

अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास

कपिलवस्तु। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–९, जिनुवास्थित जस्मिन बड्स स्कुल मा विशेष योगाभ्यास कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
“योगः स्वास्थ्य, अनुशासन र सकारात्मक जीवनको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम तथा ध्यानका विधिबारे अभ्यास गराइएको विद्यालयले जनाएको छ। कार्यक्रममा पतञ्जलि योग समिति कपिलवस्तु का योग प्रशिक्षक आत्माराम आचार्य र दिपक कुँवर ले सहजीकरण गर्दै योगको महत्वबारे जानकारी गराउनुभएको थियो।
प्रशिक्षकहरूले नियमित योगाभ्यासले शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक शान्ति, एकाग्रता र सकारात्मक सोचको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। पछिल्लो समय बढ्दो तनाव, अनियमित जीवनशैली र प्रविधिमा अत्यधिक निर्भरताका कारण बालबालिकादेखि वयस्कसम्म विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ्दै गएकाले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन आवश्यक रहेको उहाँहरूको भनाइ थियो।
विद्यालय प्रशासनले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैलीको विकास गराउने उद्देश्यले योग दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको जनाएको छ। विद्यालयका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूलाई अध्ययनसँगै शारीरिक तथा मानसिक रूपमा सशक्त बन्न प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।
हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवस ले योगलाई विश्वव्यापी रूपमा स्वास्थ्य, शान्ति र मानव कल्याणसँग जोड्ने माध्यमका रूपमा स्थापित गर्दै आएको छ। संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१५ देखि औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले स्वस्थ समाज निर्माणमा योगको भूमिकाबारे जनचेतना फैलाउँदै आएको छ।
योगलाई केवल व्यायामका रूपमा नभई शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्ने जीवनशैलीका रूपमा ग्रहण गर्नुपर्ने सन्देशसहित जस्मिन बड्स स्कुलले आयोजना गरेको कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।


खबर सबै
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा









प्रतिक्रिया