तर्बुजा खाने प्रतिस्पर्धा ! तीन मिनेटमा जस्ले धेरै खान सक्यो उही ‘विजेता’

पोखरा – पोखरामा शुक्रबार अचम्मको प्रतियोगिता भयो, तर्बुजा खाने। पोखरा महानगरपालिका–१३ ढाँडबेशीको मणिदीप कृषि फार्म भएको प्रतिस्पर्धामा भीड नै लाग्यो।

फार्ममा फलेका तर्बुजा प्रतिस्पर्धी आफैंले छानेर टिपें। आफैंले काटेर खाए। १४ जना सहभागी प्रतिस्पर्धाको विजेता तीन मिनेटमा जस्ले धेरै खान सक्यो उहीं।

एक सय रुपैयाँ दर्ता शुल्क तिरेर सहभागी प्रतिस्पर्धामा समीर नेपाली विजेता बने। उनले १० केजी तर्बुजा उपहारको साथमा प्रमाणपत्र पाए।

रामचन्द्र भट्ट दोस्रो, नरेश लामिछाने तेस्रो र नारायणप्रसाद बराल चौंथो भए। उनीहरुले क्रमशः ६, ४ र २ केजी तर्बुजासँगै प्रमाणपत्र हात पारेका छन्।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले तर्बुजा खाने मात्रै होइन पोखराका किसानले फलाएकोे तुर्बजा समेत प्रदर्शन गरिएको छ। ७ कृषि फार्मले फलाएको तर्बुजा प्रदर्शनीमा राखियो।
तर्बुजा खाने मात्रै पुरस्कृत भएनन् फलाउने किसानलाई पनि पुरस्कृत गरिएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए। किसानले उत्पादन गरेको तर्बुजा प्रदर्शन गरेको आधारमा उत्कृष्ट छनौट गरिएको हो।

ज्ञानबहादुर कार्की उत्कृष्ट किसान घोषित हुँदै पाँच हजार रुपैयाँ हात पारे। श्रीधर बराल र रोशन बराल दोस्रो, सोभियत अधिकारी तेस्रो र बुद्धिसागर खनालले चौंथो स्थान हासिल गरेका छन्। उनीहरुले क्रमशः ३, २ र १ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाए।

पोखराका किसानले फलाएकोे तर्बुजाको बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरेको कडरिया बताउँछन्। उनका अनुुसार शुक्रबारको प्रदर्शनीबाट मात्रै दुई हजार एक सय किलो तुर्बजा बिक्री भएको छ। ६० रुपैयाँ प्रतिकेजीका दरले बिक्री भएको हो।

पोखराका विभिन्न स्थानमा ४० रोपनी क्षेत्रफलमा तर्बुजाको व्यवसायीक खेती भइरहेको छ। महानगरले सरस्वती जातको तर्बुजा खेतीको सफल परीक्षणपछि व्यवसायीक खेती गर्न सघाएको कडरियाको भनाइ छ। उनका अनुुुसार यो वर्ष १८ हजार किलो उत्पादन भएको छ।

‘हामीकहाँ तर्बुजा उत्पादन सम्भव रहेछ भने देखायो। यहाँको उत्पादनको स्वाद पनि लियौं। गुलियोपना बढी भेटियो’, उनले भने।

स्थानीय हावापानिमा उत्पादन राम्रो भएकाले बजारीकरणमा महानगरपालिकाले सघाएको उनले बताए। उनले भने, ‘स्थानीय उत्पादन प्रबद्र्धन गर्नुपर्छ भनेर उत्पादनस्थलमै ल्याएर प्रदर्शनी गरेका छौं।’

पोखरा महानगरपालिका–१३ ढाँडबेशीमा रोशन बराल र सोभियत बहादुर अधिकारीले मणिदिप फार्ममा पहिलो पटक तीन रोपनी जग्गामा तरबुजा खेती गरेका छन्। पहिलो पटक लगाएको तर्बुजाले उत्पादान राम्रो दिएपछि उनीहरु उत्साहित बनेका छन्।

४३० बोट लगाइएकोमा चार क्विनटल भन्दा बढि उत्पादन हुने अपेक्षा छ। ‘पहिलो बर्ष सिकाइ नै भयो। उत्पादन हेर्दा राम्रै भएको छ’, रोशनले भने।

स्थानीयस्तरमा उत्पादन भएको तरबुजा खेती हेर्न, स्वाद लिन र खरिद गर्ने भिड नै लाग्यो। उपभोक्ताले पनि स्थानीय उत्पादनलाई रुचाए। प्रदर्शनीमा पुगेका लालप्रसाद न्यौपानेले पोखरामा फलेको तर्बुजा निकैै स्वादिलोे लागेको बताए। ‘तर्बुजा स्वस्थकर भएकाले घर पनि लैजाउँ भनेर किनेको छु’, उनले सुनाए।

खोला, नदीको बगरमा फल्ने तर्बुजा उत्पादनको पोखरामा देखिन्छ। तर, सिंचाइका लागि समस्या भएको किसानले सुनाए।

प्रतिक्रिया

खबर सबै