कपिलवस्तुमा सवारी दुर्घटना :  एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ दोहनीस्थित पेट्रोल पम्प अगाडि हुलाकी सडक खण्डमा शुक्रबार बिहान भीषण सवारी दुर्घटना भएको छ। तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको रा १ ख १६६८ नम्बरको लहरी गाडीले विपरीत दिशाबाट आउँदै गरेको लु ९४ प ३१८३ नम्बरको १५० सीसी मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।

दुर्घटनापछि अ.प्र.पोष्ट दोहनी कपिलवस्तुबाट प्र.ह. घनश्याम यादवको कमाण्डमा ४ जनाको टोली, व.प्र.का. तौलिहवाबाट प्र.स.नि. मनोज तिवारीको कमाण्डमा ५ जना तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्र.नि. देवेन्द्रराज जोशीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जिल्ला कपिलवस्तु बुद्धभूमि नगरपालिका–९ इमिलिया निवासी अन्दाजी २४ वर्षीय विवेक भुषाललाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा बिहान ११:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

यस्तै मोटरसाइकलमा सवार अर्का अन्दाजी २५–२६ वर्षीय पुरुष गम्भीर घाइते भएका छन्। उनको टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइतेलाई प्रहरी जवान कृष्णबहादुर यादवले तत्काल उपचारका लागि सिटी अस्पताल भैरहवा, रुपन्देही लगेको र उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न लहरी गाडी, चालक जिल्ला सल्यान सिद्धकुमाख गाउँपालिका–३ ढोडचौर निवासी ४० वर्षीय हेमराज कुँवर तथा सहचालक सोही गाउँपालिका–३ कुमाख निवासी २० वर्षीय प्रकाश बस्नेतलाई इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

खबर सबै