

मंगलबार बाढीको वितण्डा, तराइमा डुबान, पहाडी सडक पहिरोले अबरुद्ध, कहाँ कहाँ के भयो ?


कपिलवस्तु । कपिलवस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार यहाँका धेरै नदि तथा खोलामा जलसतहले खतराको तह नै पार गरेको छ । अधिकाशं तराईका जिल्लामा मानवीय वस्ती क्षेत्र डुबानमा परे भने पहाडी क्षेत्रमा पहिरोका कारण सडक सञ्जाल अबरुद्ध बने ।
कपिलवस्तुको बाणगंगा नदिमा आएको बाढीले नदि तटिय क्षेत्रका जमिन डुबानमा परेका थिए । यस्तै कतिपय स्थानका खेतियोेग्य जमिन समेत नदिले कटान गरेको छ । बाणगंगा खोलमा आएको बाढीले बाणगंगा नगरपालिका क्षेत्रको नदि किनारका बस्ती जलमग्न भएका छन् भने जिल्लाका अन्य क्षेत्रमा समेत बाढीले क्षेती पु¥याएको छ । बाढीका कारण कुनै मानवीय क्षेती भने नभएको बताइएको छ । तर यहाँका डुबान क्षेत्रमा खाद्यान्न, लत्ता कपडा र भाडावर्तनमा क्षेती पुगेपछि स्थानीय पिडित बनेका छन् ।
अबिरल वर्षा पछिको बाढीका कारण बाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ मा गरि करिब १६३ घरहरु डुबानमा परेका नगरपालिकाले जनाएको छ । यहाँका चौरी गाउँ, वैरीगाउँ, शान्ति टोल, पुल्चोक उत्तर र सिसनियामा बाढीले डुबान भएको हो ।
दाङको देउखुरी क्षेत्रमा दर्जन बढी घर डुबानमा
दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेका दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो । यस्तै लमही नगरपालिका–१ सुनडबरी र वडा नम्बर ३ को कान्तिपुरमा चार वटा घर डुबानमा परेका उहाँले बताउनुभयो । सुनडबरीका पनि केही स्थानीयको घरमा पानी पसेपछि उनीहरुलाई स्थानान्त्रण गरिएको छ ।
रातिदेखिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो जाँदा कालाकाँटेदेखि गोबडिया हुँदै गढवा जोड्ने हुलाकी सडक खण्ड बन्द भएको छ । बाढी आई ठाउँठाउँमा हिलो माटो खसेको हुँदा सडक खण्ड बन्द भएको हो ।
यसैबीच दाङको तुलसीपुरबाट घोराही जाँदै गरेको एउटा जीप खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको जीप बगाएको हो । बाढीले बगाएको जीप निकाल्ने प्रयास भइरहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिनुभयो । जीपमा चालकमात्रै रहेका र उनको उद्धार गरिएको प्रहरीले बताएको छ ।
राप्ती नदीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह
भारी वर्षाका कारण बाँकेको राप्ती नदीको माथिल्लो तटीय क्षेत्रको सतह बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मंगलबार एक सूचना जारी गर्दै राप्ती नदीको बहाव एक्कासी बढेर ५.४५ मिटरभन्दा माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, आवतजावत गर्ने, दाउरा संकलन गर्नेजस्ता कार्य नगर्न आग्रह गरेका छन् ।
नदीमा फसेका २ जनाको उद्धार
बुटवलमा नदीमा फसेका २ जनाको उद्धार गरिएको छ । मंगलबार बिहान बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको नगर प्रहरीसहितको टोलीले उद्धार गरेको हो ।
बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक जना पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।
सैनामैनामा डुबानमा परेका परिवारको उद्धार
सैनामैनाको भड्छामा एक घर डुबानमा परेको छ । इङगुरिया खोलामा आएको बाढीले सैनामैना–८ भड्छा का शफ्मुनी थारुको घर डुबानमा परेको हो ।
घरगोठ डुबानमा परेपछि उहाँका परिवारका तीन जना सदस्य र ५ वटा बाख्राचौपायालाई इलाका प्रहरी कार्यालय सालझन्डीबाट खटिएको प्रहरी टोली तथा स्थानीय मिलेर उद्धार गरेको हो । उनीहरूलाई छिमेकी लक्ष्मण गैरेको घरमा अस्थायी रूपमा राखिएको वडाध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिनुभयो ।
पाल्पाको माडी फाँट डुबानमा
अविरल वर्षाले पाल्पाको अन्नभण्डार माडी फाँट डुबानमा परेको छ । पाल्पाका तिनाउ, निस्दी, अरुण, कचल, झुम्सालगायतका खोलामा ठूलो बाढीसमेत आएको छ । सोमबार रातिदेखिको वर्षाले पाल्पाको अन्नभण्डार मानिने माडी फाँट र बाँसटारी क्षेत्रको सयौँ रोपनी खेत डुबानमा परेको स्थानीयले बताए । माडी फाँट क्षेत्रमा अविरल वर्षाका कारण ताल बनेको छ ।
माडी फाँट क्षेत्रमा तानसेन नगरपालिका, बगनासकाली, माथागढी क्षेत्रका २ हजार रोपनीभन्दा बढी धान खेत डुबानमा परेको तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेश कुमार अर्यालले बताए ।
पाल्पाको निस्दी, पूर्वखोलामा यसवर्षकै सबैभन्दा ठूलो बाढी आएको छ । पूर्वखोलाका मोहन ढकालका अनुसार यसवर्षकै सबैभन्दा ठूलो बाढी पूर्वखोला आएको छ । बाढीले खोला तटीय क्षेत्रमा कटान गरेको छ ।
गोरुसिँगे–सन्धिखर्क सडकका ठाउँठाउँमा पहिरो
रातभर परेको अविरल वर्षाका कारण गोरुसिँगे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । घुम्ती, दहखोला, नरपानी, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात ठप्प भएको छ । साना–ठूला गरी ठाउँठाउँमा पहिरो गएको छ । सडक माथिबाट पहिरो धेरै स्थानमा खसेको पहिरोलाई हटाउने कार्य भइरहेको छ ।
गोरुसिँगे–सन्धिखर्क सडक खण्डलाई डबल कटिङको काम भइरहेकाले पानी पर्दा पहिरो खस्ने गर्छ । सडक फराकिलो र स्तरोन्नती कार्यले नयाँ ठाउँबाट पहिरो खस्ने गरेको छ ।
सिद्धार्थ राजमार्ग, पाल्पा–गुल्मी र कालीगण्डकी करिडोरमा पहिरो
अविरल वर्षाले सिद्धार्थ राजमार्ग, पाल्पा–गुल्मी र कालीगण्डकी करिडोर सडकअन्तर्गत पाल्पा खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तिनाउमा पानीको सतह ७ मिटर माथि पुग्यो
बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउमा बिहान ७ः३० बजे पानीको सतह ७ मिटरमाथि पुगेको छ । जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।तिनाउ नदी किनारमा आफ्नो क्षेत्र रहेका बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिकालगायतले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । पाल्पाबाट सुरु भइ चुरेबाट भेल लिएर बग्ने तिनाउ र दानव नदीलाई २ सय ३७ मिटर फराकिलो बहाव क्षेत्र आवश्यक पर्ने विज्ञहरु बताउछन् । तर, बुटवलमा नदीको बहाव क्षेत्र मुस्किलले ५० देखि ७० मिटर मात्रै छ । नदी किनारमा बाक्लो बस्ती बसेकाले नदीमा बाढी आउनासाथ खतरा उत्पन्न हुने गरेको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया