गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्‍यो कल सेन्टर

गृह मन्त्रालयले गुनासा सुन्न कल सेन्टर सुरू गरेकाे छ । मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउन ‘हेलो गृह कल सेन्टर’ स्थापना गरेको हाे । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार गुनासो व्यवस्थापन शाखा अन्तर्गत सञ्चालनमा ल्याइएको उक्त कल सेन्टरमार्फत नागरिकले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा गुनासो, उजुरी तथा सुझाव पठाउन सक्नेछन्।

मन्त्रालयले नागरिकको सहज पहुँचका लागि विभिन्न सम्पर्क माध्यम उपलब्ध गराएको छ। सेवाग्राहीले टोल फ्रि नम्बर १११२, इमेल [email protected] तथा मोबाइल नम्बर ९८५१३६०६०३ (ह्वाट्सएप समेत) मार्फत आफ्ना गुनासा तथा सुझाव दर्ता गर्न सक्नेछन्। साथै, क्यूआर कोड स्क्यान गरी पनि गुनासो तथा सुझाव पठाउन सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले नागरिकबाट प्राप्त गुनासो र सुझावलाई व्यवस्थित रूपमा सम्बोधन गर्दै सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया

खबर सबै