मृत्युदर घटाऔं : विज्ञ

काठमाडौं

कोरोना भाइरस संक्रमणबाट हुने दैनिक मृत्युदर २ सय हाराहारी छ। रोग प्रतिरोधात्मक क्षमता उच्च मानिने चलायमान उमेर समूहकै व्यक्तिको मृत्यु बढी देखिएको छ। यति मात्रै होइन, विज्ञहरू आगामी दुई सातासम्म संक्रमणसँगै ज्यान गुमाउनेको संख्या वृद्धि हुने आँकलन गर्छन्। त्यसैले विज्ञहरू भन्छन्, ‘मृत्युदर घटाऔं।’

कसरी ? 
यसका लागि मुख्य तीन कुरामा ध्यान दिनुपर्ने जनस्वास्थ्य एवं औषधि विज्ञ डा. राजीव श्रेष्ठ बताउँछन्। ‘उपचार गर्नुपर्ने डाक्टरहरू नै अक्सिजनको जोहो गर्न रातदिन दौडिरहनुपरेको छ। सरकारले सिकिस्त बिरामीका लागि अक्सिजनको व्यवस्था गर्नु पहिलो काम हो’, धुलिखेल अस्पतालमा कार्यरत डा. श्रेष्ठ भन्छन्, ‘दोस्रो, होम आइसोलेसनमा रहेका बिरामीलाई परामर्श गर्न जरुरी छ। तेस्रो, जथाभावी रूपमा घरबाहिर निस्कनुभएन। निस्कनै परे सामाजिक दूरी कायम राख्न र मास्क लगाउन बिर्सनुभएन। लापरवाही वा हेलचेक्र्याइँ गर्नुभएन।’

होम आइसोलेसनमा रहेका व्यक्तिमा चिन्ता, नैराश्यलगायत समस्या देखिने गरेको डा. श्रेष्ठ बताउँछन्। भन्छन्, ‘सरकारले कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था शीघ्र गर्नुपर्छ। खोप उपलब्ध गराउन सकिएन भने कोरोना संक्रमणको तेस्रो लहरमा मृत्युदर झन् बढी हुन्छ।’

अस्पतालमा सिकिस्त बिरामी भर्नारत रहेको र अक्सिजन अभावका कारण मृत्युदर बढ्ने देखिएको छ। उनका अनुसार खोप लगाएका कारण पनि हाल मृत्युदर न्यून भएको हो। ‘खोप लगाएको जनसंख्या थोरै भए पनि मृत्युदर घटाउन सघाएको छ। खोप नपाएको भए मृत्युदर झन् बढ्थ्यो’, उनी भन्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल मृत्युदर घटाउन खोपको उपलब्धता सहज रूपमा हुनुपर्ने बताउँछन्। भन्छन्, ‘संक्रमण रोकथाम र उपचारका लागि सरकारी र सामुदायिक तथा निजी क्षेत्रबीच सहकार्य गरेर पब्लिक प्राइभेट पार्टनरसिपमा जानुपर्छ।’

स्वास्थ्य संकटकाल लगाएर भए पनि निजी अस्पताल, विद्यालय, पार्टी प्यालेसलाई संस्थागत आइसोलेसनको व्यवस्था गर्न सकिने डा. प्याकुरेलको सुझाव छ। ‘संस्थागत आइसोलेसनको व्यवस्था गरी एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्छ’, उनी भन्छन्, ‘संक्रमणदर रोक्नेतिर पहल गर्नुपर्छ। त्यससँगै उपचार व्यवस्था प्रभावकारी बनाउने र खोप उपलब्धतालाई प्राथमिकता दिनुपर्छ।’

संक्रमणदरमा भियतनामपछि दोस्रो 
कोरोना फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ। काठमाडौं विश्वविद्यालयको एक अध्ययनले नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्ने गरेको देखाएको छ।

यस्तै, दैनिक संक्रमणबाट मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा झन्डै ३.३ छ।

संक्रमित हुने र ज्यान गुमाउनेमा २० देखि ३९ वर्ष उमेर समूहका धेरै छन्। कामकाज बढी गर्नुपर्ने ३० देखि ३९ वर्ष समूहका बढी प्रभावित छन्। त्यसपछि २० देखि २९ वर्ष उमेरका व्यक्तिले ज्यान गुमाइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘कोरोना संक्रमणदर त बिस्तारै घट्दै जाला। तर, अहिलेको चुनौती भनेको गरिखाने उमेरका व्यक्तिको मृत्युदर घटाउनु नै हो।’ नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको पनि उल्लेख गर्दा शुक्रबार २ सय ३ जनाको मृत्यु भयो। संक्रमणबाट शनिबार थप १ सय ८७ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। देशभर १ लाख ९ हजार ७ सय ४० सक्रिय संक्रमित छन्।  कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४२ हजार २ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ।

दोस्रो लहरमा देखिएको यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्टले बिरामीलाई छिट्टै जटिल अवस्थामा पुर्‍याउने गरेको छ। त्यसैले कोरोना संक्रमणसँगै मृत्युदर घटाउने चुनौती देखिएको विज्ञ बताउँछन्।  डा. श्रेष्ठका अनुसार पहिलो लहरमा देखिएको कोरोनाको भेरियन्टभन्दा दोस्रो लहरको भेरियन्टले बिरामीलाई जटिल अवस्थामा पुर्‍याउँछ। ‘पछिल्लो भेरियन्टले बिरामीलाई बढी सिकिस्त बनाउने गरेको छ। अहिले गरिएको पछिल्लो अध्ययनले ४० देखि ६० प्रतिशत बढी सिकिस्त गराउने देखिएको छ’, उनी भन्छन्। मध्यम खालको अवस्थामा रहेका बिरामीलाई छिट्टै जटिलतातर्फ लैजाने गरेको पाइएको छ।

जनस्वास्थ्य विज्ञ डा. मरासिनी स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन नसकेका कारण अहिले मृत्युदर बढेको बताउँछन्। ‘काठमाडौं उपत्यकाभित्रका सबै नगरपालिकाले कोरोना संक्रमितलाई जाँच गर्ने क्लिनिक खोलिदिएको भए यस्तो बिजोग हुने थिएन’, डा. मरासिनी भन्छन्, ‘संघ, प्रदेश र स्थानीय  सरकारबीच समन्वय र सहकार्य हुन सकेन।’

जोखिममा सुदूर र कर्णाली
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले शनिबार फेसबुकमा गुनासोसहितको स्टाटस लेखे। ‘सुदूरपश्चिम प्रदेशको एक मात्र ३० लाख जनताको आशा र भरोसाको केन्द्र सेती प्रादेशिक अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि बारम्बार अनुरोध गर्दा पनि हालसम्म कुनै ठोस परिणाम नदेखिएकाले सुदूरपश्चिमवासीको बाँच्न पाउने अधिकार सुरक्षित भएन भने ठूलो विद्रोह हुनसक्छ।’ अस्पताल नै पर्याप्त नभएका सुदूरपश्चिम र कर्णाली प्रदेशमा संक्रमणदर बढ्दै जाँदा कस्तो अवस्था होला ? डा. मरासिनी भन्छन्, ‘सरकारी र निजी अस्पताल भएको काठमाडौंमा त यस्तो बिजोगपूर्ण अवस्था छ।

अन्नपूर्ण पोस्टमा खबर छ

प्रतिक्रिया

खबर सबै