

के छ त दर खाने दिनको मान्यता




हरितालिका तीजको अघिल्लो दिन आज परम्परागत रूपमा ‘दर खाने दिन’को रूपमा मनाइँदैछ। यो दिन परिवार, आफन्त, र छिमेकीहरू भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने पुरानो चलन रहेको छ। महिलाहरूले भोलिपल्ट निराहार व्रत बस्ने भएकाले, अघिल्लो रात पोषणयुक्त खाना खाएर शरीरलाई बलियो बनाउने परम्परा छ।
तीज पर्वको यो प्रारम्भिक दिनलाई परिवार, नातेदार, र साथीहरूबीचको एकता र आत्मीयताको प्रतीक मानिन्छ। सबै जना एकै ठाउँमा बसेर भोजन गर्दा सम्बन्धहरू अझ प्रगाढ बन्ने विश्वास छ। विशेष गरी महिलाहरूले दरको अवसरमा सुख-दुःख साट्दै सामाजिक, मानसिक, र भावनात्मक रूपमा सशक्त हुने मौका पाउँछन्।
शाब्दिक रूपमा ‘दर’ भनेको बलियो या सशक्त भन्ने अर्थमा लिइन्छ। यस दिनको दरिलो भोजनले भोलिपल्टको व्रतको आड दिन्छ। हिन्दू धर्मशास्त्र अनुसार, पार्वतीले पनि सत्ययुगमा भाद्र शुक्ल द्वितीयाको दिन दर खाई महादेवलाई पतिको रूपमा पाएकी थिइन्। यस कारण, दर खाने दिनको धार्मिक र सांस्कृतिक महत्त्व झनै गहिरो छ।
ज्योतिषाचार्य नारायणप्रसाद दुलालका अनुसार, दरको नाममा हिजोआज आधुनिकता र विकृतिले पनि ठाउँ पाउन थालेको छ। कतिपय कार्यक्रममा मादक पदार्थ र अत्यधिक खानपानको चलन बढेको देखिन्छ, जसले समाज र स्वास्थ्यमा नकारात्मक असर पार्ने चेतावनी उनले दिएका छन्।
पारम्परिक रूपमा खीर, पुरी, सेलरोटी, तरकारीजस्ता परिकार दरको रूपमा खाइने गरिन्छ। यद्यपि, आधुनिक सहर बजारमा यस्ता कार्यक्रमहरूमा विभिन्न परिकार र सांस्कृतिक भिन्नता देखिन थालेको छ। तीजका अवसरमा माइतीले छोरीचेलीलाई बोलाएर मीठो परिकार खुवाउने चलन यथावत् छ, जहाँ विवाहित महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने तयारी गर्छन्।
यस विशेष दिनमा महिलाहरूले गीत गाउने, नाच्ने, भजनकीर्तन गर्दै आफ्नो पारिवारिक र सामाजिक वातावरणलाई झनै रंगीन बनाउँछन्।

प्रतिक्रिया