डढेलोको त्रास बस्तीमा: ‘चुरे, महाभारत र तराई’का वनमा फैलियो आगो

रुपन्देही । लुम्बिनी प्रदेशमा ३ सय ठाउँमा डढेलो लागेको छ । प्रदेशको चुरे, महाभारत र तराईका साझेदारी वन क्षेत्रमा डढेलो लागेको हो । डढेलोको त्रास बस्तीमा समेत फैलिएको छ।


आइतबार साँझसम्म प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका वन अधिकृत एव सूचना अधिकारी डिलाराम पौडेलले जानकारी दिए ।


उनले प्रदेशका विभिन्न ३ सय स्थानमा डढेलो लागेको जानकारी दिए । प्रदेशको पूर्वी रुकुममा २३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने कपिलवस्तुको २१ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।


उता, दाङमा २५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने बर्दिया जिल्लामा ८० स्थानमा डढेलो लागेको छ। अर्घाखाँची जिल्लामा लागेको डढेलोबाट ३५ घर गोठ जलेको वन कार्यालयले जनाएको छ । यस्तै यहाँ २१ वटा चौपाया समेत मरेका छन् । अर्घाखाँचीमा लागेको डढेलो साँझ नियन्त्रणमा आएको छ । पाल्पामा ५५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।


यस्तै गुल्मीमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । गुल्मीमा डढेलोबाट सबैभन्दा बढी क्षति भएको वन कार्यालयले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट ४१ वटा घर जलेका छन् भने ४८ वटा गोठ जलेका छन् । आगलागीमा ८३ वटा पशु चौपाया जलेका छन् ।

यसअघि वैशाख ३ गते डढेलोकै कारण गुल्मीमा एक जनाको मृत्यु भएको थियो । मुसिकोट नगरपालिका–१ तल्लो पौनीस्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरले बताए।

यता, रुपन्देहीको बुटवलस्थित शिव नगर सामुदायिक वन र चारपालामा पनि डढेलो लागेको प्रदेश वन कार्यालयले जनाएको छ ।

कपिलवस्तुमा आगलागी हुँदा करिब ५० घर जलेर नष्ट

कपिलवस्तुको यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएको छ । शुक्रबार गहुँको डाँठमा लगाएको आगो बस्तीमा पुग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए।

प्रहरीका अनुसार शुद्धोधन ५ घेराउजोत, सानो फुलुवापुर, गदवा, तारानगर क्षेत्रमा आगलागी हुँदा १२ घर गोठ जलेर क्षति गरेको छ । आगलागीका कारण जान मोहम्मद, पराग बरई, सौकत अलि, एलीयास मोहम्मद गद्दी, मोहम्मद हुसेन, जवाहिर मुसलमान, हरिहरप्रसाद यादव, धमल यादव र आकाश यादवको धनमाल नष्ट भएको छ ।

यसैगरी मायादेवी गाउँपालिका–२ अविरावमा आगलागी हुँदा जय सराफ पासी र गुर्देयाल पासीको गोठ जलेर क्षति गरेको छ । यसैगरी यशोधरा गाउँपालिका–१ ठुलो पकडीमा आगो लाग्दा ३० वटा कच्ची र पक्की घर र ६ वटा गोठ जलेर नष्ट भएको जनाएको छ ।

पकडीमा दिउँसो अन्दाजी १ बजेतिर लागेको आगो साँझ ६ बजे नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामजङ्ग पाण्डेले बताए। आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाको दमकल परिचालन गरिएको थियो ।

यसबाहेक कपिलवस्तुका उत्तरमा चुरे क्षेत्रसँग जोडिएका सबैजसो सामुदायिक वन क्षेत्र डढेलोले सखाप भइसकेका छन् । स्थानीय र वन कार्यसमितिको अथक प्रयास रहे पनि वन क्षेत्रमा डढेलो अनियन्त्रित बनिसकेको छ । यस्तै अर्घाखाँची जिल्लाका विभिन्न वनमा समेत आगलागी उच्च छ ।

प्रतिक्रिया