

गुल्मीमा ७४ प्रतिशत धान रोपाइँ





गुल्मी : गुल्मीमा साउनको पहिलो सातासम्म ७३.५१ प्रतिशतमात्र धान रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लाभर ६ हजार ३ सय ७३ हेक्टर अर्थात् कुल क्षेत्रफलको ७३.५१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको हो।
यस वर्ष पर्याप्त मनसुनी वर्षा भएका कारण वर्षे धान रोपाइँ तीव्र गतिमा भएको छ। मकै खेती गरिएको र चैते धान रोपिएका केही बेंसीका खेतहरूमा धान रोप्न बाँकी रहेको कार्यालयले जनाएको छ। गत वर्ष जिल्लाभर ३ सय ४१ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो। यो वर्ष ३ सय ११ हेक्टरमा चैते धान खेती गरिएको छ।
गत वर्षभन्दा ३० हेक्टर क्षेत्रफलमा सिँचाइको अभावले धान रोपाइँ गर्न नपाइएको कृषि केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार अघिल्लो वर्र्ष ८ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको थियो। गत वर्ष गुल्मीमा उत्पादन २२ हजार १ सय ८ टन उत्पादन भएको थियो। यो वर्ष गत वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घट्ने अनुमान गरिएको छ। जिल्लामा चैते र वर्षे गरी दुई पटक धान खेती गरिन्छ। तर, सिँचाइको अभाव र खडेरीका कारण पछिल्लो केही वर्षयता जिल्लामा धान रोपाइँको क्षेत्रफल र उत्पादन घट्दै गइरहेको सरकारी तथ्यांकले देखाएको छ।
साउन पहिलो सातासम्म गुल्मीमा जम्मा ६ हजार ३ सय ७३ हेक्टर अर्थात् कुल क्षेत्रफलको ७३.५१ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ। गत वर्षभन्दा यो वर्ष समग्र चैते धान उत्पादनमा घट्ने अनमान गरिएको छ। गत वर्ष चैते धान १ हजार ६ सय १६ मे.टन उत्पादन भएकोमा यो वर्ष जम्मा ९ सय मे.टन उत्पादन हुने कार्यालयले अनुमान गरेको छ। मसिना र बास्नादार चामलको उपयोगमा वृद्धि तथा आयातित चामलको गुणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ। गुल्मीमा वार्षिक सात करोडभन्दा बढीको चामल आयात भइरहेको छ। ‘पहिले मकै, कोदो, फापर पनि खाने गरिन्थ्यो, अहिले त्यसको खपत घट्दो र भात खाने बानीले चामलको खपत बढ्दो क्रममा छ’, भण्डारीले भने, ‘गुल्मी चामलमा २५ देखि ३० प्रतिशतको हाराहारीमा आत्मनिर्भर छ।’
चैते धानको रूपमा स्थानीय मार्सी, सी–एच ४५, चैते ५, हर्दिनाथ १ रोपिन्छ। यस जिल्लामा ९ हजार १ सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। जसमा चैते धान ३ सय ५० हेक्टर क्षेत्रफलमा र वर्षे धान ८ हजार ८ सय ३ हेक्टर क्षेत्रफलमा लगाइने गरिएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए। जिल्लाभर हंशराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सीलगायत जातका धान लगाउने गरिन्छ। उन्नत जातका सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धानसमेत लगाइँदै आएको कृषि केन्द्र गुल्मीले जनाएको छ।
कालीगण्डकी गाउँपालिकाको अर्बेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, ज्वाङखैरेनी, साहाघाट, च्यामी फाँट, चन्द्रकोट गाउँपालिकाको मजुवा, रूपाकोट, शान्तिपुरमा धान खेती गरिन्छ। मुसीकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगांैडा, भुवाचिदी, बामीटक्सार, पौदी, अरेवा, भर्माचौरलगायत बडीघाट खोलाको आसपासका क्षेत्रमा लगाइन्छ।
त्यस्तै, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिलादी, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ फेदी, भनभनेको तल्लो क्षेत्र, धुर्कोट गाउँपालिकाको पनाहा खोला र छल्दीको आसपासका क्षेत्र, इस्मा गाउँपालिकाको चौरासी फाँट, हुलाके, हस्तीचौर, छल्दी र निस्ती खोलाको आसपासको क्षेत्रमा धान खेती गरिन्छ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया