रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन

रसुवा तथा नुवाकोट जिल्लामा आएको भीषण बाढी तथा पहिरोका कारण कामको सिलसिलामा त्यहाँ पुगेका दाङका १० जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय दाङले उनीहरूको हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाउँदै खोजी तथा उद्धारका लागि सम्बन्धित सबैमा अनुरोध गरेको छ।

दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार सम्पर्कविहीन हुनेमा तुलसीपुर उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानका नागरिक रहेका छन् । उनीहरू रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना तथा स्वास्थ्य संस्थामा कार्यरत थिए।

सम्पर्कविहीन हुनेमा तुलसीपुर उपमहानगरपालिका निवासी कोपिला के.सी. र खम्बु बोहोरा रहेका छन्। दुवै जना रसुवाको स्यार्पुबेसी स्वास्थ्य चौकीमा कार्यरत रहेको जनाइएको छ । यस्तै, तुलसीपुरका शिव शङ्कर जोशी मैलुङ हाइड्रो पावरमा कार्यरत रहेको र सल्यान घर भई हाल तुलसीपुर उपमहानगरपालिका-९ बस्दै आएकी प्रमिला बुढाथोकी टिमुरे हाइड्रो पावरमा कार्यरत रहेको प्रशासनले जनाएको छ।

त्यसैगरी तुलसीपुरका शोभाराम योगी, तुलसीपुर-१३ डाँडागाउँ/दमारगाउँका लालबहादुर रोका, गोपीलाल रोका र नारायण अधिकारी नुवाकोटस्थित फेवा हाइड्रो पावरको सुरुङमा कार्यरत रहेको बताइएको छ । रोल्पा घर भई हाल तुलसीपुर-६ बस्दै आएका ध्रुवबहादुर बुढामगर ठेक्कापट्टा तथा कामको सिलसिलामा रसुवा/नुवाकोट पुगेका थिए ।

तुलसीपुर उपमहानगरपालिका-१९, दोघरेका ४६ वर्षीय पूर्णबहादुर बस्नेत पनि रसुवामा रहेको अवस्थामा सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै जानकारी वा सम्पर्क प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय, स्थानीय तह, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र वा सम्बन्धित निकायमा जानकारी गराई खोजी तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

खबर सबै