बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा

बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरीप्रसाद पाण्डेले सम्हालेका छन्। सोमबारदेखि कार्यालयमा उपस्थित भएका पाण्डेलाई नगरप्रमुख, उपप्रमुख तथा कर्मचारीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, नगर प्रवक्ता विष्णुप्रसाद पौडेललगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले खादा तथा पुष्पगुच्छासहित पाण्डेलाई स्वागत गरेका थिए।

नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ प्रशासकीय अधिकृत केशवराज भट्टराईका अनुसार नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे सोमबारदेखि कार्यक्षेत्रमा खटिएका हुन्। यसअघि राष्ट्रपति कार्यालयमा कार्यरत रहेका पाण्डेको आगमनसँगै नगरपालिकाको प्रशासनिक कामकाज थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भक्तिराम मरासिनीको सरुवा भएपछि उक्त पद रिक्त रहेको थियो।

स्वागत कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले नगरको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताए। उनले नगरपालिकाका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै, उपप्रमुख रिता कुमारी चौधरीले विकास निर्माण, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन्।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न प्राथमिकता दिने बताए।

प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाका नियमित प्रशासनिक कामकाज थप व्यवस्थित हुने, प्रक्रियामा रहेका कामले गति लिने तथा विकास निर्माणका योजनाको कार्यान्वयनमा सहजीकरण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

खबर सबै