लुम्बिनीमा विश्व शान्ति धाम पुन:निर्माण

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरु भएको छ । एक समारोहबिच श्रमदान गर्दै धाम निर्माणको पुनः सुरुवात गरिएको हो। विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछे, लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुङ्गा बिच्काएर पुनः सुरुवात गर्नुभएको हो ।

त्यसपछि उपस्थित सबैजना पालैपालो श्रमदानमा सहभागी भएका थिए । यो लेखक तथा धर्मगुरु रिन्पोछेले थालेको विश्व शान्ति धाम निर्माण महत्त्वाकाङ्क्षी परियोजना हो । धाम निर्माणमा झण्डै ३० मिलियन डलर लाग्ने अनुमान छ । जसलाई ‘क्राउड फन्डिङ’मार्फत उठाउने लक्ष्य लिइएको छ । शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य परियोजनाको छ ।

समारोहमा गुरु रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेको र त्यसपछि रोकिएको काम पुन सुरुवात गरिएको बताउनुभयो । उहाँले नेपाल भौतिक रूपमा कमजोर भएपनि संसारको सबैभन्दा धनी हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने बताउनुभयो । करोडौँ विदेशीहरू बुद्धको धर्मको लागि लालायित भएको भन्दै उहाँले यसबाट नेपालले ठुलो आर्थिक लाभ लिन सक्ने बताउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न ठुलो सघाउ पुर्‍याउने उल्लेख गर्नुभयो ।

उहाँले यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतीक बन्ने विश्वास व्यक्त गर्नुभयो । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरूको सहयोगबाट यो निर्माण हुने बताउनुभयो ।

नेपालको लागि अमेरिकन राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरूलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्‍याएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न विश्वास र धर्मका मानिसबिच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्त्व रहेको बताउनुभयो ।

कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तर्राष्ट्रिय अभियन्ता माइकल सङ्घ र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्त्व अझ बढ्ने उल्लेख गर्नुभयो ।

३४ सय वर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ति धाम तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया