क्यानडामा गर्मीका कारण एकसय बढीको मृत्यु

काठमाडौं । क्यानडामा गर्मीका कारण एकसय जनाभन्दा बढीको मृत्यु भएको छ। पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा कीर्तिमानी गर्मी भएको हो।

सिबिसी न्युजका अनुसार गर्मीकै कारण मंगलबारसम्म एकसय जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
ब्रिटिस कोलम्बिया प्रहरीका अनुसार अत्याधिक गर्मी तथा तातो हावा कारक शुक्रबारदेखि ज्यान गुम्नेको संख्या बढेको छ। मृत्यु हुनेमा अधिकांश पाको उमेरका रहेको बताइएको छ।

मंगलबार मात्रै गर्मीका कारण २० जनाको मृत्यु भएको थियो। ‘यस्तो गर्मी कहिल्यै महसुस गरिएको थिएन। दुस्खको कुरा दर्जनौं मानिसहरु गर्मीकै कारण मर्दैछन्। अझैपनि हामी मानिसहरूलाई सुरक्षित राख्न सकेसम्म सबै प्रयास गरिरहेका छौं,’ प्रहरी प्रवक्ता सार्ज्ट स्टीभ एडिसनले एक विज्ञपत्ति जारी गर्दै भने।

मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी तहमा पुगेको थियो। ब्रिटिस कोलम्बियाको लिटनमा मंगलबार अपरान्ह तापक्रम ४९.५ डिग्री सेल्सियस पुगेको थियो।
लेटनमा सोमबार ४७.९ र आइतवार ४६.६ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। यो हप्ताभन्दा पहिले क्यानडाको तापक्रम कहिल्यै पनि ४५ डिग्रीभन्दा माथि पुगेको थिएन।

क्यानाडामा यसअघि सबैभन्दा धेरै तापक्रम सन् १९३७ मा सास्काच्वेन प्रान्तमा ४५ डिग्री सेल्सियस मापन गरिएको थियो। अल्वर्टा प्रान्तको ग्रान्ड प्रेरी क्षेत्रमा ४०.२ र नर्थ वेस्ट टेरिटोरीमा ३८.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

यो क्षेत्रमा मापन भएको हालसम्मकै सबैभन्दा बढी तापक्रम हो। क्यानाडाका मौसमविद्हरुले यो साताको मध्यतिर ब्रिटिश कोलम्बिया, अल्बर्टा, सास्काच्वेन, युकोन र नर्थ वेस्ट टेरिटोरीका कतिपय क्षेत्रमा तापक्रम बढ्नसक्ने भन्दै जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका सचेत रहन आग्रह गरेका छन्।

यसैबीच अमेरिकामा पनि गर्मी निरन्तर बढ्दो क्रममा छ। अमेरिकी शहर पोर्टल्याण्ड र सियाटलको तापक्रम सन् १९४० मा तथ्यांक राख्न थालिए यताकै उच्च पुगेको छ।

पोर्टल्याण्ड ओरेगन र सियाटलको तापक्रम क्रमशः ४६.१ र ४२.२ डिग्री पुगेको छ। सन् १९४० देखि अभिलेख राख्न थालेयता यो नै सबैभन्दा धेरै तापक्रम हो।

अझै केही दिन तापक्रम उच्च रहने भन्दै सचेत रहन आग्रह गरिएको छ। यता, दुबईमा यो साताभरीको तापक्रम ४० देखि ४२ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

प्रतिक्रिया

खबर सबै