बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी

चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजारक्षेत्रमा अकल्पनीय क्षति गरेको छ।

बाढी यति ठूलो थियो कि शताब्दीऔँदेखिका बजार क्षेत्र र सडक, पुलसहितका संरचना ध्वस्त भएका छन् । बाढीले नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि मंगलबार राति दिइएको पूर्वसूचना र त्यसअनुसारको सरकारी तयारीमाथि प्रश्न उठेको छ।

बाढी पूर्वानुमान महाशाखाले बेत्रावती बजारको नामै लिएर बाढीको जोखिमबारे मंगलबार राति सवा ९ बजे पूर्वसूचना जारी गरेको थियो । तर त्यसलाई गम्भीरतापूर्वक लिएर प्रभावकारी पूर्वतयारी हुन नसकेको देखिएको छ।

महाशाखाले मंगलबार राति ९:२० बजे जारी गरेको सूचनामा फलाखु खोला, बेत्रावती, नुवाकोट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो।

महाशाखाले त्यसपछि भदौ १० गते बिहान पनि रसुवा र नुवाकोटसहित देशका विभिन्न जिल्लामा बाढी तथा आकस्मिक बाढीको जोखिम रहेको भन्दै चेतावनी जारी गरेको थियो

महाशाखाको सूचनामा पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, सल्यान, कालीकोट, बाजुरा, बझाङ, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको उल्लेख थियो।

त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ र तनहुँलगायतका जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको थियो।

यद्यपि, चीनको तिब्बत क्षेत्रबाट नेपालतर्फ आउन सक्ने बाढीको सम्भावनाबारे भने उक्त सूचनामा स्पष्ट रूपमा उल्लेख गरिएको थिएन। तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङ हुँदै बेत्रावतीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीपछि महाशाखाले बुधबार बिहान ११:५० बजे ‘हाई अलर्ट’ जारी गर्दै रसुवा भोटेकोसीमा आएको बाढी मलेखु बजार आसपास पुगिसकेको र करिब आधा घण्टामा मुग्लिन पार हुने क्रममा रहेको जनाएको थियो।

महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणघाटलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।

पूर्वसूचना प्रणालीले जोखिमबारे जानकारी गराइसकेको अवस्थामा पनि जोखिममा रहेका बस्ती र बजार क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न नसकेको भन्दै सरकारी संयन्त्रको पूर्वतयारी र विपद् व्यवस्थापनमाथि प्रश्न उठेको छ।

अब बाढी आउनुअघि जारी भएका पूर्वसूचनाका आधारमा सम्बन्धित निकायले के-कस्तो तयारी गरेका थिए र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न किन सकिएन भन्ने विषयमा समेत छानबिन आवश्यक देखिएको छ।

प्रतिक्रिया

खबर सबै