

रूपन्देहीबाट ३ बालिकालाई भारततर्फ लैजाँदै गर्दा ४ जना पक्राउ

रूपन्देही प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै चार जनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ स्थित कालीदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले गत असार १५ गते दिउँसो साढे ३ बजेतिर कालिदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गर्दा एक जना नेपाली महिला र तीन जना भारतीय गरी चार जनालाई पक्राउ गरिएको बताए।
पक्राउ पर्नेहरूमा रूपन्देहीको गैंडहवा गाउँपालिका ६ बस्ने १९ वर्षीय निर्मला लोधसहित भारत उत्तर प्रदेश गोरखपुर कैम्पियरगंज कुवर बलुवाकी ३८ वर्षीय गीता गौड, १९ वर्षीय नेहा पाण्डे र २६ वर्षीय प्रमोदकुमार धोबी रहेका छन्।
आइतबार पक्राउ परेका चारै जनालाई सोमबार जिल्ला अदालत रूपन्देहीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरिएको कार्कीले जानकारी दिए।
भारत लैजाँदै गरेका तीन जना बालिकाको उद्धार गरी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्दै आएको शुभ अवसर ग्राम नेपालको जिम्मा लगाएको र मंगलबार परिवारको खोजी गरी जिम्मा लगाउने तयारी गरेको जनाएको छ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार उद्धार गरिएका बालिकाहरू १५/१६ वर्ष उमेरका रहेका छन्। बालिकाहरूले आफूहरू पहिलेदेखि नै गैंडहवाकी निर्मला लोध र गोरखपुरकी गीता गौडसँग सम्पर्कमा रहेको र उनीहरूले विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको प्रहरी सामु बयान दिएका छन्।
प्रहरीसँगको बयानमा बालिकाहरूले राम्रा कपडा र मोबाइल किनिदिने, बजार घुमाउने भन्दै आफूहरूलाई प्रलोभन देखाएको र आफूहरू पनि उनीहरूको प्रलोभनको पछि लागेर परिवारलाई जानकारी नदिइ भारत जान तयार भएको बताएका छन्।
एक जना पुरूष र तीन जना महिलाको साथमा तीन जना बालिका कालिदह नाकाबाट भारततर्फ जाँदै गरेको देखेपछि शंका लागेर प्रहरीले सोधिखोजी गर्दा बालिकाहरूले प्रहरीसामु उक्त कुरा बताएका थिए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया