आँखा पाक्ने रोग के हो ? बिरामीको आँखामा हेर्दा के रोग सर्छ ?

ई–साझाकुरा,

आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो । दृश्य परिप्रेक्ष गर्ने आँखा नभएको अवस्थामा साँच्चै नै जिन्दगी अन्धकारमय बन्न पुग्छ । यो अन्य अंगहरुको तुलनामा निकै नै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नु पर्दछ । अन्यथा सानो लापरवाहीका कारण पनि आँखामा विभिन्न समस्याहरु देखा परी ज्योती नै गुम्न सक्ने डर पनि उत्तिकै रहन्छ । तसर्थ, हामीले आँखाको स्याहार उचित मात्रामा गर्नुपर्दछ । आँखामा देखिने विभिन्न समस्याहरुमध्ये आँखा पाक्ने समस्या एक प्रमुख समस्या हो । सामान्यतयाः बाह्रैै महिना देखिएता पनि गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ । गर्मीमा बढी ब्याक्टेरिया वा थायोसाइसको असर बढी हुनुका साथै बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो ब्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिन्छ । तर, दैनिक क्रियाकलापमा अलिकति परिवर्तन ल्याइ सजग भएको खण्डमा मात्रै पनि यो समस्याबाट बच्न सकिन्छ । किन पाक्छ आँखा ? अनि यसबाट कसरी बच्न सकिन्छ लगाएतका विषयमा ई–साझाकुराका लागि छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका आखाँ रोग विषेशज्ञ डा. शिलु श्रेष्ठसँग कुराकानीकानी गरेका छौँ ।

आँखा पाक्ने रोग के हो ?
आँखा पाक्ने रोग एक किसिमको सरुवा रोग हो । जसकारण यो एक ब्यक्तिबाट अर्काेमा सर्ने पनि हुन्छ । धेरैजसो यही सिजनमै हुने रोग हो यो । यसलाई हामीले हाम्रो भाषामा कन्जेन्टिभाइटिस भनेर भन्छौँ । कन्जनटाइभा भनेको आँखामा एउटा पारदर्शी झिल्ली हुन्छ आँखामा त्इो सुन्निदाखेरी पाक्यो भने चाँही कन्जेन्टिभाइटिर भनिन्छ । त्यो नै आँखा पाक्ने रोग हो । आफूबाहेकका अन्य ब्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक ब्यक्तिबाट अर्काेमा सर्ने हुन्छ । यस्तै, आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ ।

के अहिले यो रोग प्रकोपको रुपमा फैलिएको हो ?
धेरैजसो यही सिजनमै हुने रोग हो यो । धुलो धुवाँ पनि यहाी सजिनमा बढी हुने भएकाले यो रोग पनि बढी देखिन्छ । कोभिड जस्तो हरेकमा रिर्पाेट चेक गरेर या महामारीको नाम दिएर अधययन गर्ने नभएर महामारी नै भनेर भन्न मिल्दैन तर दैनिक बिरामीको संख्या अस्पतालमा बढीरहँदा यो महामारीकै रुप लिने गरी देखिएको छ । विशेष गरी बढी भिडभाड हुने ठाउँहरु विद्यालय, अस्पताल, आर्मी क्याम्प वा पुलिस क्याम्पमा बढी देखिन सक्छ ।

यो रोग लागेको बेला कस्ता लक्षण देखिन्छन ?
खास गरी यो रोग लागेका बिरामीमा आँखा रातो हुने हुन्छ । आँखा चिलाउने, व्याक्ट्रेरियल हो भने आँखामा च्यापच्याप हुने र भाइरल हो भने घाममा हेर्न गाह्रो हुने र आँखा रातो हुने हुन्छ । आँखा चिलाएजस्तो हुने बिजाए जस्तो हुने हुन्छ ।

बिरामीले आँखा पाकेमा कसरी रोकथाम गर्न सक्छन् ?
यसको उपचार भनेको आफू खुसी औषधि राख्नु भएन । आँखा भनेको हेर्दा सानो अंग भए पनि बढी संवेदनशील र बढी क्षेती हुने अंग हो । त्यसैले ख्याल गर्नु पर्छ । जथाभावि औषधि प्रयोग नगर्ने । आँखा उपचार केन्द्रमा जचाएर मात्रै औषधि हाल्ने गर्नुपर्छ । फार्मेसीमा गएर आँखा बिजायो भनेर औषधि नहाल्ने । आँखाको ननीमा असर गरेको छ वा छैन भनेर बढी ख्याल गर्नुपर्छ । त्यसको लागि त आँखा अस्पताल सम्मै गएर जाँच गराउनु पर्छ । यस बाहेक बच्चालाई भएको छ भने विद्यालय नपठाउने र भिडभाडमा नजाने नै उपयुक्त हुन्छ । आँखा सम्बन्धि केही समस्या परेमा तुरुन्त डाक्टरसँग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्ने गर्नुपर्छ ।

रोग अझै नलागेका मानिसले के गर्ने त ?
त्यस्ता मानिसहरुले बढी भिडभाड हुने ठाउँहरुमा नजाने । आँखामा हातले नछुने । साबुन पानीले राम्रो सँग हात धुने । आँखा छुनै परे कटन गर्ड अथावा टिसु पेपर आदिले आँखाँ पुच्छने गर्नुपर्छ । साबुन पानीले २ वा ३ मिनेट सम्म राम्रो सँग हात धुनु पर्छ । सकेसम्म बिरामीको सम्पर्कबाट बच्ने आँखा सफा राख्ने गर्नुपर्छ ।

आँखामा हेर्देमा यो रोग अरु व्यक्तिमा सर्छकी सर्दैन ?
त्यस्तो होइन । आँखा पाकेको बिरामीको आँखामा हेर्दैमा यो रोग सर्दैन । बिरामीको आँखाबाट निस्कने फोहोर कुनै न कुनै माध्यमबाट अन्य मानिसमा पुग्यो भने मात्रै यो रोग अन्यमा सर्ने हो । यसरी आँखामा हेर्दैमा सर्छ भन्नु गलत हो ।

प्रतिक्रिया