कानुनी जटिल्ताले ५ वर्षदेखि लुम्बिनीमा थन्किए विद्युतीय बस र भ्यान, एडीबीको सहयोग बेकार !

बुटवल| लुम्बिनी क्षेत्रलाई पर्यटकमैत्री बनाउने लक्ष्यमा एडीबी (एसियाली विकास बैंक)ले प्रदान गरेको विद्युतीय गाडीहरू ५ वर्षदेखि थन्किएका छन्। २०७७ सालमा ल्याइएको १४ वटा विद्युतीय बस र ५ वटा भ्यान विभिन्न कानुनी प्रक्रियाका समस्यामा परेर सञ्चालनमा आउन सकेका छैनन्।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार, गाडीहरूको सञ्चालनमा ढिलाइको कारण कानुनी प्रक्रिया रहेको छ। “यी गाडीहरूको सञ्चालनमा प्रक्रिया गर्दा ढिलो भएको हो। अहिले हामी यसलाई शीघ्र कार्यान्वयनमा ल्याउने प्रयासमा छौँ,” उनले भने।

विद्युतीय गाडीहरू ल्याउने क्रममा, लुम्बिनी विकास कोषलाई सेतो नम्बर प्लेटका कारण समस्या परेको छ। हरियो नम्बर प्लेटको लागि प्रक्रिया अझै पूरा नभएको जानकारी दिएका सूचना अधिकारी डा. हरिध्वज राईले, “ती गाडीहरूको नाममा ल्याउन तीन वर्ष लाग्यो र अब गाडी चलाउन अर्को कानूनी जटिलता छ,” भने।

यातायात व्यवस्था कार्यालय बुटवलका अनुसार, सरकारी नम्बर प्लेटमा रहेको गाडीलाई अन्य प्लेटमा परिवर्तन गर्न प्रावधान नरहेको भन्दै प्रक्रिया रोकिएको छ। यस विषयमा प्रदेश सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले भने, “हामी भर्खरै नियुक्त भएका छौँ। यस विषयमा विस्तृत अध्ययन गरेर गाडीहरूको सञ्चालनमा सहजता ल्याउने छौँ।”

लुम्बिनी विकास कोषले विद्युतीय गाडीहरूलाई भाडामा दिने योजना बनाएको छ, जसले गर्दा नियमित आम्दानीको स्रोत सुनिश्चित गर्न सकिन्छ। एडीबीले प्रदूषण मुक्त सवारी साधनलाई पर्यटक सेवामा ल्याउने उद्देश्यले गाडीहरू उपलब्ध गराएको हो।

प्रतिक्रिया

खबर सबै