थारु बहुल क्षेत्रमा अटवारी पर्वको रौनक

दाङ । थारु समुदायमा मौलिक पर्व अटवारीको रौनक सुरुभएको छ । लुम्बिनी प्रदेश सरकारले ३१ गते आइतबारका लागि दाङ, बाँके र वर्दिया जिल्लामा सार्वजनिक विदा दिएको छ ।

थारु पुरुषहरुले मुख्यगरी व्रत बसी मनाइने अटवारी पर्व थारु समुदायको महान पर्व हो । अटवारीको अघिल्लो दिन भिन्सर्या (अघिल्लो मध्यराति) मा दर खाने गरिन्छ । आइतबार दिउँसो रोटी पकाउने गरिन्छ । रोटी पकाउन शुद्ध आगोको प्रयोग गरिन्छ ।

यो आगो नफुकेरै सकेसम्म माघी पर्वसम्म जोगाएर राख्ने चलन रहेको थारु अगुवाहरुको भनाइ छ । आज शनिबार राति दर खाएपछि आइतबार दिनभरी व्रत बस्ने सो समुदायमा परम्परा छ । साँझ अटवारी परिकार खानुअघि आफ्ना दिदीबहिनीका लागि केही भाग निकाल्ने र आगोको पूजा गरिन्छ । अटवारीमा रोटी, केरा, अम्बा, काक्रो, फलफूल, सर्वत र दही खाने गरिन्छ ।

अटवारीको भोलिपल्ट सोमबार बिहान नुहाएर खाना पकाउन सुरु गरिन्छ । खाना तयार भएपछि दाइभाइले दिदीबहिनीका लागि आफनो खानाबाट अग्रासन वा केही भाग छुट्याउँछन् । सोही दिन अथवा सोमबार विवाहित दिदीबहिनीको घरमा अग्रासन दिन जाने परम्परा रहेको छ ।

खासगरी पश्चिम तराईका थारु समुदायले अटवारी पर्व धुमधामका रुपमा मनाउँछन् । पूर्वका थारु समुदायले यसै पर्वलाई रैव पर्वको रुपमा मनाउने गर्छन् । खासगरी सूर्य भगवान र महाभारतका एक मुख्यपात्र भीम (भेवाँ), पाँच पावण्डवको पूजागरी अटवारी पर्व मनाइने गरेको थारु अगुवाहरुको भनाइ छ ।

गोरखापत्रबाट ।

प्रतिक्रिया