‘हेट स्पिच’ दिने एमाले सांसद थापालाई कांग्रेस प्यूठानको चेतावनी !

प्यूठान | नेकपा एमालेका सांसद सूर्यबहादुर थापालाई गैरअभिव्यक्ति नदेखाउन र दूषित व्यवहार नगर्न प्यूठान नेपाली कांग्रेसले सचेत गराएको छ ।

प्यूठानबाट प्रतिनिधि सभामा निर्वाचित सांसद थापाले गैरअभिव्यक्ति (हेट स्पिच) दिँदै जिल्लाको वातावरण नै दूषित बनाउँदै लगेको भन्दै यस्ता अभिव्यक्ति दिएर समाज नभाँड्न प्यूठान कांग्रेसले चेतावनी दिएको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति विष्णुकुमार गिरीले अलोकतान्त्रिक चरित्र देखाइ गैर अभिव्यक्ति दिने कार्य तत्काल बन्द गरी प्यूठानी जनताको विकाससँग जोडिन र गलत अभिव्यक्ति नदिन गम्भीर ध्यानाकर्षण गराएको हो ।

कांग्रेसले ‘प्यूठान जिल्लाका जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाई भेट्ने र मतदातासँग के बोल्ने हो भन्ने कुरामा तपाईंसँग अनुमति लिनुपर्ने हो ?’ भन्दै प्रश्नसमेत गरेको छ ।

गिरीले विज्ञप्तिमा भनेका छन्, ‘हेक्का रहोस् नेपाली कांग्रेसले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन १०४ वर्षे जहाँनियाँ राणा शासनको अन्त्यको लागि लडाइँ लडेको, विभिन्न कालखण्डमा भएका परिवर्तनको नेतृत्व गरेको र जनताको अभिव्यक्ति स्वतन्त्रताको संघोष गर्ने पहिलो पार्टी कुनै अन्य दलसँग उहाँले भनेजस्तो जुम्ल्याहा नरहेको कुरा इतिहास इमानदारीका साथ पढ्न र सोही बमोजिम अभिव्यक्ति प्रकट गर्न आग्रह गर्दछौँ ।’

केन्द्रमा कांग्रेस र एमाले मिलेर सत्ता सञ्चालन गरिरहेको भए पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र रहे पनि सांसद थापाले हेट स्पिचलाई भने जारी नै राखेका छन् ।

उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका बेलामा सञ्चारकर्मीमाथि पनि हेट स्पिच दिएर हेप्ने गर्दथे ।

प्रतिक्रिया

खबर सबै