आज दिनभर देशमा : ‘शालिनको हत्याविरुद्ध नेविसंघको बिरोध देखि, घरेलु मैदानमा नेपालको पुनरागमन जित सम्म’

कपिलवस्तु । साझाकुरा । आज मिति २०८० फाल्गुण १८ गते शुक्रबार । आज दिनभर देशमा विभिन्न घटना परिघटना तथा समसामयिक विषयवस्तु बाहिर आएका छन् । यस मध्ये साझाकुराले पाठकहरुका लागि आज दिनभरका मुख्य मुख्य दश खबरलाई प्राथामिकताका साथ यो पृष्ठमा समावेश गरेको छ ।

शालिनको हत्याविरुद्ध नेविसंघको बिरोध
चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज राजधानीमा प्रदर्शन गरेको छ । संसद भवन नयाँ बानेश्वरअगाडि नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले दोषीलाई कडा कारबाहीको माग गर्दै पीडितलाई न्याय दिन माग गरे । प्रदर्शनका क्रममा प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए । उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई तत्काल रिहा गर्न पनि नेविसंघले माग गरेको छ ।

मधेसका तीन पालिकाले अझै ल्याएनन् बजेट
फागुनको दोस्रो साता बितिसक्दा पनि मधेस प्रदेशका तीन पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् । आपसी भागबण्डा मिल्न नसकेको कारण प्रदेशको १३६ मध्ये तीनवटा पालिकाले फागुन १८ गतेसम्म आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट ल्याउन नसकेका हुन् । बजेट ल्याउन नसकेकामध्ये रौतहटको एक र सर्लाहीका दुई पालिका रहेका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका, सर्लाहीको हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।
फतुवा विजयपुर नगरपालिकाको नेपाली कांग्रेसका निर्वाचित मेयर गोपाल राय यादवलाई नदीको टेन्डरमा दोषी ठहर गर्दै विशेष अदालतले तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरेको छ । यससँगै गत आर्थिक वर्षमा उनी पदच्युत भएका थिए । कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको प्रयासमा निर्धारित समयभन्दा ७ महिना ढिलो यही ३ फागुनमा सातौं नगरसभा सम्पन्न भएको थियो ।

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो । छलफलमा सांसदहरु रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राखेका थिए ।

त्यस्तै, बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० पारित गरेको छ । समितिका सभापति सुरेशकुमार आलेमगरले सो प्रस्ताव पेस गरेका थिए । त्यसमाथि सांसदहरु प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखेका थिए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभामा सदस्यकोतर्फबाट ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरुको अनुमगन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन, २०८० सभासमक्ष पेस गरे । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० सभासमक्ष पेस गरे ।


प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित
अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राखेको विधेयक पारितको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री शर्माले मुलुकको विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाइ सार्वजनिक जवाफदेहीता सुनिश्चित गर्न विधेयक ल्याइएको बताइन् । उनले अनुगमन गर्ने ठाँउको स्रोत साधनका साथै सुविधा परिचालन नगर्ने बिषय पनि विधेयकमा उल्लेख रहेको जानकारी दिइन् । मुलुकका तीनै तहको विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनका आधार, मापदण्ड, अनुगमन गर्ने निकाय लगाएतको व्यवस्थालाई विधेयकमा समावेश गरिएको उनको भनाइ छ ।


भरतपुरमा पर्यटन विकासको प्रचुर सम्भावना छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर भएको बताएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताए ।

उनले यहाँको पर्यटनको प्रचुर सम्भावना देखेर नारायणी, कोसी हुँदै बङ्गालसम्म जोड्नका लागि आफूले जलमार्गको योजना अघि बढाएको स्पष्ट पारे । उनले त्यही योजनाअनुरुप अहिले निजी क्षेत्रले नारायणीलगायत नदीमा जलपर्यटनका पूर्वाधार निर्माण गरेको बताए ।

अध्यक्ष ओलीले चितवन पूर्व–पश्चिम र हुलाकी राजमार्गसँग जोडिएको जिल्ला भएकाले पनि यहाँको सम्भावना धेरै रहेको बताए । भरतपुरको विकासका लागि सभाहल, छ लेन सडक, हुलाकी सडकको काम आफू प्रधानमन्त्री हुँदा अघि बढाउन सहयोग पु¥याएको उनले बताए ।

नागरिकका समस्या गम्भीर भएर समाधान गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकका विद्यमान समस्या गम्भीर भएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले मिटरब्याजपीडित, लघुवित्त तथा सहकारी पीडित र दुग्ध उत्पादक किसानका समस्या समाधानका लागि गम्भीर बन्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । यी समस्या समाधानका लागि सरकारले पहल नगरेको सांसदहरुको आरोप छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद दिपक गिरीले संसद्लाई सरकारले वास्ता नगरेको आरोप लगाए । मिटरब्याजपीडित २३ दिन पैदल हिँडेर काठमाडौँ आइपुग्दासम्म पनि सरकारले वास्ता नगरेको, विभिन्न सहकारी संस्था धराशायी भएर बचतकर्ताको लगानी डुब्दा नियामक निकाय मौन बसेको उनको भनाइ छ ।

गत फेब्रुअरी २१ मा द पायोनियरमा छापिएको ‘इन्डिया इज अन् द राइट ट्र्याक इन नेपाल’ शीर्षकको लेखका विषय माथि सांसद रघुजी पन्तले संसदमा आपत्ति जनाए । नेपालको चीनसँगको सीमानाका विषयमा विवादास्पद विषय लेखिएको र नेपालको राष्ट्रियतामाथि धावा बोल्ने गरी उक्त लेख लेखिएको उनको दाबी छ ।

सांसद रुपा सोशी (चौधरी) ले वर्षौंदेखि सुन्तलाखेती गर्दै आएका किसान पलायन भइरहेको विषय संसदमा उठाइन् । नेपालभित्रै सम्भावना भए पनि युवा शक्ति विदेशिदा आन्तरिक उत्पादन घटिरहेको र परनिर्भरता बढिरहेको उनले उल्लेख गरिन् । सङ्घीयतालाई व्यवस्थित र परिणाममुखी बनाउन सङ्घीय कानुन निर्माणको आवश्यकता उनले औँल्याइन् ।

कम्प्युटरमा काम गर्दा आँखा सुक्खा भइरहन्छ, के गर्ने ?
हिजोआज आँखा सुक्खा हुने समस्याबाट जो कोही प्रभावित छन् । प्रविधिको बढ्दो प्रयोगसँगै आँखालाई पनि असर पारिरहेको छ । कार्यालयमा काम गर्दा कम्प्युटर, ल्यापटप प्रयोग गर्नैपर्ने हुन्छ । यस्तै आजभोलि स्मार्ट फोनबिनाको जीवन सोच्न पनि असम्भव प्रायः भइसक्यो । तर यस्ता ग्याजेटको बढी प्रयोगले आँखा सुक्खा हुने गर्छ । यसको हुनु भनेको आँखामा आँसुको मात्रा कम हुनु हो । जसलाई कम्युटर भिजन सिन्ड्रोम भनिन्छ ।
कसरी हुन्छ ?
कम्प्युटर वा स्क्रिनयुक्त उपकरणको लामो समय प्रयोग गर्दा वा हेर्दा आँखाको परेला पनि धेरैबेर खोल्नुपर्ने हुन्छ । यसले गर्दा आँखाको नियमित गतिमा अवरोध हुन्छ । आँखामा आँसुको कमी हुन्छ र आँखा रसाउन पाउँदैन । जसकारण आँखा सुक्खा हुन्छ ।
लक्षण
आँखा सुक्खा हुँदा आँखा पोल्ने, रातो हुने, आँखा सुन्निने, अगाडिको दृश्य धमिलो हुने, एउटै दृश्यलाई दुई वा दुईभन्दा बढी देखिने, टाउको दुख्ने, ढाड, कम्मर दुख्ने, आँखा भारी हुने, शरीरमा थकान महसुस हुने समस्या देखिन्छ ।
आँखा सुक्खा हुनबाट कसरी बच्ने ?
स्क्रिनमा लामो समय बिताउँदा आँखा सुक्खा हुने समस्याबाट बच्न २०–२०–२० को नियम उत्तम हुन्छ । यसको अर्थ हरेक २० मिनेट कम्प्युटर, ल्यापटपमा काम गरिसकेपछि २० मिटर टाढा आँखा पु¥याएर २० पटक आँखा झिम्काउनुपर्छ ।
यो नियम दैनिक पछ्याउन सके आँखालाई सुक्खा हुनबाट जोगाउन सकिन्छ । किनभने यसो गर्दा आँखा झिम्काउँदा आँखामा आँसु निरन्तर उत्पादन हुन्छ ।

यसलाई निरन्तरता दिन नसके पनि सकेसम्म आँखा झिम्काउने बानी बसाल्नुपर्छ । सामान्य अवस्थामा हाम्रो आँखा एक मिनेटमा १५ पटकसम्म झिम्किन्छ तर कम्प्युटरमा काम गर्दा यो दर घटेर पाँचपटकसम्म मात्र हुन पुग्छ । त्यसैले हरेक चार सेकेन्डमा एकपटक आँखा झिम्क्याउने गर्नुपर्छ । लगातार कम्प्युटरमा काम गर्नेहरुले एक घण्टामा पाँच मिनेट आराम गर्नुपर्छ ।
आँखाको कसरत जस्तै आँखा माथि हेर्ने, तल हेर्ने, दायाँ हेर्ने, बायाँ हेर्ने, छड्के हेर्ने र घडीको सुई घुम्ने दिशामा र सुईको विपरीत दिशामा आँखा घुमाउने गर्नुपर्छ ।

कम्प्युटरमा काम गर्दा चस्मा लगाएर गर्नुपर्छ । चस्माले अतिरिक्त प्रकाशलाई आँखामा जानबाट रोक्न मद्दत गर्छ । कम्प्युटर वा स्क्रिनयुक्त उपकरणमा काम गर्दा एकोहोरो नहेरिकन बेलाबेलामा दायाँबायाँ, तलमाथि र स्क्रिन भन्दा बाहिर पनि हेर्नुपर्छ ।
जोखिम आँखा सुक्खा हुने समस्यालाई समयमै ध्यान दिएन भने यो रोग बढ्दै जान सक्छ । यसले गर्दा मायोपिया, हाइपरोपिया–हाइपरमेट्रोपिया वा अन्य आँखाको समस्या आउन सक्छ । जसलाई समयमा उपचार गरिएन भने दृष्टिविहीनको जोखिम समेत हुन्छ ।

उपचार
आँखा सुक्खा भएको महसुस हुनासाथ चिकित्सकलाई देखाएर आवश्यक औषधि गराउनुपर्छ । चिकित्सकको सल्लाहमा आइड्रप लगाउनुपर्छ ।

विश्वकप छनोट फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा
फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइन विरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली घोषणा गरेको एन्फाले जनाएको छ । नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । प्रारम्भिक टोली ५ नयाँ खेलाडी छन् । जसमा डिफेण्डर अजय चौधरी, एन्जल महर्जन र दीपेन्द्र विक तथा मिडफिल्डर रोहन कार्की र फरवार्ड समिर तामाङ छन् ।

घरेलु मैदानमा नेपालको पुनरागमन जित
नेपालले त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनल पुग्ने सम्भावना कायम राखेको छ । लगातारको हारलाई छाड्दै नेपालले शुक्रवार नामिबियामाथि तीन रनको जित निकाल्यो । यो जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायमै भएको हो ।
अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि तीन रनको जित निकालेको थियो । पहिला ब्याटङ गरेको नेपालले आठ विकेट गुमाएर नामिबियालाई १८१ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङ्समा २० ओभर खेलेको नामिबियाको सात विकेट जाँदा १७७ रन मात्र बन्यो । नेपालले आज टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो । ओपनर कुशल भुर्तेल, स्पिनर ललित नारायण राजवंशी र सन्दीप जोरालाई बेन्चमा राख्दै अनिल शाह, अविनाश बोहोरा र प्रतिश जिसीलाई मौका दिइएको थियो ।

जम्बो टोली लिएर अमेरिका उड्दै महिला बालबालिका मन्त्री
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जम्बो टोली अमेरिका जाने भएको छ । महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन ठूलो प्रतिनिधिमण्डल लिएर मन्त्री आचार्य न्यूयोर्क जान लागेका हुन् ।

मन्त्रालयबाट मन्त्री आचार्य, सचिव सुमनराज अर्याल र २ सहसचिवसहित ७ जनाको टोली त्यता जाने छ भने महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना पनि प्रतिनिधिमण्डलमा छन् । राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाजकल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु पनि टोलीमा रहनेछन् । यो कार्यक्रममा सहभागी हुन विभिन्न अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु जान लागेका छन् ।

स्रोतका अनुसार मन्त्रीले आचार्यले अधिकारवादीका रुपमा असम्बन्धित व्यक्तिहरु समेत टोलीमा राखेर लैजान लागेका हुन् । यूएन एजेन्सीमार्फत मनोनयन भएको देखाएर मन्त्रालयको जम्बो टोलीमा नराखी थप व्यक्ति समेत अमेरिका लैजान लागेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्रालय स्रोतका अनुसार २६ फागुनमा जम्बो टोली अमेरिका लाग्ने छ । करिब २ हप्तापछि मात्रै टोली नेपाल फर्किनेछ र मन्त्री आचार्य र सचिव अर्याल भने एक हप्तापछि फर्किनेछन् । मन्त्री आचार्यको नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकास्थित दूतावासबाट ३ जना सहभागी हुनेछन् । मन्त्रालयका एक अधिकारी भने मन्त्री र सचिवको मात्रै भ्रमण खर्च सरकारले ब्यहोर्ने दाबी गर्छन् ।

सरकारले लक्ष्यको तुलनामा राजस्व निकै कम उठेर चालु खर्च समेत धान्न ऋण उठाइरहेका बेला मन्त्रालयहरू विदेश भ्रमणको तालिका धमाधम स्वीकृत गरिहरेका छन्। निष्फिक्री विदेश घुमिरहेका मन्त्री र सचिवहरू सरकारी कामकाज र महत्वपूर्ण कार्य्रकमका लागि भ्रमणमा निस्केको बहाना बनाइरहेका छन् ।

यसले सरकारको चालु खर्चमा समेत चापमा पारिरहेको छ । चालु खर्च कटौतीका लागि सबै मन्त्रालय, विभाग तथा निकायका लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि मितव्ययिताको मार्गदर्शन जारी गरेको छ । ‘कूटनीतिक महत्व र अन्तर्राष्ट्रिय सम्बन्धको कारण अनिवार्य रूपमा सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय सभा, सम्मेलन र अन्तरसरकारी बैठकमा मात्र सहभागी हुने व्यवस्था मिलाउनुपर्नेछ,’ मार्गदर्शनमा भनिएको छ ।

तर, देशको अर्थतन्त्र र सरकारी ढुकुटीको विशिष्ट अवस्थामा पनि विदेश भ्रमणको प्रस्ताव नकार्न कोही पनि तयार छैन । वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व सहमति लिनुपर्ने व्यवस्था भए पनि सरकारले यसलाई अनिवार्य गर्न सकेको छैन ।
विदेश भ्रमण जाँदा पाइने विदेशी डलर भत्ताले पनि मन्त्री र सचिवहरुलाई विदेश जान उत्प्रेरित गरेको छ । सरकारी टोलीबाट विदेश भ्रमणमा जाँदा मन्त्रीले दैनिक २५०, सचिवहरूले २२५ र सहसचिवहरूले १७५ डलर दैनिक भ्रमणभत्ता पाउँछन् ।

घोराहीमा १ करोड ८० लाख लगानीमा २८ वटा कृत्रिम जलाशय निर्माण
घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख रुपैयाँ लागतमा उक्त जलाशय निर्माण गरिएको हो ।

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन् । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ ।

घोराही उपमहानगरपालिका–१७, कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण सो क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताए । जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी पनि भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

खबर सबै