अझै पनि विस्तापित भएन गुइँठा !


राजेन्द्र खनाल, कपिलवस्तु | कपिलवस्तुको मायादेवी गाउँपालिका ३ की निर्मला यादव सडक किनारमा थुपारिएको गोबरसँग व्यस्थ थिइन् । उनले सडक किनारमा थुपारिएको गोबरमा केही भुसा मिसाउँदै पानि लगाएर केही आकार बनाउँदै गर्छिन् । यादव जस्तै कपिलवस्तुको दक्षिणी भेगका अधिकाशं महिलाहरुको नियमित कम मध्ये एउटा यो पनि हो, गोबरबाट गुइठा बनाउने काम ।
कपिलवस्तुको दक्षिणी क्षेत्रमा खाना पकाउनका लागि गुइँठाको प्रयोग बढी हुने गर्दछ । गुइँठाको प्रयोगले खाना पकाउनुका साथै जाडोमा आगो ताप्न सहयोग पुग्ने स्थानीय बताउँछन्। गोबर सुकाएर गुइँठा बनाएपछि दाउराका रूपमा प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ ।
यस क्षेत्रका अन्य गृहिणीको दिनचर्या पनि गोठबाट गोबर सङ्कलन गरेर गुइँठा बनाउन बित्ने गरेको छ। यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको दिनचर्या गोबर सङ्कलन गर्ने र गोबरमा भुस तथा पराल राखेर त्यसलाई सुकाएपछि गुइँठा तयार पार्नमा बित्ने गरेको देखिन्छ ।
दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनु आफ्नो बाध्यता भएको स्थानीय बताउँछन् । सुक्खायाममा गुइँठा बनाउने र हिउँदमा त्यसलाई जोहो गरी राखेर दाउराका रूपमा प्रयोग गर्ने गरेको उनीहरुको भनाइ छ ।
प्राङ्गारिक मलका रूपमा प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्न थालेपछि गोबर मल यो समुदायका स्थानीयलाई समस्या पनि हुने गरेको छ । जसका कारण उनीहरु कृषिबालीका लागि रासायनिक मलको मात्रै भर पर्नुपर्ने बाध्यता छ ।
अर्काेतर्फ स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक छ।
उता राष्ट्रिय जनगणना, २०७८ अनुसार कपिलवस्तुका अधिकाशं परिवारले दैनिक खना पकाउन दाउरा र गुइठाको प्रयोग गर्ने गरेको देखिन्छ ।
पछिल्ला वर्षहरुमा सिलिण्डर ग्यास र विद्युतीय चुलोको प्रयोगमा बढी जोड दिने गरिएको भए पनि राष्ट्रिय जनगणना तत्थ्याङ्मा भने कपिलवस्तुमा दाउराकै भर पर्ने परिवारको संख्या ठूलो छ ।
अक्सर (मुख्य रुपमा) खाना पकाउन प्रयोग गरिने इन्धनको रुपमा कपिलबस्तुमा काठ÷दाउराको प्रयोगको दर धेरै देखिएको हो । यहाँ दाउरालाई इन्धनको रुपमा प्रयोग गर्ने जनसंख्या ६२ हजार ५५६ जना छन् । यस्तै एल.पी.ग्याँसको प्रयोग गर्ने संख्या ४६ हजार १२२ जना छन् भने कपिलवस्तुमा बिजुलीको प्रयोगबाट खाना पकाउनेको संख्या जम्मा ८६५ जना छन् ।
अझ कपिलवस्तुमा गोबर गुइठालाई इन्धनको रुपमा प्रयोग गर्नेको संख्या पनि ठूलो छ । अझै पनि कपिलवस्तुमा १० हजार ६२ परिवारले गुइठाको प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणनामा समेटिएको छ । यस बाहेक बायोग्याँस २ हजार ३४ जना, मट्टितेल ३० जना र अन्य १९२ जनाले खाना पकाउन इन्धनको रुपमा प्रयोग गर्ने गरेका छन् । जिल्लामा अक्सर बिजुलीको प्रयोग गर्ने जनसंख्या १ लाख १५ हजार ७४३ रहेका छन् ।
जिल्लाको दक्षिणी भेगका भान्सामा प्रयोग गरिने गुइठालाई विस्थापित गर्ने उद्देश्यले बायोग्याससहित भकारो सुधार कार्यक्रम, इन्डक्सन चुलो लगाएतका कार्यक्रम सञ्चालनमा ल्याइएको भए पनि सामान्य परिवारमा यो कार्यक्रमले अझै छुन सकेको छैन ।

प्रतिक्रिया

खबर सबै