

जनै पूर्णिमा : सनातन धर्ममा महत्वपूर्ण पर्वका रुपमा मनाइदै





साझाकुरा, कपिलवस्तु । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ।
समितिले विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १ः ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा परेकाले बिहान रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो।
भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। त्यसैले शासनसत्तामा रहेकाका लागि १ः ३१ बजेपछिको समय दिएको उनले बताए। सर्वसाधारणलाई भने असर नगर्ने भएकाले बिहानैदेखि रक्षाबन्धन गर्न सकिने उनले जानकारी दिए। श्रावण शुक्ल पूर्णिमामा गुरु पुरोहितको हातबाट रक्षाबन्धन गर्ने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। द्विजातिले यसैदिन नयाँ यज्ञोपवित अर्थात् जनै फेर्छन्।
सत्ययुगसँग सम्बन्धित जनैपूर्णिमाको धार्मिक महत्व
जनैपूर्णिमाको धार्मिक महत्व सत्ययुगसँग सम्बन्धित छ । सत्य युगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरु बृहस्पतिले रक्षाबन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा मनाउन थालिएको हो भन्ने मान्यता रहिआएको छ ।
जनैपूर्णिमामा आधारित एक किंवदन्ती यस्तो छ– “सत्य युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भीषण युद्ध चल्यो । अजंग शरीर भएका दैत्यहरूलाई हराउन सक्नु सामान्य कुरा थिएन । वर्षौँसम्म युद्ध चलिरह्यो । कयौं कोसिसका बाबजुदपनि इन्द्रले असुरहरूलाई पराजित गर्न सकेनन् । अन्ततः असुरहरूले देवताहरूमाथि विजय प्राप्त गरेरै छाडे । युद्धमा नमीठो हार बेहोरेका देवगण धर्म संस्कार विहीन भएर जीवनयापन गर्नु पर्यो । धर्ममा आस्था राख्ने देवराज इन्द्रलाई यस्तो जीवन सह्य भएन । यसरी बाँच्नु भन्दा मर्नु नै उपयुक्त विकल्प हुने ठानेर उनले अन्तिम युद्धको संकल्प गरे । श्रावण शुक्ल चतुर्दशीको दिन देवगुरु बृहस्पतिले इन्द्रको कल्याण र विजयको कामना गरे । भोलिपल्ट पूर्णिमाको शुभ मुहूर्त हेरि इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरे । जसको प्रभावका कारण इन्द्रले युद्धमा दैत्यहरूलाई हराउन सफल भए ।”
सो दिनदेखि आजसम्म ब्राह्मण वा आचार्य गुरुहरूले विशेष मन्त्र पाठ गरी रक्षा बन्धन र जनै बाँधिदिन्छन् । जुन मन्त्र यस्तो छः “येन बद्धो वलीः राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल । अर्थात् जुन रक्षासूत्रले अत्यन्त बलशाली राजा वली बाँधिएपछि सारा देवगण सुरक्षित भए, म त्यही रक्षासूत्रले बाँधी तिमीलाई सुरक्षित गर्दछु ।”
जनै फेर्ने चलनः
ब्राह्मण र क्षेत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल बितेपछि विधिपूर्वक व्रतबन्ध कर्म गराइन्छ । पुरोहितले मन्त्रेको जनै ६ वटा काँचो धागो अर्थात् ६ सूते धागोलाई दुई बेग्लै गाँठो पारेर सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा जनैपूर्णिमाको दिन फेर्ने चलन छ । जनैको लम्बाइ ९६ अंगुल हुन्छ । जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । ६४ कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्दछन् । त्यस्तै ३२ विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । ब्राह्मण पुरोहितले मन्त्रेको जनैको डोरो हातको नाडीमा धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र आध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ । साथै यसलाई पवित्रता र सुरक्षाको बन्धन पनि मानिन्छ ।
के हो रक्षाबन्धन ?
जनैपूर्णिमाको दिन दिदीवहिनीहरुले आफ्ना दाजू–भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको रक्षाबन्धन÷राखी बाँधेर, टिका लगाएर मिठाई खुवाउछन् । दाजुभाईले बहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा दिदि बहिनीको रक्षा गर्ने वचन दिन्छन् । एक शास्त्रिय कथा अनुसार, यमदूतले आफ्नो बहिनी यमुनासँग राखी बांध्ने सन्दर्भमा ‘जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ’ प्रतिज्ञा दिएको हुन्छ । यसर्थ रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनको श्रेष्ठता एवंम निडरतासँग छ ।
यसरी बाँधिएको धागो गाई तिहारका दिन निकालेर गाइको पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास छ ।
जनैपूर्णिमामा क्वाँटी खाने परम्परा
“क्वाँटी” खाने परम्पराले यसको झनै महत्व थपेको छ । पानीमा भिजाई राखिएको गेंडागूडिहरुमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । क्वाटीमा विभिन्न ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ । यसरी हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । क्वाँटी पकाउने आ–आफ्नै तरिका हुन्छ, भूटेर, झोल बनाएर अथवा खसी वा कुखुराको मासु मिसाएर समेत क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवारी संस्कृतिमा यसको विशेष महत्व छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी” भनिन्छ ।
जनैपूर्णिमाको दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधाममा मेला लाग्ने गर्दछ ।
रक्षा बन्धनको परम्परा अनुशासनको विधि पनि हो । यो सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले मानवलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ ।
जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ । हाम्रा पुर्खाहरूले मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ भन्ने गरेको सुन्नु भएकै होला । यसको पछाडि वैज्ञानिक कारण रहेको छ । जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ । दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । यसरी कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ एवंम पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ । जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ ।
तर पछिल्लो समय जनै पुर्णिमाको महत्व नयाँ पुस्ताले भने फुल्दै जान थालेका छन् । उनीहरुले कि त जनै लगाउँदैनन कि त सबै बिधि पूरा गर्दैनन् । यसको सामाजिक महत्व हुँदा हुँदै पनि आजभोलिका युवाले जनैमा विश्वास गर्दैनन् । यो अत्यन्त दुःखदको कुरा हो । पश्चिमा संस्कृतिले नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको छ । नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिन सकेको छैन । अगाडिका वर्षमा धुमधमका साथ मनाइने जनै पूर्णमा आजकाल भने सामान्य बन्न थालेको छ ।
धार्मिक अनुष्ठान र पूजाः
जनै पूर्णिमा विशेष धार्मिक अनुष्ठान र पूजा गर्ने अवसर हो। यस दिन, धेरै वैदिक धर्मावलम्बीहरू धार्मिक पुस्तकहरू पठाउँछन्, यज्ञोपवितको पवित्रता पुनःस्फूर्ति गर्न विविध पूजाअर्चना गर्छन् र पुरोहितहरूको आशीर्वाद प्राप्त गर्छन्। यज्ञोपवित परिवर्तन र रक्षाबन्धनका साथसाथै, घरको वातावरण पवित्र र शान्त बनाउन विशेष ध्यान दिइन्छ।
धार्मिक शिक्षा र संस्कारः
जनै पूर्णिमा धार्मिक शिक्षा र संस्कारहरूको पुनरावलोकन गर्ने अवसर हो। यो पर्व द्विजातिहरूलाई आफ्नो धार्मिक कर्तव्य, आचारसंहिता, र परम्पराप्रति सचेत गराउँछ। यसले धार्मिक अनुशासन र संस्कारको महत्वलाई सुदृढ पार्न मद्दत पुर्याउँछ।
जनै पूर्णिमा हिन्दू धर्मावलम्बीहरूको लागि एक विशेष अवसर हो जसले धार्मिक र सांस्कृतिक परम्परालाई उत्सवको रूपमा मनाउँछ। जनै फेर्ने र रक्षाबन्धनको परम्पराले परिवारिक सम्बन्धलाई बलियो बनाउन र धर्मिक संस्कारलाई पुनः जीवित राख्न मद्दत गर्छ। यस पर्वको माध्यमबाट, वैदिक धर्मावलम्बीहरूले आफ्ना धार्मिक कर्तव्यलाई सम्पन्न गर्ने अवसर प्राप्त गर्छन् र आफ्नो जीवनलाई धार्मिकता र पवित्रताको साथ सुसज्जित गर्न प्रयास गर्छन्।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया