

युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न राष्ट्र सङ्घकाे आह्वान, नेपालसहित १ सय ४१ देशले पक्षमा मतदान गरे

काठमाण्डौँ
संयुक्त राष्ट्र सङ्घको महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको छ । महासभाले रुसले युक्रेनमाथि गर्दै आएको आक्रमण तत्काल रोक्नुपर्ने प्रस्ताव अत्यधिक मतले पारित गरेको हो । यो प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ देशले मत दिएका छन् । ७ वटा देशले प्रस्तावको विपक्षमा मतदान गरे भने चीन, भारत, इरान, दक्षिण अफ्रिकालगायतका ३२ देश तटस्थ बसेका छन् ।
रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । महासभाले आफ्नो मागलाई पुनः दोहोर्याउँदै रुसले तत्काल पूर्ण र विना सर्त युक्रेनको क्षेत्रबाट आफ्ना सबै सैन्य बल फिर्ता गर्न आह्वान गरेको हो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ ।
‘डिफेन्डर अफ द फादरल्यान्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताउनुभयो । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आउनुभएको छ । रुस–युक्रेनबीच शान्ति स्थापनाका लागि निर्णायक पहल हुन सकेको छैन । दुई देशबीच युद्ध अझै लम्बिने सङ्केत देखिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया