बगरबाट विकास भएको कपिलधाम…

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तु जिल्लाको उत्तरी भेगको नदि किनारको बगर भुमि यतिबेला पर्यटकीय धार्मिक स्थलको रुपमा विकसित छ । करिब एक दशकअघि खोलाको बगर रहेको कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ७ र ९ को करिब १ सय बिगाह क्षेत्रफलमा फैलिएको जग्गा अहिले देशकै नमुना पर्यटकीय क्षेत्र बनिरहेको छ भने धेरैको ध्यान पनि तानिरहेको छ ।

कपिल महर्षिको नाममा यहाँको बगर तथा नदी उकासको जग्गा संरक्षण गरेर नमुना पर्यटकीय क्षेत्रको रुपमा खोलाको बगर अलिहे कपिल आरोग्य मन्दिर कलिधामको रुपमा विकास भएको हो । जहाँ धार्मिक वनसँगै आरोग्य केन्द्र, गुरुकुल कक्षा, ध्यान केन्द्र, आर्युवेद, योग र प्राकृतिक चिकित्सा लगाएतको एकिकृत केन्द्र बनेको छ । एकाबिहानै धामको कार्यालयमा समितिका अध्यक्ष शंकरप्रसाद आचार्य पुग्छन् । उनी बिहान ९ बजे सम्म धाम भित्रै विभिन्न काममा आफ्नो दैनिकी बिताउँछन् । बिहानै धाम भित्र योग कक्षा संचालन हुन्छ भने दिनभर धामभित्रै संचालित गुरुकुल कक्षामा विद्यार्थीहरु अध्ययन गर्दछन् । अहिले पछिल्लो एक दशक यता कपिलधामको चर्चा सँगै स्वरुप समेत बदलिएको छ । यहाँ झण्डै एक अर्वको लगानी भइसकेको बताउँछन्, धामका अध्यक्ष आचार्य ।

कोइली नदी र चौवा खोलाको बीचमा रहेको यो जग्गा एक दशकअघि सम्म खोलाले कटान गर्ने र प्रयोगविहीन अवस्थामा थियो । अहिले अध्ययन गर्ने, योग गर्ने, बालबच्चालाई संस्कृत शिक्षा प्रदान गर्ने, साहित्यिक प्यास मेटाउने, र गौसंरक्षणको केन्द्र बनेको छ ।

२०६६ सालमा स्थानीयहरु शंकरप्रसाद आचार्य, आत्मराम आचार्य, कुलराज पौडेल, पोमनारायण पौडेल, कृष्णमुरारी ज्ञवाली, भवानीशंकर पौडेल, हरिराज घिमिरेसहितको टोली भारतमा स्वामी रामदेवसँग योग सिक्न गएपछि यो ठाउँलाई संरक्षण गरेर अगाडि बढाउने योजना बनेको थियो ।

‘सुरुमा हामीले यो विषय रामदेव गुरुकहाँ योग सिक्न गएका वेला सोचेका हौं, यहाँ आएपछि स्थानीयलाई बुझाउन धेरै समय लाग्यो, कानुनी प्रक्रिया मिलाउन पनि लामो समय लाग्यो, अहिले नेपालकै नमुना धार्मिक, सांस्कृतिक, साहित्यिक केन्द्र बनेको छ । धामका अध्यक्ष आचर्याले भने, ‘पहिले त अतिक्रमित क्षेत्र जोगाउनु थियो । यसलाई कपिलधामकै रुपमा अगाडि बढाउन अहिले सफल भयौं ।’

उनका अनुसार जिल्ला वनले धार्मिक वन भनेर ७२ विगाह भोगचलनलाई स्वीकृति दिएको छ । बाँकी वरिपरिको नदी उकास क्षेत्र संरक्षण गरिएको छ । महर्षि कपिल ऋषिले तपस्या गरेको विषयमा संस्कृतिविद् मोदनाथ पश्रित, डा.विष्णुराज आत्रेयलगायत धेरै जानकारसँग सुझाव लिएर नै अगाडि बढेको उनले बताए ।

अहिले यहाँ कक्षा ६ र ७ सम्मको गुरुकुल शिक्षा अध्ययन केन्द्र बनेको छ भने महर्षि ऋषिको आधारशीला र १०८ जना विशिष्ट व्यक्तिको सालिक बनाउने उद्धेश्यसहितको साहित्य तीर्थ केन्द्र बनेको छ । विभिन्न मन्दिर, प्रज्ञापुस्तक, बाल उद्यान, बौद्ध गुम्बा, योगशाला, नेपाल वाङ्मय प्रतिष्ठान लुम्बिनीको केन्द्रीय कार्यालय स्थापना भएका छन् । लुम्बिनी प्रज्ञा प्रतिष्ठानलाई समेत यही ल्याउने तयारी छ ।

कपिलधाको विकासका लागि पछिल्ला वर्ष स्थानीय तह सँगै प्रदेश सरकार र संघीय सरकारबाट समेत बजेट र कार्यक्रमहरु प्राप्त हुँदा यहाँ विभिन्न मठमन्दिरहरुसँगै भौतिक पूर्वाधारहरु बनेका छन् । धामको रक्षा र नियमति सरसफाईका लागि कामदारहरु खटिएका छन् भने गुरुकुलमा पनि हाल दुई दर्जनबढी बटुकहरुले अध्ययन गरिरहेका छन् ।

सालिकहरुको संग्रह साहित्य चौतारी

कपिलधाम परिसरमा निर्माण गरिएको साहितय चौतारी विभिन्न विशिष्ठ व्यक्तिहरुको सालिकहरुको संग्रहको रुपमा विकासित हुँदै गएको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका साहितयकारहरुको एकै थलोमा सालिक स्थापना गरिएको नेपालकै पहिलो स्थानको रुपमा साहित्य चौतारी कलिधाम विकसित हुँदै छ । झट्ट हेर्दा सालिहरुको साम्राज्य लाग्ने यो साहित्य तिर्थमा १०८ सालिक स्थापना गर्ने लक्ष्य छ । १०८ जना व्यक्तिको सालिक राख्ने योजनाअनुसार अहिलेसम्म २२ जनाको स्थापना भएको साहित्य तीर्थ व्यवस्थापन समितिका अध्यक्ष ऋषि आजाद बताउँछन् ।

२०६९ सालमा साहित्य चौतारी कपिलधाममा पहिलो सालिकको रुपमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना र अनावरण गरिएको थियो । त्यस यता अहिले सम्म २२ जना साहित्यकार तथा विशिष्ठ व्यक्तिहरुको सालिक स्थापना भइसकेको छ ।

यहाँ कविशिरोमणि लेखनाथ पौडेलको सालिक बनाइएको छ भने विभिन्न स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङ्मय र कला साधनाद्वारा राष्ट्रको गौरव बढाउने व्यक्तित्वका प्रतिमा राखिएका छन । दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा पं. दधिराम मरासिनी, भीमनिधि तिवारी साहित्य प्रतिष्ठानद्वारा भीमनिधि तिवारीको र धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा जनकविकेशरी धर्मराज थापाको प्रतिमा राखिएको छ ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा लीलाध्वज थापा, जयतु संस्कृतम् समितिद्वारा पूर्णप्रसाद ब्राह्मण र खिल शर्मा, राजीवलोचन जोशीद्वारा राजीवलोचन जोशीको प्रतिमा राखिएको छ । रुद्रराज साहित्य सेवा समितिद्वारा सरदार रुद्रराज पाण्डे, विष्णुराज आत्रेयद्वारा रश्मिराज आत्रेय र मास्टर मित्रसेन स्मृति प्रतिष्ठानद्वारा मास्टर मित्रसेन थापाको प्रतिमा राखिएको छ ।

त्यस्तै थारू अगुवा कृष्णबहादुर चौधरीद्वारा नेपालका त्रिभुवन, मदन र साझा पुरस्कार पाउने एकमात्र साहित्यकार भवानी भिक्षुको र रूपादेवी तथा अनन्त पन्थीद्वारा टीकाराम पन्थीको प्रतिमा राखिएको छ । एकमात्र महिला कवयित्री लोकप्रिया देवीको प्रतिमा शशि रिमाल र शंकर रिमालले स्थापना गरेका हुन् । वासु स्मृति प्रतिष्ठानद्वारा कवि वासु शशिको र समालोचक कुमारबहादुर जोशीको प्रतिमा साहित्य चौतारीमा राखिएको छ । यसैगरी साहित्यकार कृष्णप्रसाद कोइराला, रश्मिराज आत्रेय र भीमनिधि तिवारी, हर्षबहादुर बूढाको प्रतिमा राखिएको छ ।

केही समयअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका बुवा मंगलप्रसाद नेपालको प्रतिमा पनि यहाँ राखिएको छ । यहाँ स्थापना गरिएका प्रतिमा २ देखि ४ फुट अग्ला छन । कलिधाम परिसरमै स्थापना गरिएको लुम्बिनी वाङ्मय प्रतिष्ठानले साहित्य चौतारीमा सालिक स्थापना गर्न संयोजन गर्ने गरेको छ ।

साहित्य चौतारीमा बनगाई–भालवाड सडकखण्डको पुर्वपट्टीबाट क्रमशः राखिएको छ । साहित्य चौतारीको दक्षिणतर्फ बौद्ध गुम्बाको कार्यालय र ठिक अगाडी पट्टी भगवान गौतमबुद्धको ठूलो मूर्ति राखिएको छ ।

राष्ट्रको गौरव बढाउने प्रतिभावान मूर्धन्य साधकको योगदानको उच्च मूल्यांकन गर्न यहाँ प्रतिमा राखिएको संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले बताए । साहित्य पर्यटनको गन्तव्य बनाउन, साहित्यानुरागीको प्यास मेटाउन, साहित्य तीर्थका रूपमा विकास गर्न, एकै ठाउँमा मुलुकभरका अमूल्य निधिको अध्ययन अवलोकन गर्ने केन्द्रको रूपमा विकास गर्न, र नेपाली साहित्य रचनामा प्रेरणा लिन चाहनेका लागि यो स्थल एक अध्ययनको केन्द्र समेत बनेको छ । कपिलधामस्थित कपिल आरोग्य मन्दिरको समिति पनि साहित्य तिर्थको सल्लाहकार तथा संरक्षक रहेको छ । अहिले यो लुम्बिनी प्रदेशको आकर्षक पर्यटकीय क्षेत्र भएको छ । यसका अध्यक्ष ऋषि आजाद हुन ।

कपिलधाम कपिलमुनिको तपस्थली र यहीबाट नै साख्य दर्शनको प्रवर्तन गरेर साख्य दर्शन विश्वभर फैलिएकाले यो क्षेत्रको संरक्षणमा लागिएको हो । कपिल प्राचीन युगका एक महत्वपूर्ण मुनि थिए । उनलाई प्राचीन ऋषि मानिन्छ ।

अध्ययन केन्द्रको रुप लिँदै कपिलधाम

कलिधाम व्यवस्थापन समितिले यो धामलाई एक अध्ययनको केन्द्रको रुपमा विकास गर्ने योजनाका साथ काम गरेको बताउँछ । अहिले कलिधामसँग विभिन्न सामाजिक संघसंस्था तथा सामाजिक अगुवा र राज्यका निकाय सम्मले सहकार्य गरिरहेका छन् ।

धाम भित्रको प्रवेशद्धारबाटै रंगिन इटाले जमिन छोपिएर चिटिक्क पारिएको छ भने दाँया बाँया विभिन्न फूलका बिरुवाले मनमोहक बनाएको छ । धामको मुख्य कार्यालय र मठसम्म नपुग्दै विभिन्न मन्दिरहरुले यहाँको वातावरण अझ सोभायमान बनाएको छ । धामको पछिल्लो भागमा गोलाकार संरचनामा बनाइएको ठूलो ध्यानकेन्द्र, सप्तऋषिहरुका मूर्ति, आर्यूवेदको अध्ययन गर्न चाहनेहरुका लागि विभिन्न किसिमका वनस्पति, संस्कृत शिक्षाको खोजका लागि गुरुकुलम, गौ संरक्षण र शारीरिक र मानसिक स्वास्थ्यका लागि योग र ध्यान, मनोरम र शान्त वातावरणमा समय व्यतित गर्नेहरुका लागि मनोरञ्जनपूर्ण पार्क जस्ता कुरा यहाँ आउने जो कोही नयाँ पर्यटककालागि एक अध्ययनको विषय बन्न सक्छ ।

धामलाई धार्मिक तथा साहित्यिक क्षेत्रमा रुचि राख्नेहरुमात्रै नभई बालोद्यान र योग सिक्ने क्षेत्रको व्यवस्थापन तथा अन्य आराम गर्ने सेडहरुको व्यवस्थापनले गर्दा धाम पर्यटकीयस्थल बनेको छ । सुरुवाती चरणमा जनस्तरबाट मात्रै धामको रुप लिएको कलिधामको विकासका लागि पछिल्लो समय स्थानीय र प्रदेश सरकारले समेत चासो र सहयोग गर्न थालेका छन् ।

गुरुकुल शिक्षा कक्षा ६ र ७ सम्म सम्म स्वीकृत भए पनि यसको खर्च यहीको आन्तरिक स्रोतबाट गरिएको धाम व्यवस्थापन समितिले जनाएको छ । धामको व्यवस्थापन गर्न समितिले सरकारलाई आग्रह गरेको छ । वरिपरिको नदी किनारमा थप तटबन्ध, थप पर्यटकीय आकर्षकका योजना निर्माण तथा प्रदेश प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थापन गरी यसलाई स्थायी बनाउने अबको योजना रहेको अध्यक्ष आचार्य बताउँछन् ।

प्राकृतिक चिकित्सा केन्द्र संचालनको तयारी

कपिलधाममा पछिल्लो पटक प्राकृतिक चिकित्सा केन्द्र संचालनको तयारी समेत थालिएको छ । योग, ध्यान र आर्युवेदको संयोजनबाट प्राकृतिक चिकित्सा केन्द्र संचालनका लागि अहिले बाणगंगा नगरपालिकाले समेत अनुमति दिएको छ । प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष आत्मराम आचार्यका अनुसार नगरालिकाले अनुमति दिएसँगै प्राकृतिक चिकित्सा केन्द्र संचालन थालिएको छ ।

प्राकृतिक चिकित्सा अस्पतालकै योजना बनाएको भए पनि तत्काल जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधारको अप्रयाप्ताका कारण केन्द्रको रुपमा सुरु गर्ने आचार्यले बताए । यस अघि बाणगंगा ८ को बालापुरमा संचालित आर्युवेद अस्पतालको बृहत्तर अवधारणा अनुसार कलिधामलाई प्राकृतिक चिकित्सासँग जोड्ने काम भएको समितिका सचिव भोजराज थारुले बताए। प्रदेश सरकार र केन्द्रिय सरकारका निर्देशिका अनुसार त्यसलाई अध्ययन गरेर कपिलधाममा प्राकृतिक चिकित्सा संचालनको कार्याविधि नगरपालिकाबाट पारित गरिएको बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी आर्यालले जानकारी दिएका छन् ।

हाल यो केन्द्र संचालनका लागि धाप परिसर भित्रै चार कोठाको पूर्वाधार तयार छ भने यहाँ अवास्यक बिरामी राख्ने शैया पनि राखिएको छ । हाल लुम्बिनी प्रदेश सराकार स्वास्थ्य मन्त्रालयबाट बिनियोजित रु. १० लाखको बजेटमा अर्काे एउटा भवन तयार गरिदै छ । प्राकृतिक चिकित्सालाई थप प्रभावकारी बनाउन यहाँको समितिले तालिम लिएको छ भने आवश्यक बाँकी केही काम गरेपछि उपचार कार्य प्रारम्भ गर्ने तयारी छ ।

धाम भित्रका विभिन्न पोखरी, मठहरु, वनस्पति र साहित्य तिर्थको अध्ययनका लागि कपिलधाम एउटा खुला संग्राहलय बन्दै गएको जानकारहरु बताउँछन् । धाम प्रवेश गर्नलाई कुनै शुल्क लिइदैन । निशुल्क प्रवेश रहेको कपिलधाम एक खुला संग्राहलय हो ।

यहाँको विकास र विस्तारले अझै धेरै प्रतिक्षा गरिरहेको छ । धाम प्रवेशद्धार देखि मुख्य राजमार्ग सम्मको सडक कालोपत्रे, नदि किनारमा व्यवस्थित तटबन्ध, धामले चर्चेको जग्गाको व्यवस्थित कम्पाउण्डिङ, उत्पादित आर्युवेदको ब्राण्डिङ र बजारीकरण, आन्तरिक आम्दानीका स्रोतको विस्तार र दैनिक खर्च धान्ने स्रोतको पहिचान जस्ता काम गर्न अझै बाँकी छ । पूर्व पश्चिम राजमार्ग देखि धामसम्म पुग्ने सहज सडक सञ्जालले जोड्न सके यहाँ अन्तरिक तथा बाह्य पर्यटकको संख्या अझ बृद्धी हुन सक्छ ।

प्रतिक्रिया