कपिलवस्तु महोत्सव : प्रदर्शनीका नाममा हाटबजार, उपलब्धि बिना हरेक वर्ष किन ?

साझाकुरा, कपिलवस्तु । अहिले कपिलवस्तु जिल्लाभर मेला महोत्सव आयोजनाको तयारी र चर्चा ठुलो चलिरहेको छ । सामाजिक सञ्जाल देखि विभिन्न क्षेत्रमा यीनै मेला महोत्सवबारे चर्चा पनि भइरहेको बजारमा सुनिन्छ । आयोजना हुने भएपछि त्यो स्वभाविक पनि हो ।
सर्व प्रथमतः महोत्सव शब्दको व्युत्पत्ति र यसको अर्थ के हो ? महा+उत्सव शब्दको सन्धि भई महोत्सव शब्द निर्माण भएको हो । यसको अर्थ ठुलो उत्सव वा सजधजका साथ गरिने उत्सव भन्ने बुझिन्छ । उत्सव मनाउनु भन्नु नै खुशीयाली मनाउनु अथवा हर्षउल्लास वातावरणमा रमाउनु भन्ने नै हो । कुनै विशेष उपलब्धि प्राप्त भएपछि विशेष अवसरमा महोत्सव गर्नु स्वभाविक कुरा हो । यसलाई अन्यथा पनि लिन सकिदैन । तर बिना प्रसङ्ग, बिना उपलब्धि हरेक वर्ष महोत्सवका नाममा प्रवेश शुल्क लिएर व्यापार गर्ने परिपाटीलाई महोत्सव भन्दा हाटबजार भन्दा स्वभाविक देखिन्छ ।

जिल्ला वा जिल्ला अन्तरगतका महोत्सव हुने क्षेत्रमा कुनै विशेष उपलब्धि भयो भन्ने अनुभूति जनमानसमा भयो भने लौ त अब यस उपलब्धिको उपलक्ष्यमा महोत्सव गरौं भनी कार्यक्रम तय गरिन्छ । उत्सव मेला पर्वसंग ऐतिहासिकता, उपादेयता, जनताको स्वीकार्यता, मौलिकता, तीव्रता, गहनता, अर्थपूर्णता र सचेतता जोडिएको हुन्छ । यी कुनै कारण विनाको महोत्सव स्वीकार्न लगाउनु भनेको आधुनिक युगको रुढिवादको सुरुवाती विन्दुको प्रारम्भ गर्नु हो । महोत्सवको गरिमा गौरव अत्यन्त गह्रौं र महंगो हुन्छ । यो बहु आयमिक विषय बस्तुसंग सम्बन्धित हुन्छ र विशेष उपलब्धि प्राप्ती पछि विशेष अवसर पारेर यस्ता महोत्सव सञ्चालन गरिने हुन्छ । महोत्सवलाई फेसनको रुपमा अत्यन्त सस्तो हुने गरी अवमुल्यन गरिनु हुंदैन भन्ने विचार यतिबेला कपिलवस्तुमा बलियो बन्दै गएको पाइएको छ ।

सन्दर्भ कपिलवस्तु महोत्सवको : पछिल्लो एक दशक यता बाणगंगामा आयोजना हुँदै आएको कपिलवस्तु महोत्सव यस पटक पन्ध्रौ संस्करण आयोजना तयारी थालिएको छ । यसबाहेक जिल्लाका अन्य क्षेत्रहरु बुद्धभुमि, शिवराज, शुद्धोधन लगाएतका स्थानमा पनि यी र यस्तै मेला महोत्सव नाम दिएर बजार चलाउने तयारी पनि छ, तर विगतमा जस्तो यस पटक नागरिक स्तरमा यसको आकर्षण कमजोर देखिदो छ । महोत्सव आयोजक संस्थाहरुको एकै परिधिको कार्यक्रम तथा नविन सोँचको कमी मुख्य कारण देखिएको छ ।
कपिलवस्तु, जो ऐतिहासिक र सांस्कृतिक धरोहरका लागि परिचित छ, १५ वर्षदेखि आयोजित हुँदै आएको महोत्सवले सुरुवाती चरणदेखि अबलम्बन गरेका अभ्यास र क्रियाकलामा थप परिस्कृत र नविन अभ्यास नहुँदा एउटै कुराको अवलोकन दिक्कलाग्दो हुने नागरिकहरुको भनाइ छ ।
महोत्सव केवल व्यवसायिक र सिमित स्वार्थमा केन्द्रित हुँदा पछिल्ला वर्षका महोत्सवमा नागरिकहरु त्यति रुचि देखउँदैनन् । कपिलवस्तुको बाणगंगा स्थित बुद्ध रंगशालामा विगत १५ वर्षदेखि आलो पालो गरि कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वेयलफेर सोसाइटीले महोत्सव आयोजना गर्दै आएका छन् । तथापी यी दुबै आयोजक संस्थाहरुले हरेक वर्ष केही नयाँ गर्ने ध्यय बेकेका भए पनि अन्ततः महोत्सव मनोरञ्जन र व्यवसायिक बन्दा कृषि पर्यटनका सवालमा कमजोर देखिएको जानकारहरु बताउँछन् । कतिपय बौद्धिक वर्गले महोत्सवमा अध्ययन अनुसन्धान गर्न लायक कुनै विषय बस्तु नभएको गुनासो गर्दछन् भने आत्म सन्तुष्टि नभएर आत्म असन्तुष्टि महोत्सवको उपलब्धि भएको जनताको अनुभव छ ।

कृषि पर्यटन तथा औधोगिक प्रर्दशनी नाम दिइए पनि हरेक संस्करणहरु यी सवालमा भन्दा बिसुद्ध कलाकार नचाउने र मनोरञ्जनमा सिमित हुने देखिएको छ । महोत्सवले व्यवसायिक प्रर्वद्धन र स्थानीय उत्पादनहरूको प्रचार गर्ने उद्देश्य राखेपनि, महोत्सवको आयोजनाबाट प्राप्त आम्दानीको स्पष्ट सार्वजनिकीकरणमा समेत पटक पटक प्रश्न नउठेको हाइन । महोत्सवबाट लाखौँ रकम देशबाहिर जाने गरेको भए पनि आयोजक संस्थाहरु त्यसमा वर्षौदेखि गम्भिर देखिदैनन् । त्यसको मुख्य उदाहरणका रुपमा मनोरञ्जनका साधनहरु पिङ, झुला तथा अन्य साधनलाई हेर्न सकिन्छ । यस बाहेक लत्ता कपडा देखि खानपानका चिजसमेत अन्यत्रबाटै भित्राइन्छ ।

कपिलवस्तु महोत्सवको १५ औं संस्करणको तयारी यसपटक कपिलवस्तु उद्योग वाणिज्य संघले सुरु गरेको छ, तर यसपटक यसको उद्देश्य र संचालक संस्थाका गतिविधिहरुमा सवाल उठेका छन्। महोत्सवको आयोजना व्यवसायीहरूको लागि एक ठूलो अवसर बन्न सक्ने थाहा भएता पनि, स्थानीय व्यापार र उत्पादनको प्रर्वद्धनको सट्टा आयोजक संस्थाले गरेका विगतका गतिविधिका कारण नागरिक स्तरमा समेत महोत्सवको गरिमा खस्कदो छ ।

यस महोत्सवको आयोजनामा विशेष ध्यान दिनुपर्ने कुरा भनेको गुणस्तरीय सामग्रीको प्रर्दशन र बिक्री हो। तर, महोत्सवमा हालसम्मका संस्करणलाई फर्केर हेर्दा अधिकांश स्टल र गतिविधिहरुमा गुणस्तरहिन सामग्रीको बिक्री हुने गर्दछ भने यसमा नियामक निकायले नजर पुर्याउन सक्दैन । मनोरञ्जनका नाममा अनावश्यक उछृङ्खलता र कलाकारहरुको प्रर्दशन त्यति स्वभाविक देखिदैन । मंसिरमा तीजका गित गाउने कलाकारिताको साटो स्थानीय कला र गलाले बढी स्थान पाउनुपर्नेमा त्यसो भएको पाइदैन । यसले नेपाली संस्कृति र परम्परामा प्रहार भइरहेको आभास हुन्छ भने महोत्सवको उद्देश्यलाई नै प्रश्नचिन्हको घेरामा राखेको छ।

स्थानीय कलाकार र प्रतिभालाई महोत्सवमा स्थान दिने कुरा प्रमोट गरिएको भए पनि, यसले यथासम्भव इमानदारीपूर्वक व्यवहार गर्ने देखिदैन । स्थानीय कलाकारहरुलाई उचित अवसर र समर्थन दिने सट्टा, आयोजक संस्थाले डान्स आइडलको नाममा जसरी पनि टिकट बिक्री गर्ने र धन असुलीको प्रवृत्तिमा बढी ध्यान केन्द्रित गरेको विगतको अभ्यासले देखिन्छ । यसले महोत्सवमा सहभागी हुन चाहने कलाकारलाई केवल आर्थिक भारमा पार्ने र उनीहरूको प्रतिभाले उचित स्थान नपाउँदा उल्टै व्ययभारमा पर्ने दृष्टान्तहरु छरपस्ट देखिन्छन् । विगतलाई हेर्दा कपिलवस्तु डान्स आइडल भएका कलाकारहरुले आफ्नो लय लिन नसकेका भेटिन्छन् ।

महोत्सवको अर्काे एक मुख्य आकर्षण भनेको स्थानीय संस्कृतिको प्रर्दशन र राष्ट्रिय स्तरमा कपिलवस्तुका उत्पादनहरुको प्रर्वद्धन हो, तर यसको विपरीत महोत्सव अहिले व्यावसायिक र व्यक्तिगत स्वार्थको खेल बनिरहेको टिप्पणी छ। यसले स्थानीय व्यवसायी र कलाकारहरुको भलाइको सट्टा केही व्यक्तिहरु र संस्थाका लागि मात्र आर्थिक फाइदा पु¥याएको आरोपलाई थप प्रस्ट पार्छ ।

यति हुदाँ हुदै पनि कपिलवस्तु महोत्सवका पछिल्ला केही संस्करणले नगन्यमात्रामा सामाजिक उत्तरदात्विका गतिविधिहरु आयोजक आफैले गर्नुपर्ने भएपनि यसमा यहाँका अन्य सामाजिक संस्था र सरकारी निकायको प्रभाव बढी देखिन्छ ।

प्रतिक्रिया

खबर सबै