आइसोलेसनमा बस्ने कर्मचारीको खर्च बैंकको

श्रावण ३०, २०७७

काठमाडौँ — कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई आइसोलेसनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनमा भनिएको छ, ‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रूपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्ने ।’ पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटलमा सुरक्षित रूपमा क्वारेन्टाइनमा राख्ने र त्यसको पनि सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘कर्मचारीको पीसीआर परीक्षण गराउने र त्यसको सम्पूर्ण खर्च बैंकले बेहोर्ने,’ निर्देशनमा भनिएको छ ।

आइसोलेसनमा रहने कर्मचारीलाई उक्त अवधिमा तलबसहित अतिरिक्त बिदाको व्यवस्था गर्न पनि राष्ट्र बैंकले भनेको छ । क्वारेन्टाइनमा रहने कर्मचारीलाई सो अवधिमा ‘वर्क फर्म होम’ को व्यवस्था गर्न र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि भनिएको छ ।

अत्यावश्यक बैंकिङ सेवा जस्तै– क्लियरिङ, ट्रेजरीलगायत निरन्तर चलाउन ‘कन्टिन्युटी प्लान’ बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । कुनै एक कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भए सो कार्यालय सिल हुन्छ, त्यस्तो अवस्थामा त्यहाँबाट सञ्चालित अत्यावश्यक सेवा नरोकियोस् भन्न ‘कन्टिन्युटी प्लान’ बनाउन निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

कार्यालयमा सामाजिक दूरी कायम गर्न, मास्क, सेनिटाइजरलगायत सुरक्षाका उपाय अपनाउन पनि राष्ट्र बैंकले भनेको छ । आइतबार राष्ट्र बैंकले पनि सूचना जारी गरी कर्मचारीको आलोपालो र सम्भव भएसम्म घरबाटै काम गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने राष्ट्र बैंकले आग्रह गरेको छ ।

आलोपालोमा ५० प्रतिशत कर्मचारीमार्फत वित्तीय सेवा सञ्चालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्थाले बढीमा ५० प्रतिशत कर्मचारी मात्र कार्यालयमा आलोपालो गरी उपस्थित भई काम गर्ने, बाँकी कर्मचारीलाई सुरक्षित भई घरबाटै काम गर्ने व्यवस्था मिलाउने,’ निर्देशनमा भनिएको छ ।

कोभिडको जोखिम उच्च बन्दै गएकाले कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिन भन्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । यसअघि सरकारले गरेको निर्णय कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । ‘यसअघि जारी गरिएका सूचना तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पनि पूर्ण रूपमा पालना गरी सेवा प्रदान गर्न सूचित गरिन्छ,’ निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया