आज नयाँ वर्षको पहिलो दिन, कसरी सुरु भयो विक्रम संवत् ?

विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्।

“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ। चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए।

वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन्। षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो। अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो।

विक्रम संवत् के हो ?
भारतको उज्जैनका पौराणिक राजा विक्रमादित्यले चलाएको संवत्को रूपमा विक्रम संवत्लाई चिनिन्छ । तर, यसलाई पुष्टि पार्ने गरी कुनै तथ्य फेला नभएको हुँदा विक्रम संवत्को बारेमा धेरै रहस्यहरू छन् । केही इतिहास विद्‌हरूले विक्रमादित्यको अस्तित्वको पुष्टि नभएको हुँदा विक्रम संवत् नेपालको मौलिक संवत् भएको तर्क समेत गर्दछन् । अहिले विश्वभरि नै यो संवत्लाई आधिकारिकता दिएको देश नेपाल मात्र हो । अन्य एसियाली राष्ट्र भारत, बङ्गलादेश र श्रीलङ्कामा भने यसलाई सांस्कृतिक क्यालेन्डर रूपमा लिइन्छ । यो संवत् सूर्य मेष राशिमा प्रवेश गरेको दिन अर्थात् वैशाख १ गतेबाट प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ ।

कसरी सुरु भयो विक्रम संवत् ?
कसैले विक्रम संवत्को सुरुवात राणा कालमा चन्द्र शमशेरको पालोमा भएको थियो भन्ने गर्दछन् भने कसैले राणा प्रधानमन्त्री देव शमशेरले आधिकारिकता दिई सरकारी संवत्को औपचारिक मान्यता दिएको तर्क गर्छन् । तर, लिच्छवी, मल्लकाल , सेन वंश अनि पृथ्वी नारायण शाहका शिलालेखहरूमा विक्रम संवत् उल्लेख भएकाले यो कथन झुटो ठहरिन्छ भन्ने मतहरू पनि पाइएको छ । विक्रम संवत् भन्दा अगाडि नेपालमा नेपाल संवत् र शक संवत्को प्रयोग हुने गरेको कथनहरू सुन्न पाइन्छ ।

यो इस्वी संवत् भन्दा कति अगाडि छ ?
विक्रम संवत् अङ्ग्रेजी संवत् अर्थात् “ब्म्” भन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ । त्यसै गरी, यो नेपाल संवत् भन्दा ९ सय ३६ वर्ष ६ महिना अगाडि छ भने शक संवत् भन्दा १३५ वर्ष अगाडि , कली संवत् भन्दा ३०४४ वर्ष पछाडि र हिजरी संवत् भन्दा ६३६ वर्ष अगाडि छ ।

के नेपालमा विक्रम संवत्लाई मात्र नयाँ वर्षको रूपमा मनाइन्छ ?
हैन, नेपालमा विक्रम संवत् बाहेक जनवरी १ मा अङ्ग्रेजी नव वर्ष, नेपाल संवत्को नयाँ वर्ष, किराँत तथा थारु समुदायले माघ १ गते मनाउने नयाँ वर्ष र गुरुङ, शेर्पा लगायतका हिमाली र पहाडी समुदायका मानिसहरूले आफ्नो छुट्टै नयाँ वर्ष (ल्होसार) उत्तिकै हर्ष र उत्साहका साथ मनाउँदछन् ।

विक्रम संवत्लाई चन्द्र मास किन भनिन्छ ?
विक्रम संवत्का समग्र तिथि मितिहरू पृथ्वी र चन्द्र बिचको कोण अनि अवस्थितिमा फरक पर्दछन्, त्यसैले यसलाई चन्द्र मास भनिएको हो।

चन्द्र मासमा समयलाई कसरी मापन गरिन्छ ?
चन्द्रमा र सूर्यबिचको देशान्तर कोणको १२ डिग्रीको वृद्धि हुने समय मापलाई तिथि भनिन्छ, सामान्यतया एउटा तिथि १९ देखि २६ घण्टासम्मको हुन्छ । पक्ष भन्नाले १५ वटा तिथिहरू हुन् र “कृष्ण र शुक्ल” पक्ष गरी दुई वटा पक्षहरू हुन्छन् । दुई वटा पक्षहरू मिलेर लगभग २९ दशमलव ५ तिथिको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछि कृष्ण पक्षको अँध्यारो निस्पट्ट समयसम्मको पक्ष एक मास हो । २ मासको एक ऋतु हुन्छ, ३ ऋतुको एक आयना हुन्छ अनि एक वर्ष भनेको २ आयना हो ।

नयाँ वर्षको दिन पर्ने अन्य विशेष पर्वहरू के के हुन् ?
नयाँ वर्षको दिन भक्तपुरमा बिस्कास् जात्रा, तराईमा सिरुवा पर्व, जुडशीतल, ठिमीमा जिब्रो छेड्ने जात्रा, सिन्दूर जात्राहरू पर्दछन् ।

प्रतिक्रिया