को अर्थ ठूलो र ‘मार’ को अर्थ युद्ध हुन्छ । समग्रमा बर्कीमारको अर्थ ठूलो वा भीषण युद्ध भन्ने लाग्छ । यसमा महाभारतका पाण्डवसँग सम्बन्धित लामो कथालाई विभिन्न प्रसङ्गमा गीतका रूपमा प्रस्तुत गरिन्छ । विगतमा बडादसैँको अष्टमीका दिन गाउँका घरमूलीहरू मादलसहित गाउँको भुह्यारथान (ठन्ह्वा) मा भेला भएर दिनभरि बर्कीमार गाउने गर्थे । गाउँका घरमूलीहरू बाबरी, जमरा र गोल्द्रामसहित भेला हुने, सामूहिक रूपमा गीत गाउने र एकअर्काको कानमा जमरा तथा बाबरी लगाएर दसैँको शुभकामना आदानप्रदान गर्ने परम्परा थियो ।
सामूहिक गायनपछि मादलको तालमा बर्कीमार गाउँदै मटावाँको घरमा पुग्ने र गाउँलेले मटावाँसँग गाउँल्या टीका लगाउने चलन रहेको घोराही उपमहानगरपालिका–१० जलौराका मटावाँ चन्द्रप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्कीमार गीत महाभारतको कथा हो । यसमा पाण्डवसँग सम्बन्धित लामो कथा समेटिएको छ । पहिले दसैँमा गाउँघरमा खुब गाइन्थ्यो, तर अहिले यो परम्परा हराउँदै गएको छ ।” बर्कीमार लोकमहाकाव्यमा १२ वटा पैढार अर्थात् प्रसङ्ग वा खण्ड रहेको चौधरीले बताउनुभयो । समरौटी, लखागिरक, जट्यक, राउबेढक, पसावरक, वनबासक, घरबासक, हँठ्यक, किचकक, सुसर्मक, बर्कीमारक र स्वर्गारोहण पैढार गरी १२ खण्डमा यो लोकमहाकाव्य गाउने परम्परा रहेको उहाँको भनाइ छ ।
बर्कीमार गीत मनोरञ्जनको माध्यम मात्र नभई थारू समुदायको मौखिक इतिहास, कथावाचन शैली र सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा रहेको घोराही ७ का बेझलाल चौधरीले बताउनुभयो । पुस्तौँदेखि मुखैमुख सर्दै आएको यस गीतमा महाभारतको कथा थारू भाषामा प्रस्तुत गरिन्छ । यसले समुदायको भाषिक मौलिकता र परम्परागत जीवनशैलीलाई समेत प्रतिबिम्बित गर्छ । तर, सामूहिक गायनको चलन कमजोर हुँदै जाँदा गीतका विभिन्न खण्ड, गायन शैली र त्यससँग जोडिएका सांस्कृतिक अभ्याससमेत हराउने थालेको उहाँले बताउनुभयो । परम्परागत बर्कीमार गीतको संरक्षण र प्रवद्र्धनका गर्दै यस्तो खालका लोकमहाकाव्य गीतको सङ्कलन, अभिलेखीकरण गर्नुपर्ने उहाँको भनाइ थियो ।


खबर सबै
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण
-
रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ
-
कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
-
रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त







प्रतिक्रिया