हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड

राजेन्द्र खनाल, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ वार्षिका साधारणसभा शनिबार सम्पन्न भएको छ । वडा नम्बर ५ स्थित अन्नपूर्ण विद्या मन्दिर विद्यालयको परिसरमा सम्पन्न साधारणसभामा सहकारीले सदस्य संख्या वृद्धि, बचत परिचालन विस्तार र डिजिटल सेवाको विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि महत्त्वाकांक्षी नीति तथा कार्यक्रम अघि सारेको छ । जसमा संस्थाले कारोबार विस्तारसँगै सदस्यको आर्थिक सशक्तीकरण, ऋण लगानीको प्रभावकारिता र संस्थागत सुशासनमा जोड दिएको छ। तर सहकारीको दिगो विकासका लागि सदस्यको बचत सुरक्षा, ऋण असुली र वित्तीय अनुशासन कायम गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको छ। वि.सं. २०६४ वैशाख ३० गते २९ जना शेयर सदस्यहरुबाट स्थापना भएको हिमाली सहकारीले १९औँ वार्षिक साधारणसभाका लागि प्रस्तुत गरेको प्रतिवेदनमा आगामी वर्ष सदस्य संख्या बढाएर २ हजार ८०५ पु¥याउने लक्ष्य राखेको छ। संस्थाको विवरणअनुसार २०८३ असार मसान्तसम्म सदस्य संख्या २ हजार ४२६ पुगेको छ। तीमध्ये १ हजार १६९ महिला र १ हजार २५७ पुरुष सदस्य छन्।

कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले सहकारीको सदस्य संख्या विस्तार गर्ने लक्ष्यले संस्थाको पहुँच बढाउनुका साथै बचत परिचालन र वित्तीय सेवाको दायरा विस्तार गर्न सहयोग पु¥याउन आवश्यक रहेको बताए । उनले सदस्य थप्नु मात्र सहकारीको सफलताको आधार नभई सदस्यको बचत सुरक्षित राख्ने, ऋणको सदुपयोग सुनिश्चित गर्ने र समयमै साँवा–ब्याज असुल गर्ने प्रणाली बलियो बनाउनु पनि उत्तिकै आवश्यक हुने बताएका छन् ।

यस्तै कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष तथा हिमाली सहकारी संस्था लि.का संस्थापक अध्यक्ष दुनिका प्रसाद भुसालले सहकारीको स्थापनाकालदेखि आफू प्रत्यक्षरुपमा जोडिदै आएको हुदा यसको विाकस र विश्वासनियताका लागि सदैव जिम्मोवर रहेको बताए । उनले यहाँका हरेक शेयर सदस्यको बचत र लगानी संस्थाको पनि सम्पति रहेको भन्दै त्यसको जवाफदेहिताका लागि सहाकारी सदैव जवाफदेही हरने पनि प्रतिबद्धता जनाएका छन् ।

हिमाली बचत तथा ऋण सहकारी संस्थाले आगामी वर्ष शेयर सदस्यलाई संस्थाको आर्थिक गतिविधिमा सक्रिय बनाउने, शेयर पुँजी वृद्धि गर्ने र बचतका विभिन्न योजनालाई निरन्तरता दिने नीति अघि सारेको छ। सहकारीका अध्यक्ष भरत राज न्यौपानेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र योजना सार्वजनिक गर्दै संस्थाले साधारण, ऐच्छिक, समूह, आवधिक, दैनिक, मुनाफा, बाल, जोडी तथा ज्येष्ठ नागरिक बचतजस्ता कार्यक्रममार्फत सदस्यमा नियमित बचत गर्ने बानी विकास गराउने लक्ष्य लिएको जनाइएको छ । सदस्यको आवश्यकताअनुसार बचत कार्यक्रमलाई प्रभावकारी बनाउँदै संस्थाको वित्तीय आधार बलियो पार्ने योजना पनि प्रतिवेदनमा समेटिएको अध्यक्ष न्यौपानेले अघि सारेका छन् ।

सहकारी संस्थाले सदस्यलाई बचतमा ३.५ देखि ७ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने तथा ऋणमा औसत ८.५ प्रतिशत ब्याजदर कायम गर्ने विवरण प्रस्तुत गरेको छ। त्यस्तै, शेयर सदस्यलाई १० प्रतिशत लाभांश वितरण गर्ने नीति उल्लेख गरिएको छ।

बचतमा प्रतिफल र शेयरमा लाभांशले सदस्यलाई संस्थाप्रति आकर्षित गर्न सक्ने देखिएको छ । तर यस्तो नीति कार्यान्वयन गर्दा वास्तविक आम्दानी, सञ्चालन खर्च, ऋण असुली र सम्भावित वित्तीय जोखिमको अवस्थालाई ध्यान दिनु आवश्यक हुने र सदस्यको बचत सुरक्षित राख्दै संस्थाको आर्थिक स्थायित्व कायम गर्नु सहकारी व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारी रहने् कार्यक्रममा बोल्ने वक्ताहरुको आशय थियो ।

लेखा समितिका संयोजक कपिल घिमिरेका अनुसार संस्थाले आगामी आर्थिक वर्षमा ऋण लगानीलाई व्यवस्थित बनाउने, कर्जाको नियमित अनुगमन तथा मूल्यांकन गर्ने र भाखा नाघेका ऋण असुलीका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

सहकारीले सदस्यलाई आर्थिक गतिविधिमा सक्रिय बनाउन र व्यावसायिक आवश्यकताअनुसार ऋण उपलब्ध गराउने नीति लिएको छ। ऋणको अवस्था समीक्षा गरी आवश्यकताअनुसार अनुगमन, मूल्यांकन र सुपरीवेक्षण गर्ने योजना पनि अघि सारिएको छ।

हिमाली सहकारीले आगामी वर्ष प्रविधिमैत्री सेवा विस्तारलाई पनि प्राथमिकता दिएको छ। संस्थाले मोबाइल बैंकिङ, मोबाइल एसएमएस, बैंक ट्रान्सफर, बिजुलीको बिल भुक्तानी, मोबाइल रिचार्ज तथा डिसहोम र नेट रिचार्जजस्ता सेवा निरन्तर सञ्चालन गर्ने निती अघी सारेको छ ।

डिजिटल सेवाको विस्तारले सदस्यलाई सामान्य कारोबारका लागि संस्थामा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता घटाउने र यसबाट समयको बचत, सेवा प्रवाहमा सहजता र वित्तीय पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

हिमाली सहकारीले वित्तीय कारोबारसँगै सदस्यको सीप विकास, आर्थिक आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ।

प्रस्तावित कार्यक्रमअनुसार महिला सदस्यका लागि च्याउ उत्पादन तथा हेयर कटिङसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने र महिला स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढाउने योजना छ। त्यस्तै, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, सञ्चालक समिति तथा उपसमितिका पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने र कर्मचारीलाई आवश्यक तालिम उपलब्ध गराउने लक्ष्य पनि राखिएको छ। संस्थाले वर्षमा एकपटक रक्तदान कार्यक्रम आयोजना गर्ने प्रस्तावसमेत गरेको छ।

संस्थाका अध्यक्ष भरत राज न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा हिमाली सहकारीलाई पारदर्शी, प्रविधिमैत्री, विश्वसनीय र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। संस्थाको वास्तविक शक्ति भौतिक संरचना वा पुँजीमा मात्र नभई सदस्यको विश्वास, सहभागिता र अपनत्वमा रहने विषयलाई प्रतिवेदनले जोड दिएको छ।

संस्थाले सञ्चालक समिति, लेखा समिति, उपसमिति तथा कर्मचारीको क्षमता विकास गर्ने, सहकारीसम्बन्धी तालिम सञ्चालन गर्ने र आवश्यकताअनुसार नीति तथा कार्यविधि संशोधन तथा परिमार्जन गर्ने योजना अघि सारेको छ।

हिमाली बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्षमा सदस्य विस्तार, बचत परिचालन, ऋण लगानी व्यवस्थापन, डिजिटल सेवा र सामाजिक कार्यक्रमलाई एकसाथ अघि बढाउने लक्ष्य राखेको छ।

सहकारीका कोषाध्यक्ष लक्ष्मण भुसालका अनुसार चालु आर्थिक वर्षमा शेयर पुँजी रु ४ करोड ५२ लाख ४०० रहेको छ भने संस्थाले ३४ करोड ४४ लाख २७ हजार ६५५ रुपैँया निक्षेप संकलन गरेको छ । यस्तै कोषाध्यक्ष भुसालद्धरा प्रस्तुत प्रतिवेदन अनुसार कुल ३४ करोड ९१ लाख ५१ हजार ७७३ ऋण लगानी गर्दा गत एक वर्षमा ३ करोड ६० लाख २५ हजार ६१५ रुपैँया आम्दानी गरेको छ । संस्थाको खुद नाफा ८६ लाख ५९ हजार ६४६ रहेको जनाइएको छ ।

कार्यक्रममा भागिरथी गौशाला संरक्षण विकास समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चक्र बहादुर भण्डारीले हिमाली सहकारीले विगत देखि नै बचतकर्ता र शेयर सदस्यको हितका खातिर काम गरिरहेको भन्दै आउँदा दिनहरुमा पनि शेयर सदस्यको जिविकोपार्जनलाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले सहकारी केवल बचत संकलन गर्ने वा ऋण लगानी गर्ने मात्र नभई यसको सहि परिचालन र व्यवस्थापनमा पनि महत्वपूर्ण जिम्मेवार संस्था रहेको बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मधु गौतम भुसालको स्वागत मन्तव्यसहित कपिलवस्तु नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोहनलाल शर्मा, बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नरेन्द्र चौधरी लगाएतले सम्बोधन गरेका थिए ।

संस्थाका सचिव कमल प्रसाद खनालको संचालनमा सम्पन्न साधारणसभामा सहकारीले संस्थाका ज्येष्ठ सदस्य, बाल बचतकर्ता, नियमित बचतकर्ता लगाएतलाई नगद रकमसहित सम्मान गरेको छ । यस्तै साधारणभामा अन्नपूर्ण विद्या मन्दिर विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

समग्रमा, हिमाली सहकारीले कारोबार विस्तार र आधुनिकीकरणसँगै सदस्यकेन्द्रित सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ। अब यी योजनालाई व्यवहारमा उतार्दै सदस्यको बचत सुरक्षा, प्रभावकारी ऋण असुली र संस्थागत पारदर्शितालाई परिणाममुखी बनाउनु संस्थाका लागि मुख्य चुनौती हुनेछ। सहकारीप्रतिको विश्वास कायम राख्न कारोबार बढाउनु जति आवश्यक छ, त्यसलाई सुरक्षित, पारदर्शी र दिगो बनाउनु पनि उत्तिकै अनिवार्य छ।

प्रतिक्रिया

खबर सबै