अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता


भर्तापुर, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–९, भर्तापुरस्थित अमृते सामुदायिक वन उपभोक्ता समूहको १७औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सम्पन्न साधारणसभाले सामुदायिक वनको संरक्षण, दिगो उपयोग, उपभोक्ताको आयआर्जन तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न नीति तथा कार्यक्रम प्रस्ताव गरेको छ। जसलाई साधारणसभाले पारित पनि गरेको छ ।
समूहका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सभामा गत आर्थिक वर्ष २०८२/०८३ को कार्यप्रगति समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम तथा प्रतिवेदन सार्वजनिक गरिएको थियो । कार्यक्रममा सामुदायिक वनलाई केवल काठ–दाउरा उत्पादनको स्रोतका रूपमा नभई वातावरण संरक्षण, जैविक विविधता, रोजगारी, आयआर्जन र सामाजिक विकासको आधारका रूपमा अघि बढाउने विषयमा जोड दिइएको छ।
समूहका सचिव मिना सिंजपतिद्धारा सार्वजनिक संस्थाको वार्षिक प्रगति प्रतिवेदनअनुसार अमृते सामुदायिक वनमा ३१३ घरधुरीका १ हजार ४२७ उपभोक्ता आबद्ध छन्। गत आर्थिक वर्षमा समूहले वन क्षेत्रका विभिन्न प्लटमा सरसफाइ, गोडमेल तथा सुधार कटानका काम सञ्चालन गरेको जनाएको छ भने वन डढेलो नियन्त्रणका लागि फायरलाइन निर्माण देखि जोखिमयुक्त क्षेत्रमा निगरानीलाई प्राथमिकता दिइएको उल्लेख छ।
आगामी आर्थिक वर्षका लागि समूहले गरिब तथा विपन्न उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रम अघि सारेको छ । उपभोक्ताको मागअनुसार सीप विकास तालिम, उद्यमशीलता प्रवद्र्धन तथा आयआर्जनका कार्यक्रम अघि बढाउने नीति लिइएको समुहका अध्यक्ष योगेन्द्र पौडेलले बताए । कृषि तथा वनसँग जोडिएका कार्यक्रमलाई समेत प्राथमिकता दिँदै उन्नत जातका फलफूलका बिरुवा वितरण, बाँस तथा विभिन्न प्रजातिका वृक्षरोपण र पुनरुत्पादन कटान क्षेत्रमा पुनःरोपण गर्ने कार्यक्रम पनि अघि सारिएको उनको भनाइ थियो ।
समुहका कोषाध्यक्ष सिता शर्मा भुसालद्धारा सार्वजनिक वनको आर्थिक प्रतिवेदन अनुसार अमृते सामुदायिक वन उपभोक्ता समुहले गत आर्थिक वर्षमा वन विकास, वन संरक्षण देखि सामुदायिक विकास सम्म बजेट खर्च गरेको छ । यस्तै सामुदायिक वनले आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न योजनागत शिर्षकमा ६ करोड ८६ लाख ६५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय कलिवस्तुका सिनियर डिभिजनल वन अधिकृत प्रभात सापकोटाले सामुदायिक वनहरु सरकारकै एक अंग भएकाले सामुदायिक विकासमा उल्लेख्य योगदान गरेको बताए । उनले अमृते सामुदायिक वनको बजेट र प्रतिवदेन अध्ययन गर्दा प्रति परिवार वार्षिक २ लाख रकमका दरले लगानी भइरहेको देखिएको भन्दै वन नियमावली र वन ऐनको अधिनमा रहि समुहका कार्यहरु पारदर्शी ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनहरुले वडाका योजनासँग विभिन्न योजनामा लागत साझेदारीमा काम गरिरहेको बताए । उनले यहाँको विद्यालय शिक्षालाई पनि अझ गुणस्तरीय र स्तरवृद्धिका लागि पनि वनहरुले योजना बनाउनुपर्नेमा जोड दिए । सबैको सहकार्यबाट विकासले गति लिने उनको भनाइ थियो ।
कार्यक्रममा समाजसेवी नारायण खनालले संस्थागत सुशासनबिना समृद्धि सम्भव नहुने भएकाले यस तर्फ जोड दिनुपर्ने बताए । उनले आपसी सहकार्य र सद्भावको भावना विकास गरी संस्थागत निर्णयबाट योजनाहरु कार्यान्वयन गर्नुपर्ने बताए ।
समुहका सल्लाहकार गोपाल गिरीले उपभोक्ता सदस्यहरुको क्षमता विकास तथा संस्कारयुक्त शिक्षाको खाँचो देखिएकाले यस तर्फ पनि आगामी दिनमा या्ेजना बनाउनुपर्ने आवश्यकतामा जोड दिए । उनले अमृते सामुदायिक वनको स्थापना देखि हाल सम्म आउँदा बजेटको आकार र संस्थागत विकासमा समेत धेरै प्रतिफल प्राप्त भएको भन्दै यसको सहि व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख जितविकास रायमाझी लगाएतले सम्बोधन गरेका थिए ।
अमृते सामुदायिक वन समूहले कार्यक्रममा अमृते सामुदायिक वनले वन संरक्षणसँगै समुदायको सामाजिक विकासमा समेत योगदान पु¥याउँदै आएको जनाएको छ। उपभोक्ताको सिंचाइ सुविधाका लागि करिब १ हजार ८२० मिटर नहर निर्माण गरिएको, विभिन्न स्थानमा खानेपानीको पाइप विस्तार गरिएको तथा वन डढेलो नियन्त्रणका लागि पानीको पहुँच बढाइएको वनले जनाएको छ ।
अमृते सामुदायिक वनले वार्षिक साधारणसभाको अवसरमा भर्तापुर आधरभूत विद्यालय र शुद्धोधन जनजीवन माविमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ भने सामुदायिक वन उपभोक्ता सदस्य परिवारका जेयष्ठ नागरिकहरुलाई नगदसहित सम्मान गरेको छ । यस्तै उत्कृष्ट कृर्षक र एसईई परीक्षामा उत्कष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरको छ ।
सभामा प्रस्तुत प्रस्तावित नीति तथा कार्यक्रममा वन ऐन तथा नियमावली, सामाजिक तथा लैङ्गिक समानता र वित्तीय साक्षरतासम्बन्धी क्षमता अभिवृद्धि तालिम, गरिब तथा विपन्न समुदायका लागि सीपमूलक कार्यक्रम, खानेपानी तथा सरसफाइ, वन डढेलो नियन्त्रण, जैविक विविधता संरक्षण, नदी–खोला कटान नियन्त्रणलगायतका विषयलाई प्राथमिकता दिइएको छ।
सामुदायिक वनका लेखा समिति संयोजक विनोद पुनद्धारा सार्वजनिक लेखा प्रतिवदेन अनुसर वनको आर्थिक प्रणालीलाई अझै प्रभावकारी तरिकाबाट व्यवस्थित गर्न सफ्टवेयर प्रणालिको प्रयोग तथा दोहोरो लेखा प्रणाली प्रयोगमा ल्याउन सुझाव दिइएको छ भने वनको बजेटको आकार बढ्दै जाँदा लेखा कर्मचारीमार्फत आर्थिक प्रणालीलाई चुस्त दुरुस्त बनाउन आग्रह गरिएको छ ।
सामुदायिक वन क्षेत्रभित्रका सिमसार तथा पानीका स्रोत संरक्षण गर्दै पर्यापर्यटन प्रवद्र्धन गर्ने, विभिन्न स्थानमा पोखरी निर्माण गर्ने, वन क्षेत्रमा तारबार तथा अग्निरेखा निर्माण गर्ने र वन अतिक्रमण तथा चोरी–शिकारी नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
सभामा सामुदायिक वनलाई स्थानीय समुदायको आर्थिक, सामाजिक र वातावरणीय समृद्धिको माध्यम बनाउँदै वन संरक्षणमा उपभोक्ताको सहभागिता थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा सचिव मिना सिंजापतिको संचालनसहित वडा नम्बर ९ भित्रका विभिन्न सामुदायिक वन समुहका अध्यक्षहरु, संचारकर्मी, तथा सामाजिक अगुवा, सबडिभिजन वनका कर्मचारी लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै