बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थित बनगाई बजार क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा चोरीका घटना नियन्त्रण गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरण र शंकास्पद गतिविधिको निगरानी गर्ने उद्देश्यले क्यामेरा जडान गरिएको हो ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बनगाई बजार व्यस्त व्यापारिक क्षेत्रका रूपमा परिचित छ । दैनिक रूपमा ठूलो संख्यामा मानिस तथा सवारीसाधनको आवतजावत हुने यस क्षेत्रमा पछिल्लो समय चोरीका घटना दोहोरिन थालेपछि स्थानीय व्यवसायी र बासिन्दा चिन्तित बनेका छन् । चाडपर्वको समयमा चोरीलगायतका आपराधिक गतिविधि थप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बजार क्षेत्रमा सीसीटीभी जडान गरिएको स्थानीय व्यवसायीले बताएका छन् ।

बनगाई बजार व्यवस्थापन समितिको पहलमा बजारका विभिन्न स्थानमा क्यामेरा जडान गरिएको हो । समितिका अध्यक्ष केशवराज बेल्बासेका अनुसार २०८२ सालमा देउसी–भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट क्यामेरा जडान गरिएको हो । यस कार्यमा मेरिट बचत तथा ऋण सहकारी संस्थाले समेत आर्थिक सहयोग गरेको अध्यक्ष बेल्बासेले साझाकुरालाई जानकारी दिएका छन् ।

पछिल्लो समय बनगाई क्षेत्रमा चोरीका घटनाले व्यवसायीलाई थप त्रसित बनाएको छ । गत हप्ता मात्रै बजारको एक गहना पसलमा चोरी भएको थियो भने त्यसको एक साताअघि सोही क्षेत्रबाट मोटरसाइकल चोरी भएको थियो । यस्ता घटनाले बजारको सुरक्षा अवस्थामाथि प्रश्न उठिरहेका बेला सीसीटीभी जडानलाई स्थानीयले सुरक्षाको महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।

स्थानीय व्यवसायीका अनुसार बनगाई क्षेत्रमा हरेक वर्ष दर्जनभन्दा बढी चोरीका घटना हुने गरेका छन् । पटक–पटक चोरीका घटना दोहोरिँदा व्यवसाय सञ्चालन गर्नेदेखि दैनिक जनजीवनसम्म प्रभावित हुने गरेको उनीहरूको भनाइ छ । विशेषगरी पसल तथा व्यावसायिक प्रतिष्ठानमा हुने चोरीका घटनाले व्यवसायीलाई आर्थिक क्षतिसँगै असुरक्षाको त्रासमा समेत राखेको छ ।

सीसीटीभी क्यामेरा जडान भएपछि बजार क्षेत्रमा हुने गतिविधिको निगरानी गर्न, चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न तथा सवारी दुर्घटनासम्बन्धी घटनाको अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, क्यामेराको प्रभावकारी प्रयोगसँगै नियमित निगरानी र प्रहरीसँगको समन्वय पनि उत्तिकै आवश्यक देखिन्छ ।

बजार व्यवस्थापन समितिको यो पहलले बनगाई क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने र चोरीका घटनामा कमी ल्याउन सहयोग पुग्ने स्थानीयको अपेक्षा छ । बढ्दो असुरक्षाबीच व्यवसायी आफैँले स्रोत जुटाएर सुरक्षा प्रविधि जडान गर्नु बजारको सुरक्षाप्रति स्थानीय समुदायको सक्रियता र चासोको उदाहरणसमेत बनेको छ ।

प्रतिक्रिया

खबर सबै