कपिलवस्तुमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु , को हुन् मृतक

ई–साझाकुरा, भदौ ११

कपिलवस्तुमा कोरोना संक्रमित तेस्रो व्यक्तिको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु न.पा. वाड न २ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

कोरोना संक्रमित बिरामी लामो समय देखि उच्च रक्तचाप, मधुमेहको समेत बिरामी रहेको र उहाँको उपचारका क्रममा मृत्यु भएको थापाको भनाई छ । उनको भदौँ पाँच गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका पुर्व कार्यालय सहयोगी समेत रहनुभएका उहाँ हाल भने सिँचाई विकास डिभिजन कार्यालय कार्यालयमा कार्यरत रहनुभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै सिँचाई विकास डिभिजन कार्यालय कपिलवसतुका प्रमुख नेत्र बोहोराका अनुसार मृतक पुरुष साउन २१ गते सम्म मात्रै कार्यालयमा नियमित रहनुभएको र स्वास्थ्यमा अन्य समस्या देखिएपछि घरमै आराम गर्न भनिएको थियो । उहाँमा मृगौलाको समस्या सँगै सुगर तथा उच्च रक्तचापको समेत समस्या रहेको बोहोराले बताउनुभयो । केहि दिन अघि मृगौलाको डायलासिस गर्न अस्पताल गएका बेला उहाँमा कोरोना परिक्षण गरिएको थियो ।

सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । कार्यालयका अन्य कर्मचारीहरु उहाँको सम्पर्कमा भने नरहेको पनि उहाँले जानकारी दिनुभएको छ । यो सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया