


रुपन्देहीको बाटो हुँदै भारत लैजान लागेका ६ किशोरीको उद्धार






रुपन्देही । रूपन्देहीको बेलहिया नाका हुँदै भारत लैजान लागेका ६ जना किशोरीहरूको उद्धार गरिएको छ।
इलाका प्रहरी कार्यालय बेलहिया र भैरहवामा रहेको माइती नेपालको आवधिक गृहले उनीहरूलाई बेलहिया नाकाबाट उद्धार गरेका हुन्।
माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीका अनुसार भारत लैजान बेलहिया नाका पार गर्न बाटोमा हिँडिरहेका उनीहरूलाई सोधपुछ गर्दा शंका लागेपछि प्रहरीको जिम्मा लगाइएको थियो। किशोरीहरूले आफूहरूलाई भारतको राजस्थान जोतपुरमा काम लगाइदिने भनेपछि त्यसतर्फ जान तयार भएको बताएका छन्।
रूपन्देहीसहित कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका ती किशोरीलाई उनीहरूकै आफन्तले १० हजार भारतीय रूपैयाँ तलब पाउने गरि लैजाने बताएका थिए। घरको सरसफाइ र बिरामीको हेरचाहको काममा लगाइदिने र १० हजार तलब दिने भनेपछि परिवार पनि सहमत भएका थिए।
उद्धार गरिएका किशोरीहरूले भारत जानका लागि टिकटवापत लाग्ने खर्च समेत भारतबाटै काटेर पठाएको प्रहरी सामू बताएका छन्। किशोरीहरूले भारत लैजान खोज्नेहरूसँग आफूहरू फेसबुकबाट जोडिएको बताए।
किशोरीहरूलाई प्रहरी तथा पत्रकारको रोहबरमा अभिभावकको जिम्मा लगाइएको थियो।

प्रतिक्रिया