

अपरिचित बाबू छोरी (कथा)





माधब भण्डारी (पृथक) : हिजो जस्तो लाग्छ। घर छोडेर परदेश गएको आज ४ बर्ष भैसकेछ। जान मन त कहाँ थियो र ? फेरि समय परिस्थितिले बस्न कहाँ दियो र? हामी नेपालीको रोजगारको विकल्प भनेकै विदेश त हो। जाने बेलामा बूढी आमा रोएको अनि पियारिले मलाइ छोडेर जान सके पनि पेटमा हुर्कदै गरेको हाम्रो मायाको चिनोलाई कसरी छोडेर जान सक्नुहुन्छ ? भनेको हिजो जस्तो लाग्छ।
हाम्रो सरकारले साम्यवादको कुरा गर्यो पूरा गरेन! नपढेको कहाँ हो र विडम्बना १०+२ पास गरेको मान्छे । आज घरमा २+२ मा आउन परेको छ। मेरो स्वागतको लागि घरको आगनमा मेरा छरछिमेक, बुबाआमा, अनि मेरि श्रीमती र मैले मुख पनि देख्न नपाएको मेरी छोरी “स्मृति” लाई देखेर मन प्रफुल्ल थियो। साँच्चै त्यो दिन म निकै खुशी थिएँ। ४ बर्षमा भए पनि आफ्नो घरमा आएको थिएँ । आफ्नो परिवारको साथमा आएको थिएँ । हामी परदेशीलाई यो भन्दा ठूलो खुशी त के होला र ? अनि कुन बाबू आमालाले आफ्नो सन्तान सधैँ आफ्नै आँखा अगाडि होस् भन्ने चाँहदैनन् र ? मेरी बूढी आमा अनि बुबा मलाई हेरेर रुनु भएको थियो। हे आमाबुबा किन रुनु भएको? अब म आइ पुगेँ त भनेँ। बुबाले यो त खुशीको आँशु हो मोरा भन्नू भयो।
उता पल्लो छेउ बाट मेरि श्रीमती र छोरिले मलाइ प्रतीक्षा गरेझै लाग्यो।उनको आँखामा पनि म प्रतीको माया झल्किरहेको थियो अनि के छ काली बूढी भन्दै। छोरिको नजिक गएँ झोलाबाट चकलेट निकालेर मेरी छोरी बाबाले छोरीलाई चकलेट ल्याइदीएको छ।अनि नाना ल्याइदिएको छ भनेँ तर छोरी मान्दै मानिनन्। को हो हजुर ? म चिन्दिनँ भनिन्।मैले म बाबा हो नि त नानिको भने ।बूढीले पनि बाबा हो नि त छोरी जाऊ बाबाको काखमा भनिन । मेरो बाबा त मोबाइल भित्र हुनुहुन्छ।म सँधै बाबालाई मोबाइलमा भिडियो कल गर्छु भनिन् छोरीको यो किसिमको प्रतिक्रियाले मन कटक्क खायो। छोरी लाई के था ? मोबाइलबाट बाहिर निस्केको अभागी बाउ मै हुँ भन्ने। आँखाभरी आँसु आयो। केही छिन अगाडि मेरो बुबाको आँखामा पनि आँसु थियो। मलाइ देखेर फरक यत्ति थियो। बुबाको आँखामा खुशीको आँसुथियो। मेरो आँखामा दु:खको आँसु थियो। अब यसमा यो निर्दोष बच्चाको के दोष ? बाउ भएर पनि मैले निभाउन पर्ने कर्तव्य निभाउन नसके झै लाग्यो।कमाउनु भन्दा नि परिवारसँंग रमाउनु ठूलो कुरा झैँ लाग्यो। बच्चा हो बच्चाले जे देख्यो, जे भोग्यो त्यही भन्यो। उनिहरुको अगाडि सधै देखेको मान्छे आफ्ना अनि कहिल्यै नदेखेको मान्छे पराइ हुँदारहेछन।सायद म पनि पराइ भएँ। त्यस दिनदेखि आजसम्म धेरै प्रयास गरे छोरिलाइ बाबा चिनाउने अनि म नजिक हुने।
हिजो मात्र छोरिले बाबा भन्ने शब्द उच्चारण गर्दा बल्ल बाउ बनेको आभाष गरेको छु। जिन्दगी जिएको आभाष गरेको छु ।तर के गर्नु यार तिमीहरु जस्तो धेरै पढेर नेपालमै सरकारी जागिर खान सकिएन।अब फेरि भेट २ बर्षमा त होला। भोलि नै काठमाण्डौ जानू छ । पर्सि को फ्लाइट छ रात धेरै भैसकेकाले होटेल साहुले अब अन्तिम गर है माधब भाइ भनिसकेको ले हामी छुट्टिने निधो गर्यौँ। फर्कदै गर्दा बाटोमा एउटा ट्रकमा एक सायरी देखे लेखिएको थियो।
तिमी नजिक हुदा, प्यारो भो जिन्दगी ।
तिमी टाढा हुदा, गाह्रो भो जिन्दगी ।।
२ बर्ष परदेशमा, २ महिना यता म….
तिरेर नसकिने, उधारो भो जिन्दगी ।।
“यो सबै शब्दहरु कसैले मेरो लागि कोरिदिए झै लाग्यो। कसैले सल्लाह सुझाव दिए झैँ लाग्यो। साँच्चै हामी कहिलेसम्म आफ्नै सन्तानसँग अपरिचित भएर बस्ने।अब आफ्नै देशमा दु:ख गर्ने परिवार सँग रमाउने। अपरिचित छोरीसँग परिचित हुने निधो गरेँ। अनि सरासर घर तिर लागेँ।”
- चितवन घर भई हाल कतारमा रहनुभएका माधब भण्डारी (पृथक) साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ ।


खबर सबै
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ
-
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश











प्रतिक्रिया