पाल टाँगेर सीमा सुरक्षा दिँदै सशस्त्र प्रहरी

भदौँ १५ कपिलवस्तु
कोरोना माहामारिका बिचमा पनि कपिलवस्तु अन्र्तगतका नेपाल भारत सीमा क्षेत्रमा प्रहरी तैनाथ छ । कपिलवस्तुका ५२ स्थानमा पाल टाँगेर सीमा सुरक्षामा सशस्त्र प्रहरी बलका जवानहरु खटिएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा कोभिड–१९ को समयमा लकडाउनलाई अझै प्रभावकारी बनाउने उद्देश्यले जिल्लाको सीमावर्ती क्षेत्रमा पाल टाँगेर बनाइएको अस्थायी पोस्टमार्फत सशस्त्रले सुरक्षा दिएको हो।

भारतसँग जोडिएको ९३ किलोमिटर क्षेत्रफलमा सशस्त्र प्रहरीका ७ वटा स्थायी बोर्डर आउट पोस्ट र पाल टाँगेर बनाइएका ५२ अस्थायी पोस्टहरु छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वार्टर कपिलवस्तुका प्रमुख गणपति सशस्त्र प्रहरी उपरीक्षक ध्रुव कार्कीका अनुसार कोभिड–१९ को महामारीको प्रकोप नियन्त्रणमा सशस्त्र प्रहरी २४ सै घण्टा खटिएर काम गरिरहेको छ । उहाँले भन्नु भयो, ‘हाम्रो काम सीमा सुरक्षा हो । हामी अनधिकृत रुपमा कोही पनि सीमा वारपार गर्न नदिने गरी र कुनै पनि किसिमको अवैध क्रियाकलाप सीमा क्षेत्रमा हुन नदिनेगरी ड्युटीमा खटिएका छौं । स्थायी र अस्थायी पोस्टहरु बोर्डर क्षेत्रमै निर्माण गरेर सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरु सीमाको सुरक्षामा खटिएका छन् । नियमित गस्ती चलिरहेको छ।’

कोरोनाको समयमा महामारी फैलिने डरले आम मानिस घरभित्रै बसेर सुरक्षित बसिदिन आग्रह गर्दागर्दै पनि बेलाबेला सीमा इलाकामा जबरजस्ती आवतजावत गर्न खोज्ने व्यक्तिहरुले समस्या सृजना गरेको सीमामा खटिएका सशस्त्र प्रहरी जवानहरुले बताउने गरेका छन् ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन जिल्लामा सशस्त्र प्रहरीको मात्रै करिब एक हजार जनशक्ति परिचालन भएको २८ नम्बर गणले बताएको छ । गणपति एसपी कार्कीले भने, ‘अस्थायी पोस्टहरुमा पर्याप्त पूर्वाधार छैनन्। तथापि हामी जे छ त्यसैमा जसोतसो गरेर सुरक्षा प्रदान गरिरहेका छौं ।’

सीमाको सुरक्षामा खटिएका जवानहरुले कतिपयले हप्तौँसम्म बिजुली र इन्टरनेटको पहुँच भन्दा बाहिर बसेर भए पनि सुरक्षा प्रदान गरिरहेका छन् ।

सीमामा खटिएका सशस्त्र प्रहरीका एक जवानले भने, ‘हाम्रो अस्थायी पोस्ट हो । यहाँ बिजुली पनि छैन । नेट पनि चल्दैन । न हामीसँग पीपीई छ नत फेससिल्ड नै । तर पनि हामी हाम्रो ज्यान भन्दा जनताको ज्यान जोगाउने उद्देश्यले कोरोनाको पर्वाह नगरी निरन्तर ड्युटिमा छौं ।’

गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल २८ नम्बर गणले १ करोड ४९ लाख ५१ हजार रुपैयाँको अवैध चोरी निकासीका सामान बरामद गरी भन्सार चलान गरेको थियो । कोरोना नियन्त्रणको अभियानमा सक्रियतासँगै सशस्त्र प्रहरीले चालू वर्षमा पनि अवैध चोरी निकासीमा कडाइ गरेको छ । चालू वर्षको अहिलेसम्म ८३ लाख ६ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरी थप कारबाहिको लागि भन्सार पठाएको छ ।

सशस्त्र प्रहरीले सीमाको सुरक्षा प्रभावकारी बनाउन सीमापारिको भारतीय एसएसबीसँग पनि संयुक्त गस्ती गर्नेदेखि सीमा सुरक्षा बैठकमा कोभिड १९ नियन्त्रण र सीमामा शान्ति सुरक्षा मजबुत गराउन तथा अवैध कृयाकलाप रोक्न योजनाबद्ध काम गर्नेगरी तयारी समेत गरेको स्थानीय नागरिक अगुवा बताउँछन् ।

स्थानीय पत्रकार सनिउल्लाह धोबीले सीमा क्षेत्रका मुख्य नाकाहरुमा झै भित्री नाकाहरुमा पनि आवतजावतमा कडाई गर्नुपर्ने बताए। उनले भने, ‘पछिल्लो समय जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरीले तुलनात्मक रुपमा विगतमा भन्दा राम्रै काम गरेको छ । तर अझै पर्याप्त देखिँदैन ।’
न्युज सेन्टर नेपालबाट

प्रतिक्रिया