

म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले आफूले अझै ८–९ वर्षपछि मात्र पद छोड्ने बताएका हुन् ।
उनको यो भनाइ सुनेर कार्यक्रममा उपस्थित मानिसहरू हाँस्न थालेका थिए । त्यसपछि ट्रम्पले भने, “म ठट्टा गरिरहेको छैन । मलाई काम गर्न मन पर्छ । अहिले त मेरो कार्यकालको सुरुआत मात्र हो र अझै धेरै काम गर्न बाँकी छ ।”
आउँदो महिना ८० वर्ष पुग्न लागेका ट्रम्पले आफ्नो उमेरबारे पनि मजाक गरेका थिए । उनले भने, “म वृद्ध भएको छैन । म धेरै जवान महसुस गर्छु । आज पनि मलाई ५० वर्षअघिजस्तै ऊर्जा भएको अनुभव हुन्छ ।”
यसअघि पनि ट्रम्पले पटक–पटक तेस्रो कार्यकालका लागि संकेत दिँदै आएका छन् ।
रिपब्लिकन सांसद एन्डी ओगल्सले २३ जनवरी २०२५ मा अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा एउटा विधेयक दर्ता गरेका थिए । उक्त प्रस्तावको उद्देश्य अमेरिकी संविधान संशोधन गरी ट्रम्पलाई तेस्रोपटक राष्ट्रपति बन्ने बाटो खोल्नु थियो ।
प्रस्तावमा लगातार दुई कार्यकाल पूरा नगरेको व्यक्तिले तेस्रोपटक चुनाव लड्न पाउने व्यवस्था राखिएको थियो । ट्रम्पले सन् २०२० को चुनाव हारेकाले यस्तो संशोधन भएमा उनी पुनः उमेदवार बन्न योग्य हुन सक्थे ।
तर, उक्त विधेयक अघि बढ्न सकेन र मतदानसम्म पनि पुग्न पाएन । अमेरिकामा संविधान संशोधन गर्न निकै कठिन मानिन्छ । यसका लागि हाउस र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ । हाल रिपब्लिकन पार्टीसँग त्यति बहुमत छैन ।
यसका साथै ५० मध्ये कम्तीमा ३८ राज्यको समर्थन पनि आवश्यक हुन्छ । अहिले धेरै राज्यमा डेमोक्र्याट पार्टीको सरकार भएकाले यस्तो प्रस्ताव पारित हुने सम्भावना निकै कम मानिन्छ ।
अमेरिकामा सुरुमा कुनै व्यक्ति कतिपटक राष्ट्रपति बन्न पाउने भन्ने स्पष्ट संवैधानिक व्यवस्था थिएन । सन् १९५१ मा संविधानको २२औँ संशोधनमार्फत कुनै पनि व्यक्ति दुईपटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने नियम लागु गरिएको थियो ।
अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टनले दुई कार्यकालपछि पद त्याग गरेका थिए । त्यसपछि यो एउटा राजनीतिक परम्पराका रूपमा स्थापित भयो । ३१ जना राष्ट्रपतिले यो परम्परा पालन गरे ।
तर, फ्यांकलिन डी. रूजवेल्टले यो परम्परा तोडेका थिए । उनी सन् १९३३ देखि १९४५ सम्म लगातार चारपटक राष्ट्रपति निर्वाचित भएका थिए । त्यसपछि नै दुई कार्यकालको सीमा संवैधानिक रूपमा लागु गरिएको थियो ।
ट्रम्पले तेस्रो कार्यकालका लागि चुनाव लड्न अमेरिकी संविधान संशोधन गर्नुपर्ने हुन्छ, जुन निकै चुनौतीपूर्ण प्रक्रिया हो ।
हाल रिपब्लिकन पार्टीसँग सिनेटमा १०० मध्ये ५२ र हाउस अफ रिप्रिजेन्टेटिभ्समा ४३५ मध्ये २२० सदस्य मात्र छन् । संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमतभन्दा यो निकै कम हो ।
कंग्रेसबाट प्रस्ताव पारित भए पनि ५० मध्ये ३८ राज्यको अनुमोदन आवश्यक पर्छ ।
विश्लेषकहरूका अनुसार यदि ट्रम्पले कानुनी रूपमा तेस्रो कार्यकालको बाटो खोल्न सकेनन् भने सत्ता नछोड्ने अन्य विकल्प खोज्न सक्छन् ।
ह्यामिल्टन कलेजका प्रोफेसर फिलिप क्लिंकनरका अनुसार, ट्रम्प सन् २०२८ मा उपराष्ट्रपति बन्न सक्ने र जेडी भान्स वा अन्य कसैलाई औपचारिक राष्ट्रपति बनाएर प्रभाव कायम राख्न सक्ने सम्भावना पनि चर्चा भइरहेको छ । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अतीतमा यस्तै रणनीति अपनाएको उदाहरण दिएका छन् ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया