

आजदेखि पितृपक्ष (सोह्र श्राद्ध) सुरू, १६ दिनका तिथिमा कसको श्राद्ध गर्ने ?





आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । हिन्दु समाजमा पितृ पूजा एउटा गहिरो धार्मिक र सांस्कृतिक परम्परा हो। प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदादेखि आश्विन कृष्ण औँसीसम्म मनाइने श्राद्ध पर्वलाई सोह्र श्राद्ध भनिन्छ। यसलाई पितृ पक्ष समेत भनिन्छ।
आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भन्ने गरिन्छ । यस अवधिमा दिवङ्गत पितृहरूप्रति श्रद्धा अर्पण गर्ने परम्परा रहेको छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ ।
सोह्र श्राद्धको मूल उद्देश्य दिवङ्गत पितृहरूलाई सम्झनु, उनीहरूको आत्माको शान्ति र तृप्तिको कामना गर्नु तथा तिनीहरूको आशीर्वाद प्राप्त गर्नु हो। हिन्दु धर्म शास्त्र अनुसार शरीरको मृत्यु भए पनि आत्मा अमर रहेको हुँदा श्राद्धमार्फत पितृहरूलाई पिण्ड, जल, तर्पण तथा अर्पण गर्दा उनीहरू तृप्त हुने र सन्तानलाई आयु, आरोग्य, सन्तान, धनधान्य, समृद्धि आदिको आशीर्वाद दिने धार्मिक विश्वास रहेको छ।
शास्त्रीय मान्यतामा आमा–बुबा, पुर्खा, दिदीबहिनी, दाजुभाइ, पत्नी, गुरु-शिष्य लगायत दिवङ्गत आफन्त सबैलाई यस अवधिमा तर्पण, पिण्ड दान र जल अर्पण गर्ने चलन छ । कुशे औँसीदेखि नै पितृ आत्मा घर–आँगन वरपर आइपुगेर सन्तानको श्राद्ध प्रतीक्षा गरिरहेको विश्वास गरिन्छ ।
श्राद्ध गर्ने निश्चित प्रक्रिया र विधि रहेको हुन्छ। श्राद्धका दिन बिहानै स्नान गरेर शुद्ध वस्त्र धारण गरिन्छ। ब्रमहणकाे उपस्थितिमा पूजा स्थलमा कुश, तामाको भाँडो, चामल, तिल, दूध, घ्यू आदि सामग्री तयार पारि सङ्कल्प गरेर पितृहरूको नाम स्मरण गरिन्छ। पितृहरूलाई चामल, तिल, दूध र घ्यू मिसाएर बनाइने पिण्ड अर्पण गर्ने गरिन्छ, जसलाई पिण्ड दान भनिन्छ। पितृहरूको आत्माको तृप्तिका लागि जलमा तिल मिसाएर तर्पण दिने गरिन्छ। श्राद्धपछि ब्राह्मण वा अन्नविहीन गरिबलाई भोजन गराउने र दान दिने चलन रहेको छ।
श्राद्धसँग आस्था र भावनाको गहिरो सम्बन्ध छ। पितृलाई सम्झने यो अवसरले सन्तानलाई आफ्नो मूल, संस्कार र संस्कृतिसँग जोड्छ। यसले परिवारमा कर्तव्य, दायित्व र अनुशासन बोध गराउँछ। श्राद्ध केवल कर्मकाण्ड मात्र नभई पुर्खाप्रतिको कृतज्ञताको अभिव्यक्ति पनि हो।
यसरी हेर्दा, सोह्र श्राद्ध हाम्रो समाजमा अत्यन्तै महत्त्वपूर्ण धार्मिक पर्व हो। यो पर्वले दिवङ्गत आत्माको शान्ति मात्र होइन, जीवित सन्तानलाई पनि नैतिक चेतना, आशीर्वाद र जीवनमा शान्ति दिने विश्वास रहिआएको छ। हरेक वर्ष श्रद्धापूर्वक सोह्र श्राद्ध गर्नु हाम्रो धर्म, संस्कार र कर्तव्य दुवै हो।
कुन तिथिमा कसको श्राद्ध ?
कसको श्राद्ध कुन तिथिमा गर्ने भन्ने कुरा पनि शास्त्रमा स्पष्ट गरिएको छ । कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमीमा श्राद्ध गरिन्छ भने आमा वा स्त्रीहरूको श्राद्ध गर्न आश्विन कृष्ण नवमीलाई अर्थात् मातृ नवमीलाई उत्तम मानिन्छ । परिवारका पुर्खा वा बुबाले संन्यास लिएको अवस्थामा एकादशी वा द्वादशीमा श्राद्ध गर्ने प्रचलन छ । दुर्घटना, डुबान, आगो, विष, जनावरको आक्रमण वा हिंसात्मक कारणले मृत्यु भएकाको चतुर्दशीमा श्राद्ध गर्नुपर्छ । आफ्ना पितृको तिथि थाहा नभए औँसीमा श्राद्ध गर्दा सबै पितृ प्रसन्न हुने विश्वास गरिन्छ ।
श्राद्धका नियम
श्राद्ध गर्ने दिनमा शाकाहारी, सात्त्विक भोजन मात्र ग्रहण गर्नुपर्ने मान्यता छ । मासु, लसुन-प्याज, मुसुरो दाल, बैगुन, लौका, कालो नुन जस्ता तामसी भोजन वर्जित मानिन्छ । श्राद्धको दिन अरूको अन्न नखानु, ब्रस वा मलम प्रयोग नगरी दतिउनले दाँत माझ्नु, स्नान गरेर शुद्ध वेशभूषा अपनाउनु पर्ने शास्त्रीय नियम छ ।
कस्ता अन्न श्राद्धमा प्रयोग नगर्ने ?
महालय श्राद्धमा प्रसाद, पिण्ड आदिका निमित्त पाकेको अन्नको प्रयोग गर्नुपर्दछ । अन्नमा किरा परेको छ, अन्नहरूमा कुकुर तथा कुखुराहरूले दृष्टि दिएको भने ती अन्नहरू प्रयोग नगर्नु भनिएको छ । श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुबिण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लसुन चलाउन हुँदैन।
कस्ता रङका फूलहरू प्रयोग गर्ने
पहेँलो सेतो फुलहरू मात्र चढाउनु पर्दछ । चन्दन चलाउँदा पहेँलो चलाउनु पर्दछ । पहेँलो तथा सेतो चन्दन सत्वगुणको प्रतीक हो । रातो चन्दन चढाउनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतीक हो ।
पिण्ड र अन्नको परम्परा
पिण्डलाई प्रायः चामल, तिल, घ्यू र दूध मिसाएर गोलाकार बनाई पितृहरूको नाम स्मरण गर्दै अर्पण गरिन्छ। पिण्ड गोलो बनाउनुको अर्थ पूर्णता र अनन्तताको प्रतीक हो। पिण्ड अर्पण गर्दा दिवङ्गत आत्मा तृप्त हुने, उनीहरूको कृपा प्राप्त हुने र सन्तानको जीवनमा सुख–समृद्धि बढ्ने विश्वास गरिन्छ। पिण्ड बिना श्राद्ध अपूर्ण मानिन्छ।
गरिब ब्राह्मणलाई भोजन
श्राद्ध कर्ममा पिण्ड दान र तर्पणपछि ब्राह्मणलाई बोलाएर भोजन गराइन्छ। प्रायः अन्न, फलफूल, दूध, घ्यू, मिठा परिकार र सादा शाकाहारी भोजन दिइन्छ। भोजनपश्चात् ब्राह्मणलाई दक्षिणा, वस्त्र वा धान्य दान गर्ने परम्परा छ। पुरानो मान्यताअनुसार ब्राह्मणलाई भोजन गराउँदा त्यसको पुण्य सीधै पितृहरूको आत्मासम्म पुग्छ भन्ने मान्यता रहेको छ।
श्राद्ध गर्न नसकिए कहिले गर्ने ?
व्यक्तिगत वा सामाजिक कारणले समयमा श्राद्ध गर्न नसकिए दीपावलीको औँसी, अथवा मङ्सिर भित्रै वैकल्पिक तिथि रोजेर गर्न सकिने धार्मिक ग्रन्थमा उल्लेख छ । तर पितृलाई प्रसन्न गराउन आश्विन कृष्णपक्षमै श्राद्ध गर्न सर्वोत्तम मानिन्छ ।
शास्त्रअनुसार, महालय श्राद्ध गर्ने सन्तानले आयु, आरोग्य, ऐश्वर्य र मनोरथ प्राप्त गर्ने विश्वास छ । सोह्र श्राद्ध सकिए लगत्तै दुर्गा पक्ष, दसैँ र तिहार जस्ता पर्व आउने भएकाले पहिले पितृको आशीर्वाद लिएर मात्र देव पूजा गर्नुपर्छ भन्ने परम्परा छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया