सन्धिखर्क नगरपालिकामा कपडा बैंक शुभारम्भ
अर्घाखाची: अर्घाखाचीको सन्धिखर्क नगरपालिकामा कपडा बैंक शुभारम्भ भएको छ । शुक्रवार एक कार्यक्रमका बिच सन्धिखर्क जिल्ला समन्वय समिति संयोजक जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोइरालाले यो कार्य निकै प्रसंसनीय र परोपकारी कार्य भएको बताए । सम्पूर्ण पालिकाहरुमा समेत कपडा बैंक आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए । पालिकामा कपड़ा बैंकको स्थापनाले आवश्कता परेका जो कोहिलाइ कपडा बितरण गर्न पनि सहयोग पुग्ने र पहाडी जिल्लामा कपडा बैंक स्थापना गर्ने पहिलो नगरपालिका बन्न पाएकोमा खुसि व्यक्त गरे ।
सोही अवसरमा बोल्दै उप प्रमुख मिश्रा आचार्यले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंकको सुरुवात यस सन्धिखर्क नगरमा गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गरे ।प्रमुख अतिथी जिबनारायण कोइराला, नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, पत्रकार महासंघ अर्घाखाचीका जिल्ला अध्यक्ष अशोक कुमार खनाल, उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र, कपडा बैंकका वरिष्ठ सल्हाकार राजिब गौतम तथा केन्द्रिय अध्यक्ष कमल जिसीलगायतले एक कार्यक्रमका बीच सुभारम्भ गरेका थिए ।
पछिल्लो समयमा कपडा बैंकले विभिन्न पालिकाको अनुरोध र सिफारिसमा आगोलागी पिडितहरु ६६३ घर धुरी परिवारलाई कपडा प्रदान गर्दै गर्दा साच्चिकै पुण्यको कार्य भयको अभियन्ता राजिब गौतमले सम्पूर्ण पालिकाहरुलाई धन्यवाद दिए । सन्धिखर्क नगरपालिकाको शान्ति बगैचामा संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुन प्रशोधन गरि आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फुड बैंक नेपाल अर्घाखाँची जिल्ला संयोजक सहयोगी बि।सी।ले बताए।
क्लोथ बैंकले भविष्यमा हरेक घर घरमा पुगेर कपडा वितरण गर्ने क्लोथ बैंकको लक्ष्य रहेको छ । साथै लुम्बिनी प्रदेश महिला संयोजक गोमा सापकोटा रेग्मीले मानवीय सेवाभावले स्थापना गरिएको कपडा बैंकका शो रुममा गएर आबेदन फारम भरेर अधिकत्तम सेवा लिन समेत आग्रह गरीन ।कार्यक्रममा विभिन्न संचारकर्मी, वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सुभारम्भ कार्यक्रमको संचालन क्लोथ बैंकका अभियन्ता आबिस्कार खनालले गरेका थिए। क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छ्न ।
प्रतिक्रिया