नेकपा एमाले पार्टी विकास र विस्तारका लागि सचीव पद्को उम्मेदवारि घोषणा :- कार्की

विगत ४० बर्ष देखि नेकपा एमालेका विभिन्न संगठनमा आवद्ध रहि पार्टीका हरेक गतिविधिमा सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका विश्व कार्कीले एमाले कपिलवस्तुको सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

वि.स. २०३८ सालको माघमा जनता मा.वि.पिपरामा भएको स्ववियु निर्वाचनमा कक्षा ४ मा अध्ययन गर्दा देखिनै पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुको प्यानलमा मतदान गरि संगठित कार्कीले एमाले कपिलवस्तुको सचिवमा आफ्नो आवश्यक रहेको भन्दै उम्मेद्वारी घोषणा गर्नुभएको हो । यहि पुस २३ र २४ गते हुने पार्टीको जिल्ला अधिवेशनका लागि समग्र अग्रज नेता, युवा वर्ग र पार्टीका शुभचिन्तकहरुको माग बमोजिम सचिव पदमा उम्मेद्वारी दिने निर्णय गरेको कार्कीले बताउनुभयो ।

विशेष गरि पार्टीलाई सांगठनिक रुपमा मजबुत बनाउन, पार्टी हरेक गतिविधिलाई चुस्त दु्रस्त राख्न र राजनीतीमा युवाहरुको पहुँच पुयाई  युवा नेतृत्वको विकास गर्ने संकल्पका साथ आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।

लामो समय देखि राजनीती मार्फत निरन्तर रुपमा समाज सेवा गर्दै आउनुभएका कार्की युवावर्गहरुको रोजाई र लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।

२०३८ सालमा अनेरास्ववियुमा संगठित कार्की २०४२ सालमा अनेरास्ववियुमा क्रियाशिल हुनुभयो त्यस्तै २०४४ सालमा अनेरास्ववियु अर्घाखाँचीमा संगठित भई जिम्मेवारी सम्हाल्नुभएको थियो । २०४६ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा संगठित उहाँ २०४६ सालको भदौ महिनामा गुल्मीमा गिरफ्तार भई ८ दिनमा रिहा हुनुभयो ।

२०४६ सालको जनआन्दोलनमा २०४६ सालको फागुन ८ गते गिरफ्तार पश्चात १ दिन कष्टडिमा बसी फागुन ९ गते जेल चलान भई चैत्र १३ गते रिहा हुनुभयो रिहा पश्चात आन्दोलनमा फेरी सरिक हुंदै सक्रिय राजनिति यात्रालाई अगाडि बढाउनुभएको थियो ।

२०४७ सालमा अनेरास्ववियु कपिलवस्तुको जिल्ला कमिटि सदस्य हुनुभएका उहाँ २०४९ सालको जेठमा अनेरास्ववियु जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षको जिम्मेवारी सम्हाल्न पुग्नुभयो ।

२०५२ सालमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटि सदस्य, २०५४ सालमा सचिव तथा २०५५ सालमा लुम्बिनी अञ्चल कमिटि सदस्य भई सक्रिय राजनितिमा होमिनुभयो ।

त्यस्तै २०५५ सालमै पिपुल्स भोलेन्टीयर्सको कपिलवस्तु जिल्ला प्रमुख हुनुभएका कार्की २०५७ सालमा आएर एमाले जिल्ला कमिटि कपिलवस्तुको निर्वाचनबाट जिल्ला कमिटि सदस्य हुनुभयो ।

२०६४ सालमा युथफोर्स कपिलवस्तुका संस्थापक भई जिम्मेवारी पुरा गर्नुभएका कार्की २०६९ सालको आठौँ जिल्ला अधिवेशनबाट हालसम्म जिल्ला कमिटि सदस्य हुँदै सचिवालय सदस्य रहदै आउनुभएको छ ।

२०७२ सालमा भएको पार्टी एकता भए पछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समेत नगर अध्यक्ष बन्नुभएको थियो ।

राजनितिमा मात्र नभई बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष समेत रहनुभएका कार्कीले जिल्लामा नमुना खानेपानी बनाउन सफल हुनुभएको छ ।

कार्कीले सचिवमा उम्मेद्वारी दिएसंगै जिल्लाका युवावर्गहरु उत्साहित भएका छन् भने सचिव हुने प्रबल सम्भावना रहेको कार्यकताहरु बताउँछन् ।
लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माणमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका कार्कीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न सचिवमा उम्मेद्वारी रहेको बताउनु भयो ।

कार्की पार्टी एकताको समय देखि नै पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीका हार्ड लाईनरको रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया