स्काइप सधैंका लागि बन्द

अनलाइन भिडिओ-कलिङ सेवा ‘स्काइप’ले आफ्नो दुई दशकभन्दा लामो यात्रालाई आजदेखि बिट मारेको छ । एक निश्चित पुस्ताका लागि स्काइपले सञ्चारको दुनियाँमा क्रान्ति नै ल्याइदिएको थियो ।

सन् २००३ मा यसको सुरुवात हुनुअघि अन्तर्राष्ट्रिय फोन कल अत्यन्तै महँगो थियो । यसका लागि खासै भरपर्दो डिजिटल विकल्प उपलब्ध थिएनन् । स्काइपले प्रयोगकर्तालाई विश्वको जुनसुकै कुनामा रहेका मानिससँग सस्तो र सजिलो तरिकाले सम्पर्क गर्ने माध्यम प्रदान गर्‍यो ।

संसार जोड्ने माध्यम

यसले महँगो ल्यान्डलाइन सेवाको एकाधिकारलाई चुनौती दियो । केही वर्षपछि प्लेटफर्ममा भिडिओ कलको सुविधा थपिएपछि त स्काइपले एक दशकपछिको संसारलाई टक्क आँखै अगाडि ल्याइदियो । घरबाट टाढा हुने खासगरी विदेश अध्ययन गर्न गएका विद्यार्थीले घरपरिवारसँग जोडिन यसको व्यापक प्रयोग गरे ।

त्यस्तै विभिन्न देशका व्यक्तिसँग मित्रता गाँस्न र सीमापार सम्बन्ध विस्तार गर्न पनि स्काइप महत्त्वपूर्ण माध्यम बन्यो । सन् २००० को दशकको अन्त्यतिर स्काइप यति सर्वव्यापी हुँदा सर्चका लागि गुगल गर्ने भनेजस्तो यसको नाम पनि एउटा क्रियापद (स्काइप गर्नु) बन्यो । यसको ऊर्जावान् रिङ्टोन र अडियो नोटिफिकेसन नै मान्छेलाई प्रिय लाग्ने धुन बने ।

मोबाइल युग र प्रतिस्पर्धा

आफ्नो उत्कर्षको समयमा स्काइपका विश्वभर करिब ३० करोड प्रयोगकर्ता थिए । तर, यो डेस्कटप कम्प्युटरको युगको उत्पादन थियो । जब प्रयोगकर्ता मोबाइलतर्फ आकर्षित हुन थाले, स्काइपले ह्वाट्सएप र फेसटाइम जस्ता नयाँ प्रतिस्पर्धीसामु आफ्नो अग्रता गुमाउँदै गयो ।

आज विश्वभर धेरैजसो फोन र कम्प्युटरमा यो एप बिर्सिएको अवस्थामा छ । मार्केट रिसर्च फर्म ‘सेन्सर टावर’का अनुसार पछिल्लो समय टर्की, रुस, भारत र फिलिपिन्स जस्ता देशहरूमा अझै पनि यसका प्रयोगकर्ता थिए ।

स्काइपको नाम

२००० को दशकतिर प्रविधि क्षेत्रमा इन्टरनेटलाई ‘वायुमा हुने चिज’ वा ‘बादलमा हुने चिज’का रूपमा हेरिन्थ्यो । आकाशमा वा बादल हुँदै आवाज प्रसारित हुने माध्यम भएकाले त्यस प्लेटफर्मको नाममा आकाश (Sky) राख्ने अवधारणा संस्थापकको थियो । व्यक्तिदेखि व्यक्तिसम्म (Peer-to-pee) आवाज इन्टरनेटका माध्यमबाट पुर्‍याउने माध्यम भएकाले स्काइको पछाडि ‘Per’ अक्षर राख्दै ‘Skyper’ नामको प्लेटफर्म सञ्चालनमा ल्याउने संस्थापकको योजना थियो । तर, डोमेन लिंदा अन्तिमको ‘r’ अक्षर हटाएर कम्पनीले ‘स्काइप’ (Skype) शब्द दर्ता गर्‍यो र त्यसैलाई प्रयोगमा ल्यायो ।

स्काइपसँग नेपालीको साइनो !

स्काइप सधैंका लागि अस्ताउँदै गर्दा टेकपानाले आफ्ना सामाजिक सञ्जालमा पोस्ट राख्दै पाठक प्रतिक्रियाको आह्वान गरेको थियो । त्यस क्रममा सयौं पाठकले स्काइपसँगको यादगार पल हामीलाई साझा गरेका छन् । अधिकांशले सुरुवाती समयमा विदेश हुँदा आफन्तलाई स्काइपबाट भिडिओ कल गरेको स्मरण गरेका छन् । केहीले आफू विदेशमा हुँदा नेपालका प्रियजनसँग भिडिओ कलमा जोड्ने माध्यम स्काइप बनेको सम्झिएका छन् । जागिरका लागि अनलाइन भिडिओ अन्तर्वार्तामा स्काइपबाटै सहभागी भएको पल धेरैको मानसपटलमा अझै पनि ताजै छ ।

प्रेमी- प्रेमिका, श्रीमान-श्रीमती, आमा-बुवा आदिसँगको रोमाञ्चक र प्रिय गफगाफका सम्झनाको साँची पनि स्काइप बनेको छ । २०७२ मा गएको महाभूकम्पको त्रासमा सकुसल रहेको सूचना दिन स्काइप नै उपयुक्त माध्यम बनेको उपत्यकका नेपालीको सम्झना छ ।

Source : Techpana

प्रतिक्रिया

खबर सबै