हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम

हथौसा लिटिल स्टार ई. बोर्डिङ स्कुलमा बालबालिकालाई स्वस्थ तथा पोषणयुक्त खानातर्फ अभिप्रेरित गर्ने उद्देश्यले खाना निषेध कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालयले जेठ ३ गतेदेखि सुरु गरेको उक्त कार्यक्रमलाई चरणबद्ध रूपमा निरन्तर सञ्चालन गर्दै आएको हो।

यसै कार्यक्रमअन्तर्गत विद्यालयका विभिन्न तह तथा कक्षामा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूलाई विद्यालयमा उपस्थित गराई जंक फुड, यसको प्रयोगबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असर तथा स्वस्थ खानपानको महत्त्वका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।

उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत द्वय भक्तिराम पाण्डेय र कुल प्रसाद पन्थीले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले जंक फुडले बालबालिकाको स्वास्थ्यमा पार्न सक्ने असर, पोषणयुक्त खानाको महत्त्व तथा बालबालिकामा स्वस्थ खानपानको बानी विकास गराउन अभिभावकको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको थियो।

सोमबार सम्पन्न कार्यक्रममा विशेषगरी प्रि–प्राइमरी तहका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेले आफ्नो मन्तव्य राख्दै बालबालिकाको स्वस्थ जीवनशैली निर्माणका लागि घर तथा विद्यालय दुवैबाट स्वस्थ खानपानको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जंक फुडको प्रयोगलाई निरुत्साहित गर्दै बालबालिकालाई पौष्टिक, सन्तुलित तथा स्वस्थ खाना खाने बानीको विकास गराउन अभिभावक तथा विद्यालयको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।

विद्यालयले विगतका वर्षहरूदेखि नै पत्रु खाना निषेधसम्बन्धी वातावरण तयार गर्दै आएको छ। विद्यालयले तय गरेको नीति तथा नियमलाई विद्यार्थीहरूले समेत पालना गर्दै आएका छन्। यसैको परिणामस्वरूप विद्यालयले पूर्ण रूपमा पत्रु खाना निषेध गर्ने विद्यालयको रूपमा आफ्नो पहिचान स्थापित गर्दै उत्कृष्ट उदाहरण प्रस्तुत गर्न सफल भएको छ।

उक्त कार्यक्रमले विद्यार्थी तथा अभिभावकहरूमा पत्रु खाना निषेध, स्वस्थ खानपान तथा बालबालिकाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

खबर सबै