आज १ सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस : कसरी सुरु भयो दिवस मनाउन ?

आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस। ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।

नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस के हो ?


तपाईँ ले मिडियामा अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा सुन्नु भएको होला । वा तपाईँका साथीहरूले यसको बारेमा कुरा गरेको सुनेको हुनुपर्छ ।
तर यो दिन किन मनाइन्छ ? कहिले मनाइन्छ ? के यो उत्सव हो ? वा यो विरोधको प्रतीक हो ? के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि महिला दिवस जस्तै मनाइन्छ ?
एक शताब्दीभन्दा बढी समयदेखि, संसारभरका मानिसहरूले मार्च ८ लाई महिलाहरूको लागि विशेष दिनको रूपमा मनाउँदै आएका छन् । यसको कहानी के हो भन्नेबारे जान्ने कोसिस गरौँ ।

अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कसरी सुरु भयो ?

सन् १९१० मा, क्लारा जेटकिन नामकी एक महिलाले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालिन् ।

अन्तर्राष्ट्रिय महिला दिवस, वा महिला दिवस, श्रमिक आन्दोलनबाट उत्पत्ति भएको हो, जुन पछि संयुक्त राष्ट्र सङ्घले वार्षिक उत्सवको रूपमा मान्यता दिएको थियो ।

यस दिनलाई विशेष बनाउन ११५ वर्षअघि अर्थात सन् १९०८ मा न्युयोर्क सहरमा करिब १५ हजार महिलाले परेड निकाल्दा सुरु भएको थियो । महिलाको कामको समय घटाउनुपर्ने उनीहरूको माग थियो । तलब राम्रो हुनुपर्छ र महिलाले पनि मतदानको अधिकार पाउनुपर्छ ।

एक वर्ष पछि, अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गर्‍यो । यसलाई अन्तर्राष्ट्रिय बनाउने विचार सर्वप्रथम क्लारा जेटकिन नामकी महिलाको दिमागमा आएको थियो ।

क्लारा वामपन्थी कार्यकर्ता थिइन् । उनी महिला अधिकारका लागि आवाज उठाउने गर्थिन् । उनले सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा भएको श्रमिक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुझाव दिएकी थिइन् ।

उक्त सम्मेलनमा १७ देशका १०० महिला सहभागी थिए र उनीहरूले क्लाराको सुझावलाई सर्वसम्मतिले स्वीकार गरे । पहिलो अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा मनाइयो । यसको शताब्दी उत्सव सन् २०११ मा मनाइएको थियो । प्राविधिक रूपमा यस वर्ष हामी ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छौँ ।

सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले पनि यसलाई मनाउन थालेपछि अन्तर्राष्ट्रिय महिला दिवसलाई औपचारिक रूपमा मान्यता दिइएको थियो । संयुक्त राष्ट्रले यसका लागि पहिलो थिम सन् १९९६ मा छानेको थियो जसको नाम ‘सेलिब्रिटिङ द पास्ट र प्लानिङ द फ्युचर’ थियो ।

आज अन्तर्राष्ट्रिय महिला दिवस समाज, राजनीति र आर्थिक क्षेत्रमा महिलाको प्रगतिलाई मनाउने दिन बनेको छ । जबकि यसको पछाडिको राजनीतिक जरा महिला र पुरुष बीचको असमानताको बारेमा चेतना फैलाउनु हो, जुन अझै पनि जारी छ, हडताल र विरोधहरू आयोजना गरेर ।

८ मार्च नै किन ?

क्लारा जेटकिनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिइन्, उनको दिमागमा कुनै खास मिति थिएन ।

सन् १९१७ मा रुसका महिलाहरूले ‘रोटी र शान्ति’ को माग गर्दै जारको शासनविरुद्ध हडताल गरेपछि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय भएको थियो । यसपछि जार निकोलस द्वितीयले आफ्नो सिंहासन छोड्नुपर्‍यो ।

त्यसपछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दिएको थियो ।

यस दिन किन लगाउँछन् बैजनी रङको लुगा ?

अन्तर्राष्ट्रिय महिला दिवस प्रायः बैजनी रङले चिनिन्छ किनभने यसलाई ‘न्याय र सम्मान’ को प्रतीक मानिन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवस वेबसाइटका अनुसार बैजनी, हरियो र सेतो अन्तर्राष्ट्रिय महिला दिवसका रङ हुन् ।

वेबसाइटमा भनिएको छ, ‘बैजनी रंग न्याय र सम्मानको प्रतीक हो । हरियो रङले आशा जगाउँछ भने सेतो रङले शुद्धतालाई जनाउँछ ।’

यद्यपि, यस रङसँग सम्बन्धित परिकल्पनाको सन्दर्भमा पनि विवाद छ । महिला अधिकारकर्मीहरू भन्छन्, ‘महिला दिवससँग सम्बन्धित यी रङहरू सन् १९०८ मा बेलायतमा महिला सामाजिक तथा राजनीतिक सङ्घ (डब्लुएसपीयू) बाट सुरु भएको हो ।’

के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ ?

छ । एक अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ जुन १९ नोभेम्बरमा मनाइन्छ ।

तर, यो मनाउने चलन धेरै पुरानो भने होइन । सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउन थालिए पनि यसलाई संयुक्त राष्ट्र सङ्घले मान्यता दिन सकेको छैन । बेलायतलगायत विश्वका ८० भन्दा बढी देशका मानिसहरूले अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउँछन् ।

अन्तर्राष्ट्रिय पुरुष दिवसका आयोजकहरूका अनुसार यो दिन ‘पुरुषहरूले आफ्नो परिवार र समुदायमा विश्वमा योगदान पुर्याजउने सकारात्मक मूल्यको योगदान’ को उत्सवको रूपमा मनाइने गर्छ र यसको उद्देश्य पुरुषको पोजेटिभ रोल मोडलबारे विश्वलाई बताउनु, पुरुषको उत्थानका लागि जागरूकता फैलाउनुका सागै महिला र पुरुषबीच आपसी सम्बन्ध सुधार्नु हो ।

कसरी मनाइन्छ नारी दिवस ?

धेरै देशहरूमा, अन्तर्राष्ट्रिय महिला दिवसमा राष्ट्रिय बिदा हुन्छ । यी देशमा रुस पनि समावेश छ जहाँ ८ मार्चको आसपास तीन चार दिनमा फूलको बिक्री दोब्बर हुने गर्छ ।

चीनमा, राष्ट्रिय परिषद्को सुझावमा, धेरै महिलाहरूलाई मार्च ८ मा आधा दिन बिदा दिइन्छ ।

इटालीमा मार्च ८ मा महिलालाई मिमोसा फूल दिएर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यो प्रचलन कहिलेबाट सुरु भएको हो थाहा छैन । तर, यो दोस्रो विश्वयुद्धपछि रोमबाट सुरु भएको मानिन्छ ।

अमेरिकामा मार्च महिना महिलाको मिति हो । प्रत्येक वर्ष राष्ट्रपतिद्वारा एक घोषणा जारी गरिन्छ, जसमा अमेरिकी महिलाहरूको उपलब्धिहरू वर्णन गरिन्छ ।

महिला दिवस किन आवश्यक छ ?

पछिल्ल वर्षमा अफगानिस्तान, इरान, युक्रेन र अमेरिकाजस्ता धेरै देशहरूमा महिलाहरूले आफ्ना देशहरूमा युद्ध, हिंसा र नीतिगत परिवर्तनको बीच आफ्नो अधिकारको लडाइँ लडिरहेका छन् ।

अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि मानवअधिकारको क्षेत्रमा प्रगति रोकिएको छ । किनभने महिला र किशोरीहरूलाई उच्च शिक्षा लिनबाट वञ्चित गरिएको छ ।

उनीहरूलाई घरबाहिर धेरै काम गर्न र पुरुष अभिभावकविना लामो दूरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

तालिबानले महिलाहरूलाई घर बाहिर वा अन्य व्यक्तिको अगाडि आफ्नो पूरै अनुहार छोप्न आदेश दिएको छ ।

यस्तै, इरानमा २२ वर्षकी महसा अमिनी नामकी महिलाको मृत्युपछि विरोध प्रदर्शन भड्किएको थियो । महसालाई १३ सेप्टेम्बर २०२२ को इरानको मोरालिटी प्रहरीले गिरफ्तार गरेको थियो । उनीमाथि सार्वजनिक स्थानमा महिलाले आफ्नो कपाल सलले ढाक्नुपर्ने कडा नियम तोडेको आरोप थियो ।

यस्तै २४ जून २०२२ मा अमेरिकाको सर्वोच्च अदालतले रो भर्सेड वेडको एक ऐतिहासिक कानुनलाई उल्ट्याइदियो । यो कानुन अन्तर्गत अमेरिकी महिलालाई गर्भपतनको अधिकार हासिल थियो ।

सर्वोच्च अदालतको निर्णय पछि अमेरिकामा यस विरुद्ध व्यापक आवाज उठ्यो र विरोध प्रदर्शन भए । धेरैजसो अमेरिकी महिला, गर्भपतनका लागि मेक्सिको जाने विकल्प छानिरहेका छन् किनभने सन् २०२१ मा एक ऐतिहासिक निर्णयपछि मेक्सिकोमा गर्भपतनलाई मान्यता दिइएको थियो ।

तर, पछिल्ला केही वर्षयता महिलाको अवस्थामा पनि सुधार आएको छ । दस वर्षको सङ्घर्ष पछि, नोभेम्बर २०२२ मा, युरोपेली संसद्ले एक कानुन पारित गर्‍यो । यसले २०२६ सम्ममा सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनीहरूको बोर्डमा महिलाहरूको ठुलो प्रतिनिधित्व सुनिश्चित गर्नेछ ।

युरोपेली युनियनले भन्यो, ‘त्यहाँ धेरै महिलाहरू छन् जो शीर्ष पदहरूमा बस्न योग्य छन् र हाम्रो नयाँ युरोपेली कानुनले हामी यी महिलाहरूलाई ती पदहरूमा पुग्ने वास्तविक अवसर सुनिश्चित गर्नेछौँ ।’

यसैबीच, अर्मेनिया र कोलम्बियामा पितृत्व बिदा सम्बन्धी कानुन पनि परिवर्तन गरिएको छ । योसँगै स्पेनले महिनावारीमा स्वास्थ्य बिदा दिने र गर्भपतनको सुविधा बढाउन कानुन पारित गरेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सन् २०२२ को बेइजिङमा हुने शीतकालीन ओलम्पिक खेलकुद सबैभन्दा लैङ्गिक सन्तुलित भएको जनाएको छ ।

यी खेलहरूमा सहभागी कुल खेलाडीमध्ये ४५ प्रतिशत महिला खेलाडी थिए । तर पनि महिला र पुरुषबीच लैङ्गिक समानता पूर्णरुपमा प्राप्त हुन सकेको छैन । तर, महिला खेलकुदको सन्तुलित प्रतिवेदनलाई नयाँ दिशानिर्देशका माध्यमबाट प्रोत्साहित गरिएको छ ।

सन् २०२३ को महिला फुटबल विश्वकपको विस्तार गरिएको छ । अहिले यसमा ३६ टोली सहभागी छन् । यो खेलअघि अमेरिकी फुटबल महासङ्घले ऐतिहासिक सम्झौता गरेको छ ।

यसअन्तर्गत महिला र पुरुष टोलीलाई समान पारिश्रमिक दिइनेछ । कुनै पनि खेलमा महिला र पुरुषले समान पैसा पाउने यो पहिलो पटक हो । समान पारिश्रमिकको माग गर्दै महिला खेलाडीहरूले धेरै मुद्दा दायर गरेका थिए । उनीहरू पाँच वर्षभन्दा बढी समयदेखि आफ्नो अधिकारका लागि लड्दै आएका थिए ।

बीबीसी

प्रतिक्रिया

खबर सबै