सन्दीपको उत्कृष्ट बलिङ, सीपीएलमा जमैकाको दोस्रो जित

ई–साझाकुरा, भदौ १०

नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा गायना अमेजन वारियर्सविरुद्ध बदला लिँदै जित हात पारेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा स्पीनरहरु मुजिव उर रहेमान र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दा जमैकाले गायनालाई ५ विकेटले पराजित गरेको हो । यसअघि जमैका गायनासँँग १४ रनले पराजित भएको थियो । लिगमा दोस्रो जित हात पारेको जमैकाले ४ खेलबाट ४ अंक नै जोडेको छ र चौथो स्थानमा यथावत छ ।

 

५ खेल खेलिसकेको गायनाको पनि २ जितबाट समान ४ अंक रहेपनि रनरेटमा जमैकाभन्दा अघि छ ।

क्वीन्स पार्क ओभरमा भएको खेलमा जमैकाले गायनाले दिएको १०९ रनको लक्षय १८ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । जमैकाका लागि ओपनर ग्यारी फिलप्सले २६ र जर्मेन ब्ल्याकउडले २३ रन बनाए ।

यस्तै एनक्रम बोनेरले ३० र आन्द्रे रसेलले २३ रन योगदान गरे । दुवै खेलाडी अविजित रहे । यी दुईले छैटौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । गायनाका नविल उक हकले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गायनाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १०८ रन मात्र बनाएको थियो । जमैकाका लागि रोस टेलरले सर्वाधिक २३ रन बनाए । नविल उल हक २० रनमा अविजित रहे ।

गायनालाई कम स्कोरमा रोक्न जमैकाका मुजिव उर रहेमानले ४ ओभरमा १ मेडन राख्दै जम्मा ११ रन खर्चेर ३ विकेट लिए ।

यस्तै सन्दीप लामिछानेले ४ ओभरमा १२ रन मात्र खर्चेर १ विकेट लिए । सन्दीपले हालसम्म ४ खेलबाट ४ विकेट लिएका छन्  । उनले यसअघिका ३ खेलमा १–१ विकेट लिएका थिए ।

 

प्रतिक्रिया