रेसुङ्गामा चार महिनापछि हवाई उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु भएको छ। मौसम प्रतिकूलताका कारण नियमित उडान बन्द भएको चार महिनापछि मङ्गलबार नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो। गत जेठ २४ गते अन्तिम उडान भएपछि मौसम खराबीका कारण चार महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान नभएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ।

स्टेशन प्रमुख थापाका अनुसार मौसममा सुधार आउन थालेसँगै मंगलबारदेखि उडान सुरु भएको हो। वर्षायाममा मौसम प्रतिकूलताका कारण यस विमानस्थलबाट उडान प्रभावित भएको थियो। विशेषगरी असार र साउन महिनामा यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गर्दछ। वर्षमायामको समयमा बिहानपख बाक्लो बादलसँगै हुस्सु लाग्नुका साथै मौसम खराबी आउँदा यस विमानस्थलमा उडान अवरुद्ध हुन्छ। यहाँ हिउँदको समयमा पनिको बाक्लो हुस्सु लाग्ने हुँदा उडान अवरुद्ध हुने गर्दछ। यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार दिनसम्म यहाँ उडान हुने व्यवस्था मिलाइएको थियो।

पछिल्लो समय तालिका समायोजन गरी हप्तमा तीन दिन आइतबार, मंगलबार र शुक्रबार अबको उडान तालिका रहेको उहाँले बताउनुभयो। प्रत्येक हप्ताको आइतबार र मंगलबार रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ७ः१५ बजे र यहाँबाट काठमाडौँका लागि बिहान ८ः१५ बजे उडान हुने समय तालिका छ। त्यसैगरी शुक्रबार रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः२० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७ः२० बजे उडान हुने समय तालिका रहेको उहाँले जानकारी दिनुभयो।

गुल्मी हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरु घुम्नका लागि सिधै यस जिल्लामा आउने गरेका थिए। तर, पछिल्लो समय हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण हवाई भाडादर वृद्धि हुँदा भाडादर समायोजन गरी कम गर्न आवश्यक रहेको स्थानीयले बताएका छन्।

रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि सात हजार ३०० रुपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार ५०० रुपियाँ भाडा कायम गरिएको थियो। अहिले भाडादर वृद्धि भएर रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि दश हजार ५१० रुपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि दश हजार ७१० रुपियाँ भाडा कायम भएको छ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान भर्ने गरेको थियो। हालसम्म दुईतर्फी उडान ३६९ भएको छ। रेसुङ्गा विमानस्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर छ। यस विमानस्थल कुल १५६ रोपनी जग्गामा फैलिएको छ।

प्रतिक्रिया

खबर सबै