एकापसमा रङ र लोला खेली होली मनाइदैँ


साझाकुरा । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व मनउने तयारी थालिएको छ । यो पर्व नेपालमा दुई दिन मनाइन्छ । हिमाल र पहाडमा यो पर्व अघिल्लो दिन मनाइन्छ भने त्यसको भोलिपल्ट तराईमा धुमधामसँग मनाइन्छ । यसवर्ष चैत ११ र १२ गते पहाड र तराईमा छुट्टाछुट्टै होली पर्व मनाइदै छ ।


फागु पूर्णिमा अर्थात् होली पर्व आइतबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ भने सोमबार तराईका जिल्लामा होली पर्वमनाइदै छ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।


वराह पुराणका अनुसार पाटवास–विलासिनी खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन मनाइरहँदा तराई भेगमा किन भोलिपल्ट मनाइन्छ होली ? एउटै चाड किन फरक–फरक दिनमा मनाइन्छ भन्ने जिज्ञाशा धेरैलाई हुनसक्छ ?
फागु पर्वको परम्परा
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविदहरुको तर्क छ ।


राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।


किन मनाइन्छ फरक दिन ?
धार्मिक ग्रन्थहरूमा फागु पूर्णिमा एकदिन मात्रै मनाउने उल्लेख भए पनि यो सबैले स्वीकारेको निर्विवाद संस्कृतिको रूपमा विकास भइसकेको छ । हिन्दू धर्मअन्तर्गत मनाइने हरेक चाडपर्वका बारेमा निर्णय गर्ने निर्णयसिन्धुले पनि होलीलाई एक दिने पर्वको रूपमा उल्लेख गरेको छ । उक्त ग्रन्थको ३०८ औं पृष्ठमा पूर्णिमाको दिन फागुपूर्णिमा मनाउने चलन रहेको उल्लेख गरेको छ ।


संस्कृतबिद्हरुका अनुसार पहाडमा फागुपूर्णिमा र तराईमा होली फरक दिन मनाउनुको २ वटा कारण छन् । एउटा त जात्राका कारण भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ । अर्काेतर्फ अघिल्लो दिन साँझ होलिका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसैको खुसीयालीमा होली पर्व मनाउने गरिएको हुन सक्छ । साँझमा रंग लगाउनुभन्दा पनि भोलिपल्ट मनाउने चलन बसेको हुन सक्ने उनीहरुको तर्क छ । ‘होली परिवार र साथीभाइकाबीचमा सद्भाव बाँड्ने पर्व हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेको रंगीन पर्वलाई भोलिपल्ट साथीभाइसँग बसेर मनाउन थालियो । यसरी नै तराईमा भोलिपल्ट मनाउने संस्कृति हुन सक्ने तर्क गरिन्छ ।


बदलिएको होली पर्व
पहिले पहिले फागु या होलीमा रङहरू छ्यापेर एकअर्कामा खेल्ने गरिन्थ्यो भने अहिले रङसँगै पानीको पनि होली खेल्ने गरिएको छ । पहिले पहिले साथीभाइबीच रमाइलो गरिनेमा अहिले हप्ता दिनअघिदेखि नै चिनेका या नचिनेका मानिसलाई लोला हान्ने गर्छन् । त्यसमा पनि केटाहरूले केटीहरूलाई नै ताकीताकी लोला हान्ने गरेका छन् ।


होलीको नाममा विभिन्न कार्यक्रमहरू हुने गरेका छन् । नाचगान र रङहरू छ्यापेर मनाइने होलीमा विभिन्न कलाकारहरूले साङ्गीतिक कार्यक्रमहरू गर्ने गरेका छन् । होलीले संस्कृति धान्नुपर्नेमा विभिन्न मादक पदार्थ तथा लागुऔषध सेवन गर्ने हुँदा विभिन्न दुर्घटना निम्तिने गरेका छन् । यो पर्वको उछृङ्खलताका कारण सुरक्षा चुनौती समेत बढ्दो छ ।


अरू देशमा होली
अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छन् । विश्वका धेरै मुलुकमा आआफ्नै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गिन कपडाहरू मिलाएर बनाएको चिर गाडेपछि होली पर्व सुरु भएको मानिन्छ ।
यसरी सुरु भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाएपछि सम्पन्न हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आआफ्नै प्रकारले यो पर्व मनाइन्छ ।
होलीलाई असत्यमाथि सत्यको जीतको प्रतीकका रूपमा लिइन्छ । नेवारी परम्पराअनुसार पानीसँग नभएर अवीर र रङसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवायुवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् । होलीको सन्दर्भमा गाइएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन् ।
भारत
होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोल जात्रा, डोला जात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ । भगवान् कृष्णको ब्रजभूमि मथुरा, वृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बङ्गाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटका, तेलंगाना, आन्ध्र प्रदेश, जम्मु र काश्मिर, पञ्जाब, मध्य प्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ । त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तर प्रदेशको ब्रजक्षेत्रको मथुरा नजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ ।
पाकिस्तान
पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यस मुलुकमा हिन्दु धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घरआँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवम् इष्टमित्रहरूलाई खुवाउने चलन छ ।
पाकिस्तानी होलीमा साथीहरूसँग साङ्गीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ । प्रायः मन्दिरहरूमा भेला भई होली मनाइन्छ ।
बङ्गलादेश
बङ्गलादेशमा पनि होली पर्व मनाइन्छ । यो मुलुक बहुसांस्कृतिक मुलुक हो । यहाँ विशेषतः हिन्दु, बौद्ध एवम् मुस्लिम समुदायका मानिसहरू बसोवास गर्छन् । मुस्लिम समुदायको वर्चस्व रहे पनि त्यहाँ हिन्दु धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । हिन्दु धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ । बङ्गलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ ।
गुयाना
दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ । यहाँ पानी, रङ र गीतसङ्गीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ । यहाँका हिन्दूहरूलाई यस पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ । पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ ।
बेलायत
बेलायतमा बसोवास गरिरहेका अन्य मुलुकका नागरिकले आआफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेषगरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा साङ्गीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन् । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धुमधामका साथ होली मनाउने चलन छ ।
मौरिसस
अफ्रिकी महादेशमा पर्ने यस मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन् । यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ । यहाँ पनि होलिका दहन गर्ने चलन छ । एकआपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ । यहाँ साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ ।
फिजी
फिजीमा साङ्गीतिक रमझमका साथ होली मनाइन्छ । राधा र कृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ । यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसमभरी नै होली गीतहरू गाइन्छ ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भई होली खेल्ने चलन छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ । यहाँ दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ ।

प्रतिक्रिया

खबर सबै