मादल बनाएरै जीवन चलाएका कपिलवस्तुका टेक बहादुर गन्धर्व

रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ६ स्थित गणेशपुरमा गन्धर्वहरू समुदायको ठुलो बस्ती रहेको छ। जहाँ झन्डै ७० घरधुरी संख्या रहेको गन्धर्व बस्तीमा चार सय बढी जनसंख्या रहेको छ । तर यही बस्तीमा बिगत दुई दशकदेखि गन्धर्वहरूले आफ्नो जातीय पेशा छोडदै आएका छन् । अर्काेतर्फ यही समुदायका अहिलेका युवा पुस्ताले बैकल्पिक पेसा अपनाउन थालेका कारण पनि गन्धर्व जातिको पुख्र्याैली पेशा लोप हुने खतरामा पनि छ । खासगरी नेपाली संस्कृति र परम्परामा रहेको वाद्ययवादन र त्यसमा प्रयोग हुने बाजाहरुको निर्माणमा यो समुदायका पुराना पुस्ता सक्रिय रहेका भए पनि अहिले भने नयाँ पुस्ता आफ्नो जातीय पुख्र्याैली पेशामा रुचि राख्दैनन ।

यहाँ रहेका ७० घर मध्ये केहीले मात्रै लोक संस्कृतिका रूपमा रहेको मादल र सारङ्गी निर्माण गर्दै आएका छन । जसमध्ये टेक बहादुर गन्धर्वले २०४३ सालदेखि मादल सारङ्गी बनाउने पेसा अपनाए । सञ्चार माध्यमका रूपमा रहेको सारङ्गीको भरमा खासै भविष्य नदेखेपछि उनले यसलाई आधुनिकरण गरि सारङ्गी,मादल,खैजडी लगायतका अतिवाश्यक बाद्ययबादनहरू निर्माण ,मर्मत गरि जीवन धान्दै आएका छन् ।

शुरूवाती चरणमा उनले आफ्नै लगानीबाट यो काम सुरू गरेको सुनाए । २०६३ साल साउन १७ गते चारनम्बर जितपुर स्थित सिद्धार्थ सामाजिक बिकास केन्द्रद्वारा गठित गन्धर्व हित संरक्षण समूहलाई व्यवसायिक आयर्जन अन्तरगत पाँच हजार सहयोग प्रदान गरेको थियो भने तौलिहवा स्थित राइज संस्थाद्वारा सञ्चालित गरिबी निवारण अन्तरगत पन्ध्र हजार सहयोग प्राप्त भएपछि आफुलाई हौसला बढेको महसुस गर्दै यो पेसालाई निरन्तरता दिदै आएको उनले बताए । उमेरले ७२ बर्ष भए पनि उनको जोस जाँगर भने उस्तै उर्जावान छ । यतिबेला तिहार पर्व नजिकिए सँगै मादल बनाउने ,मर्मत गर्ने ब्यस्तता उनमा थपिएको छ । उनका अनुसार अरूबेला भन्दा तिज ,तिहारमा मादलको माग बढी हुने र मादल बिक्रीबाट भएको आम्दानीले घरखर्च धान्दै आएका छन् । टेक बहादुरका अनुसार आजभोलि बिहान उज्यालो भएदेखि बेल्का सम्म मादल बनाउने ,मर्मत गर्ने कामले उनलाई भ्याईनभ्याई छ । यही पेसाबाट उनले एक मात्र छोराको पालनपोषण ,पठनपाठन समेत गराए । अहिले उनका दुई नातिहरूको निजी बिद्यालयको मासिक शुल्क तिर्नुका साथै यसैबाट घरखर्च धान्दै आएका छन् ।

हिन्दुहरूको महान पर्व शुभदीपावली (तिहार)मा देउसी भैलो खेल्नेहरू हरेक बर्ष जसो उनको घरमा मादल किन्न ,मादलमा खरी हाल्न ,छाला बर्ता फेर्न आउने गर्छन् । उनले बनाएको नयाँ मादलको आकार प्रकार अनुसार रू.पाँच हजार देखि पन्ध्र हजार सम्ममा बिक्री हुने गरेको उनले सुनाए । घरमा कपिलवस्तुका विभिन्न पालिका हुँदै छिमेकी जिल्ला अर्घाखाँची ,रूपन्देही ,लगायतका स्थानबाट मादल खरिद गर्न आउने गरेको उनी बताउँछन् । टेकबहादुरको काममा ६८ बर्षिय उनकी श्रीमती सावित्री गन्धर्वले सहयोग गर्छिन् । आफुलाई नयाँ मादल बनाउन नआए पनि श्रीमानको काममा सहयोग गरिरहेको गन्धर्वले सुनाइन् । आफुले खरी बनाउने ,छाला काटने ,खरी भर्ने जस्ता काममा निरन्तर सहयोग गरिरहेको बताइन । टेक बहादुर भन्छन्, कहिलेकाही बुहारी –ठुलो नातीले पनि खरी भर्ने काममा सहयोग गर्दै आएका छन । गन्धर्वले मादल बनाउन खिररो, मौवा, बोकइनो ,खमारी लगायतका काठहरू प्रयोग हुने बताउदै ,बोकइनो, खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव रहेको छ।

प्रतिक्रिया

खबर सबै